इलाम–२ उपनिर्वाचन : दलहरूलाई उम्मेद्वार छान्न सकस

इलाम । आउँदो १५ वैशाखमा प्रतिनिधिसभाको उपनिर्वाचन नजिकिएसँगै इलाम–२ मा चुनावी सरगर्मी बढेको छ । आकांक्षीहरूले उम्मेद्वार बन्नका लागि पार्टीभित्र सक्रियता बढाएका छन् । उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

२०५६ सालदेखिका सबै निर्वाचन जित्दै आएको नेकपा एमाले र अघिल्लो निर्वाचनमा १ सय १४ मतले मात्र पराजित कांग्रेसले उपनिर्वाचनलाई विशेष प्रतिष्ठाको विषय बनाएका छन् । सोही अनुरूप एमाले र कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी केन्द्रलगायत दलका आकांक्षीहरू टिकट ल्याउने दौडधुपमा लागेका छन् । स्वतन्त्र उम्मेद्वारहरूले भने उम्मेद्वार घोषणा नै गरिसकेका छन् ।
एमालेका ६ जनाले उम्मेद्वार सिफारिसका लागि कार्यदलमा निवेदन दिएका छन् । स्व.सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङसहित उपसचिव रविन्द्र सुवेदी, जिल्ला सदस्य डा.देवी क्षेत्री दुलाल, इलाम–२ क्षेत्रीय संयोजक बुद्धि खनाल, गत स्थानीय तह निर्वाचनमा इलाम नगरप्रमुखको टिकट पाएर पनि खोसिएका नरेन्द्रनाथ भट्टराई र प्रदेश सदस्य रिपल राईले उम्मेद्वार सिफारिसका लागि कार्यदलमा निवेदन दिएको कार्यदल सचिव उमेश गुरुङले जानकारी दिए ।

कार्यदलले सर्वसम्मतको प्रयास गर्ने र सम्भव नभए जिल्ला कमिटीले सबैको नाम केन्द्रीय कमिटीमा पठाइने सचिव गुरुङले बताए । ‘हामी ३ चैतमा सर्वसम्मतका लागि प्रयास गर्छौं, सम्भव भएन भने जिल्ला कमिटीमा पठाउँछौँ, जिल्ला कमिटीले ५ चैतसम्म सबैको नाम केन्द्रीय कमिटीमा पठाउनेछ’, गुरुङले भने, ‘केन्द्रले जसलाई टिकट दिए पनि पार्टीको उम्मेद्वार हुन्छ ।’

एमालेले उम्मेद्वारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङदेम्बे र दिपकिशोर लिङदम रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले उम्मेद्वार हुन इच्छुकले आफ्नो व्यक्तिगत विवरसहित कार्यदलमा इच्छा जाहेर गर्न माग गरेपछि ६ जनाको आवेदन परेको सचिव गुरुङले बताए ।

एमाले केन्द्रीय कमिटीले जिल्लामा पठाएको अन्तर पार्टी निर्देशन (अपानी) मा उम्मेद्वारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने उल्लेख छ । उता गएको निर्वाचनमा १ सय १४ को झिनो मतान्तरले मात्र पराजित कांग्रेसबाट पनि उम्मेद्वार आकांक्षीको लर्को छ । जिल्ला सभापति डम्बरबहादुर खड्का, महाधिवेशन प्रतिनिधि भेषराज आचार्ष, पूर्वराज्यमन्त्री केशव थापा र पूर्वसंविधानसभा सदस्य नगेन्द्र कुमालले दावी गर्दै आएका छन् । खड्का २०७९ को प्रतिनिधिसभा सदस्यमा सोही क्षेत्रबाट एमालेका नेम्बाङसँग १ सय १४ मतले पराजित भएका थिए । नेम्बाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजा ९ सय ६ मत पाएका थिए ।

माओवादी केन्द्र पनि यसपटक एक्लै चुनाव लड्ने रणनीतिमा छ । गएको निर्वाचनमा गठबन्धन गरेर कांग्रेसलाई सघाएको माओवादीले यसपटक कसैसँग गठबन्धन नगर्ने निर्णय प्रदेश समितिले गरिसकेको जनाएको छ । तर, पछिल्लो नयाँ सत्तासमीकरणले के गर्छ भन्ने टुंगो लागेको छैन । माओवादीबाट केन्द्रीय सदस्य तथा पूर्वप्रदेशसभा सदस्य धीरेन्द्र शर्मा (रमन), पार्टी प्रदेश सदस्य हर्कबहादुर लावती र जिल्ला संयोजक विजय खम्बूको नाम चर्चामा छ । यद्यपि, माओवादीले आधिकारिक रूपमा उम्मेद्वार घोषणा र सिफारिस भने गरेको छैन ।

