सुर्ती सेवनबाट संसारभर बर्सेनि ८० लाख मानिसको मृत्यु

बारा । सुर्तीजन्य पदार्थको सेवनबाट एक वर्षमा करिब ८० लाख मानिसको ज्यान जाने गरेको एक कार्यक्रममा तथ्यांक प्रस्तुत गरिएको छ ।
बुधबार बारा कलैयामा आयोजना गरिएको सुर्तीजन्य तथा लागुऔषध पदार्थ सेवन न्यूनीकरणसम्बन्धी अभिमुखीकरण तथा पैरवी कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको होे ।

जिल्ला स्वास्थ्य कार्यालय बाराको आयोजनामा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका स्वास्थ शाखाका प्रमुख रबिकुमार भाष्करले उक्त जानकारी गराएका हुन् । उनले नेपालमा मात्र पुरै जनसंख्याको २८ प्रतिशत पुरुष र पाँच प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको सेवन गरिरहेको एक अध्ययनले देखाएको जानकारी गराएका थिए ।

सुर्तीजन्य पदार्थबाट नेपालमा मात्र एक वर्षमा २७ हजार मानिसको ज्यान जाने गरेको उनले जानकारी गराए । उनका अनुसार यसले पूरा जनसंख्याको १५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । यति मात्र होइन, सुर्तीजन्य पदार्थको सेवनले शरीरको युनिटी पावर घट्ने र यसले अरू रोगको संक्रमण बढाउने भएकोले यसबाट सचेत हुनेसमेत जानकारी गराएका थिए ।

नेपालमा बर्सेनि लगभग २८ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको उनले जानकारी गराए । सुर्तीजन्य पदार्थको सेवनले २२ दशमलव ५ प्रतिशत सुर्तीजन्य पदार्थको सेवन नगर्ने मानिस प्रभावित भइरहेको समेत जानकारी गराएका थिए । चुरोटको धुवाँमा ७ हजार ३ सय ५७ भन्दा बढी केमिकल हुने हुँदा यसलाई नियन्त्रणमा सम्बन्धित निकाएको ध्यान जान आवश्यक रहेको उनले बताए ।

जिल्ला समन्वय समिति बाराको सभापति नरेन्द्र साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नेपाली सेनाका सेनानी बसन्ता सापकोटा, राष्ट्रिय अनुसन्धानका रामबाबु चौधरी, होटेल व्यवसायी बाराका आशिष् रेग्मी, कलैया उपमहानगरपालिकाका स्वास्थ शाखाका प्रमुख अजय कुशवहा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया