इजराइलले देखाएकाे ठूलो छाती

गत भदौमा हमास नाम गरेको आतंककारी समूहले इजराइलमा अन्धाधुन्ध बम प्रहार गर्दै विध्वंश मच्चायो । आक्रमणमा परी सयौं निर्दोष नागरिक मारिए । आक्रमणमा १० जना नेपाली युवा पनि मारिए । एक जना अझै बेपत्ता छन् । उनीहरू कृषि विषयको व्यावहारिक अध्ययन तथा रोजगारीका लागि सरकारी स्तरको संझौताअनुसार तीन महिनाअघि मात्रै इजराइल पुगेका थिए । नेपालले बेहोर्नुपरेको अत्यन्त दुःखद् घटना थियो यो । नेपालमाथि पर्न गएको यो पीडालाई मित्रराष्ट्र इजराइलले आफ्नै पीडासरह ठानेर राहत उपलव्ध गराएको छ । ज्यान गुमाएका नेपालीहरूप्रति इजराइलले आफ्नै नागरिकसरह सम्मान गरेको मात्रै छैन । नेपालमा रहेका इजराइलका राजदूत हनान गोडर यतिबेला मृतकका परिवारलाई भेटेर समवेदना प्रकट गर्ने अभियानमा छन् । मृतकका परिवारको बैंक खातामा २२ लाख रुपैंयाको दरले नगद जम्मा गरिदिएका छन् । मृतक युवाका बाबुआमालाई जीवन निर्वाह गर्न पुग्ने गरी मासिक रूपमा भत्ता उपलव्ध गराउन थालिएको जानकारी उनले परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई गराएका छन् । गत मंगलबार भेटेरै उनले यो जानकारी गराएका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठसँगको भेटमा उनले भनेका छन्, ‘इजरायलमा रहेका नेपालीहरू हाम्रा अतिथि होइनन्, हाम्रो परिवारका सदस्य हुन् । हाम्रो कानुनले आतंककारी हमलामा परेका इजरायली र नेपाली पीडितलाई समान व्यवहार गर्दछ ।’

एकातिर रसियन सेनामा भर्ती भएका नेपालीहरूको कुकुर मराइजस्तै भएको छ भने अर्कातिर आतंककारी हमलामा मारिएका नेपाली विद्यार्थीको परिवारलाई इजराइल सरकारले जीवनभरीका लागि मासिक भत्ता उपलव्ध गराउन सुरु गरिसकेको छ । नेपाली बैंकको खातामा स्टेट इन्सुरेन्स अफ इजरायलबाट सिधै पैसा आएको पीडितका परिवारले बताएका छन् । हमास आक्रमणमा मारिएका नारायणप्रसाद न्यौपानेका पिता हरिप्रसाद न्यौपानेले यो कुरा पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘इजरायल सरकारले आर्थिक सहयोग दिन थालेको छ । मासिक रूपमा दिने भनेको छ । तर, कति दिने थाहा छैन । गत महिना बैंक खातामा २२ लाख रुपैयाँ पठाइएको थियो । त्यो क्षतिपूर्ति हो कि मासिक रकम थाहा भएन । अर्को महिना पैसा आएपछि मासिक कति दिने रहेछ थाहा होला । रकम पाएपछि केही राहत महसुस त भएको छ । तर, त्यसले छोराको पूर्ति त कसरी होला ?’ न्यौपानेले भनेझैँ छोराको पूर्ति त अब हुन सक्दैन, तर बाबुआमाका लागि जीवन निर्वाह गर्न पुग्ने रकम बाँचुन्जेल उपलव्ध गराइनु भनेको इजराइलको धेरै ठूलो छाती हो । किनकी पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा बेलायती सेनामा भर्ती भएर उसको साम्राज्य रक्षा तथा बिस्तारका लागि ज्यान गुमाएका युवाका परिवारको कन्तविजोग भएको तीतो अनुभव नेपालसँग छ ।

मरुभूमिको बीचमा अवस्थित सानो भूगोल र थोरै जनसंख्या भएको देश इजराइलको इतिहास खासै लामो छैन । तर, इजराइलले गरेको चामत्कारिक प्रगति ज्यादै लोभलाग्दो छ । मरुभूमिमा कृषि क्रान्ति गरेर कृषि उपज निर्यात गर्ने देश हो इजराइल । इजराइलीहरू आफ्ना दुस्मनप्रति जति निर्मम रूपमा प्रस्तुत हुन्छन् आफ्ना मित्रप्रति त्यति नै सहृदयी रूपमा प्रस्तुत हुन्छन् । जसको उदाहरण हमासमाथि गरिएको सांघातिक कारबाही तथा नेपालीमाथि गरिएको मानवीय व्यवहारलाई लिन सकिन्छ । किनकी नेपाल भनेको इजराइलको सार्वभौमिकतालाई समर्थन गर्ने दक्षिण एसियाको पहिलो देश हो । इजराइलसँग दौत्य सम्बन्ध स्थापना गरी राजदूतावास खोल्न अनुमति दिने दक्षिण एसियाको पहिलो देश पनि नेपाल नै हो । छिमेकी भारतको धेरै ठूलो अपत्तिका बाबजुद तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले यो कदम चालेका थिए । यो कदमले व्यक्तिगत रूपमा बिपी कोइरालाले धेरै ठूलो कष्ट पाए, तर देशले भने लाभ पाएको छ । इजरायलद्वारा नेपाललाई निरन्तर सहयोग प्राप्त हुँदै आएको छ ।

प्रतिक्रिया