जनता समाजवादी पार्टी नेपालले तीन जनाको नाम सिफारिस गरेको छ । जसपाका सल्लाहकार डा.महेन्द्र लावती, केन्द्रीय सदस्य लोक सागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बूलाई उम्मेद्वारका लागि सिफारिस गरिएको सो पार्टीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ६ जनाको नाम सर्टलिस्टमा राखेको चर्चामा आए पनि सार्वजनिक भएको छैन । सो पार्टीले स्थानीय उम्मेद्वारलाई नै प्राथमिकता दिने जनाएको छ । रास्वपाबाट धर्म गौतम, महेन्द्र थापा, विष्णु काफ्लेको नाम चर्चामा छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम चर्चामा छ । उनी गत निर्वाचनमा इलाम–१ बाट एमालेका महेश बस्नेतसँग २ हजार ६ सय ४५ मतान्तरले पराजित भएका थिए । साथै प्रदेश–१ पुनःनामकरण संयुक्त संघर्ष समितिले डकेन्द्रसिंह थेगिमलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

त्यस्तै स्वतन्त्र उम्मेद्वारको रूपमा पत्रकार मिलन लिम्बूले घोषणा गरिसकेका छन् । सोही क्षेत्र माङसेबुङ गाउँपालिका–२ का स्थायी बसोबास रहेका उनी काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव लिम्बू दृष्टिन्युजका सम्पादक छन् ।

यस्तो थियो, २०७९ को निर्वाचनमा समानुपातिक मतपरिणाम

२०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा इलाम–२ को मतदाता १ लाख १५ हजार ३ सय ४२ रहेकोमा ६९ हजार ४ सय ८१ मत खसेको थियो । खसेको मतमध्ये ६६ हजार ८ सय ८५ मत सदर र २ हजार ५ सय ९६ मत बदर भएको थियो । सदर मतमध्ये सबैभन्दा धेरै नेकपा (एमाले) ले २६ हजार ५ सय ६२ मत पाएको थियो । त्यसपछि नेपाली कांग्रेसले २२ हजार ३ सय ३३, माओवादी केन्द्रले ५ हजार १ सय ५३, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ६ सय ६८, मंगोल नेसनल अर्गनाइजेसनले १ हजार ६ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार ४ सय १३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ३ सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार १ सय ९१ र जनता समाजवादी पार्टीले ९ सय ६ मत प्राप्त गरेको थियो ।

अघिल्लो निर्वाचनमा पार्टीले पाएको मतपरिणामलाई विश्लेषण गर्ने हो भने एमालेका लागि उपनिर्वाचन जित्न सहज देखिछ । तर, पछिल्लो समय उदाएका नयाँ पार्टी, पहिचानको आन्दोलन तथा पहिचानवादीको साझा उम्मेद्वार र अन्य स्वतन्त्र उम्मेद्वारका कारण एमालेलाई पनि यो निर्वाचन जित्न फलामको चिउरा चपाउन झैँ लाग्न सक्छ ।

उपनिर्वाचनको तयारीमा निर्वाचन कार्यालय

यता जिल्ला निर्वाचन कार्यालय इलाम पनि उपनिर्वाचनको तयारीमा जुटेको छ । मतदाता नामावली रुजु गर्ने, निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन गर्ने, मतदानस्थल र मतदान केन्द्रको अवस्था बुझ्नेजस्ता कामहरू यसअघि नै सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयालले जानकारी दिए ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार उपनिर्वाचनका लागि २४ देखि ३० फागुनसम्मका लागि राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिसकेको छ । त्यस्तै चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन मुख्य निर्वाचन अधिकृत नियुक्त गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

कार्यतालिका अनुसार उम्मेदुवारी मनोनयन दर्ता चैत २४ गतेलाई तोकिएको छ । सोही दिन उम्मेद्वारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन गर्ने कार्यतालिका छ । चैत २५ गते उम्मेद्वारको विरोधमा उजुरी तथा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी जाँच गर्ने र २६ गते उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै, चैत २७ गते उम्मेद्वारको नाम फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको फुयालले बताए ।

२८ चैतदेखि १२ वैशाखसम्म प्रचारप्रसारको अवधि राखिएको छ भने वैशाख १५ गते बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ । उपनिर्वाचनका लागि ७९ मतदानस्थलमा १ सय ४९ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी फुयालले बताए । उपनिर्वाचनका लागि इलामको मतदाता २ लाख २७ हजार १५ पुगेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर कृष्णबहादुर लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार महिला १ लाख ९ हजार ९ सय ३४, पुरुष १ लाख १७ हजार ७९ र अन्य दुई जना रहेका छन् ।

प्रतिक्रिया