साथी सहकारीका उद्योग तथा बिक्री केन्द्रको उद्घाटन

अर्घाखाँची । साथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सहकारी उद्योग, बिक्री केन्द्र साथै सन्धिखर्क सेवा केन्द्रको एक विशेष कार्यक्रमका बीच सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गरेका छन् ।

नगरप्रमुख श्रेष्ठले देशभर सहकारीहरूको समस्या हुँदै गर्दा पनि अर्घाखाँचीमा सहकारीमा गरेको बचत र लगानी सुनिश्चितता भएको भन्दै सहकारीका, मूल्य मान्यता, सिद्धान्त मर्म र बुझेकाहरूले मात्र सहकारी संस्थाहरूको नेतृत्व गर्नुपर्ने बताए ।

नगरप्रमुख श्रेष्ठले भने, ‘सञ्चालकहरूको अनुहारबाट नै थाहा हुन्छ कि सहकारी कस्तो हो, हामीहरू सजक र सचेत हुने बेला आएको छ, सबैको स्वाथ्य बिग्रेको छ, मिसावट अखाद्य बस्तुको प्रयोग, लेबलहीन बस्तुको प्रयोग यस्तो कुराको नियमन, नियन्त्रण गरी स्वथ्य, सफा, सुपथ मूल्यमा, गुणस्तरीय सेवामा सहकारीले ध्यान दिनुपर्छ ।’ जग्गा अभावका कारण लामो समयदेखि प्रयास गर्दा पनि अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा अहिलेसम्म पनि मापदण्ड अनुसारको व्यवस्थित हाटबजार सञ्चालन गर्न नसकेकोले अब साथी सहकारीले सबै सहकारीहरूसँग समेत समन्वय गरी हाटबजारसमेत सञ्चालन गनुपर्ने बताए ।

कार्यक्रमका विशेष अथिति एवं प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सरकारको तीन खम्बे अर्थ नीति मध्ये सरकार, निजी क्षेत्र र सहकारीको एकअर्काबीच अन्तरसम्बन्ध रहेको बताए । उत्पादन भएका बस्तुहरूले बिक्री वितरण मात्र नभई उत्पादनका लागि पनि आवश्यक योजना बनाई आवश्यक वातावरण बनाउनुपर्ने भन्दै उपभोक्तालाई भनिए अनुसारको बस्तु, गुणस्तर र मात्रा पूरा गरी बिक्री वितरण गर्नुपर्ने बताए । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको विकृतिलाई अन्त्य गर्नका लागि पनि उदाहरणीय काम गरेर देखाउनुपर्ने बताए ।

रैथाने पुराना खाद्य तथा अन्य सामग्रीहरूको बिक्री वितरण गरी गुणस्तरीय सस्तो, सुलभ र सहज सेवा प्रदान गर्नका लागि सहकारीले विशेष योजनाका साथ अगाडि बढ्नुपर्ने पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले बताए । केही ऋण तथा बचत सहकारी संस्थाका कारणले गर्दा सहकारीलाई हेर्ने दृष्टिकोण बदलिएकोले अब सबै सहकारी उत्पादन र रोजगारीको क्षेत्रमा लागानी गरी सबै सेयर सदस्यहरू उत्पादन कार्यमा जोडेर अगाडि बढ्नुपर्ने जिल्ला जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसालले बताए ।

साथी सहकारी संस्थामा लामो समयदेखि नेतृत्व गर्दै आएका भुसालले एक करोड लगानी गरी उद्योग र बिक्री केन्द्र सञ्चालन गरेको भन्दै यस बिक्री केन्द्रमा जिल्लाको सहकारी बजारको रूपमा विकास गर्ने उद्देश्यका साथ अगाडि बढेको बताए । स्थानीय उत्पादन र सीप हस्तान्तरणका माध्यमबाट स्थानीय उत्पादनलाई बजारीकरण गरी सेयर सदस्यहरूलाई आत्मनिर्भर र उद्यमी बनाई सबै सहकारीका सदस्य तथा उपभोक्ताहरूलाई आर्थिक हिसाबले समेत सबल र सक्षम बनाउन सहकारीमार्फत विभिन्न कार्यक्रम अगाडि बढाएको साथी बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद भुसालले बताए ।

साथी उद्योगमार्फत शुद्ध तोरीको तेल, गहँुको पिठो, कोदोको पिठो, स्थानीय शुद्ध मह, घिउ, सातु, बेसार, टिमुर, खुर्सानी, गुन्दु्रक, मकैको आटो, विभिन्न प्रकारका दाल लगायतका विभिन्न गुणस्तरीय बस्तुहरू सुलभ मूल्यमा बिक्री वितरण भइरहेको काजी श्रेष्ठले बताए । उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल सहकारीकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकार आतिथ्यता र सहकारीका सेयर सदस्यहरू उपस्थित रहेको कार्यक्रम सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालको अध्यक्षता सचिव धर्म भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया