चैते धानको योगदान

तराई तथा तल्लो पहाडको बेँसी क्षेत्रका कतिपय किसान यतिबेला धान रोपाइँमा व्यस्त छन् । नेपालमा धान रोपाइँको मुख्य सिजन असार–साउन अर्थात मनसुनी सिजन हो, तर सिँचाइको सुविधा पुगेका ठाउँमा भने फागुनको अन्तिम सातादेखि चैतको तेस्रो साताभित्र पनि धान रोपिन्छ । यो सिजनमा रोपिने धानलाई चैते धान र मनसुनी सिजनमा रोपिने धानलाई वर्षे धान भन्ने गरिन्छ । वर्षे धानको खेती समुन्द्र सतहभन्दा १८ सय मिटर उचाइसम्मको भूभागमा गर्न सकिए पनि हिउँदे धानको खेती नौ सयभन्दा माथिल्लो उचाइको भूभागमा गर्न सकिन्न । नेपालको धेरैजसो खेतीयोेग्य जमिन नौ सय मिटरभन्दा कम उचाइमा छ । त्यसैले नेपालमा चैते धान खेतीको संभावना प्रचुर छ । तर सिँचाइको अभावका कारण वर्षेधानको तुलनामा करिब ६ प्रतिशत क्षेत्रफलमा मात्रै चैते धानको खेती हुँदै आएको छ । नेपालमा पाखोबारीमा गरिने घैयाधानको खेती गर्न थालिएको इतिहास धेरै पुरानो छ । तर सिँचाइको सुविधा हुने खेतमा चैतेधान लगाउन थालिएको भने आधा शताव्दीभन्दा बढी भएको छैन । आधा शताव्दी भनेको छोटोे अवधि होइन, तर यति लामो अवधिसम्म पनि सरकारीस्तरबाट चैते धानखेतीलाई प्रोत्साहन गर्न थालिएको धेरै भएको छैन । सरकारले २०७४ सालदेखि योजना नै बनाएर चैते धानखेतिका लागि किसानलाई प्रोत्साहन गर्न थालेको छ । त्यस यता चैते धानखेतीको क्षेत्रफल १ लाख ५० हजार हेक्टर पुगेको छ ।

२०२९ सालसम्म नेपालले धान–चामल निर्यात गथ्र्यो । २०३५ सालसम्म नेपाल धान–चामलमा आत्मनिर्भर थियो । त्यस यता भने नेपालमा धान–चामलको आयात डरलाग्दो रूपमा बढ्न थालेको छ । नेपालमा वार्षिक करिब ५५ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । नेपाललाई वार्षिक ७० लाख मेट्रिक टन धान आवश्यक पर्छ । यसरी अपुग हुने करिब १५ लाख मेट्रिक टन धान–चामल आयातका लागि वार्षिक करिब दुई खर्ब रुपैयाँ बिदेसिने गरेको छ । चैते धानखेती गर्ने क्षेत्रफललाई तीन गुणा वृद्धि गर्नसके नेपाल धान–चामलमा आत्मनिर्भर हुने विज्ञहरूले बताउँदै आएका छन् । वर्षेधान एक हेक्टरमा तीन मेट्रिक टन उत्पादन हुने गरेको छ भने चैतेधान एक हेक्टरमा चार मेट्रिक टन उत्पादन हुने गरेको छ । त्यसैले चैते धानखेतीको क्षेत्रफल ६ लाख हेक्टर पुर्याउनासाथ नेपाल धान–चामलमा आत्मनिर्भर हुने निश्चितजस्तो देखिन्छ ।

भेरी–बबई ड्राइभर्सन, सुनकोशी–मरिन डाइभर्सन लगायतका केही निर्माणाधीन बहुउद्देश्यीय सिँचाइ आयोजना अबको तीन वर्षभित्र सम्पन्न हुने चरणमा छन् । यी आयोजना सम्पन्न हुनासाथ चैते धानखेती गर्न सकिने क्षेत्रफलमा तेब्बर वृद्धि हुन्छ । सरसर्ती हेर्ने हो भने २०३५ सालदेखि धान–चामलमा परनिर्भर हुन थालेको नेपाल २०८५ भित्रमा आत्मनिर्भर हुने देखिन्छ । तर, सोचेजस्तो अवस्था छैन । किनकी किसानहरू धमाधम पलायन भएका कारण धान खेतीको क्षेत्रफल हरेक वर्र्ष घट्न थालेको छ । वर्षेधानको खेती हुँदै आएका उर्वर जग्गाहरू बाँझै बस्ने क्रम बढेको छ ।

आफ्नो खेत बाँझो छाडेर वैदेशिक रोजगारीमा युवाहरू किन गइरहेका छन् ? भन्ने प्रश्नको उत्तर खोजेर त्यही अनुसारको नीति निर्माण नगर्ने हो भने धान–चामलमा नेपाल आत्मनिर्भर हुने संभावना टाढा छ । धान खेती गर्ने किसानहरूले समयमै मल, बिउ, औषधि नपाउने जोखिम त छँदै छ । त्यसमाथि पनि लागत अनुसारको बजार मूल्य नपाउने समस्या छ । भारतमा धानको उत्पादन लागत सस्तो छ । भारतबाट सस्तो मूल्यमा धान–चामल आयात हुने गरेका कारण नेपालका किसानहरूले व्यावसायिक धान खेती गर्न नसक्ने अवस्था छ । जग्गाको खण्डीकरण धेरै भएका कारण व्यावसायिक रूपमा धान खेती गर्न असंभव हुँदै गएको छ ।

प्रतिक्रिया