२९ करोड लगानीका ७ उद्योग अलपत्र

एकैपटक सात उद्योग स्थापना तर सबै बन्द

आठबिसकोट । करोडौँ रुपैयाँ लगानी बनेका उद्योग अहिले अलपत्र अवस्थामा छन् । स्थानीय सरकार स्थापनासँगै स्थानीय सरकारले एकैपटक सात वटा उद्योग सञ्चालनमा ल्यायो । रुकुमपश्चिमस्थित आठबिसकोट नगरपालिकाले स्थानीयस्तरमै उत्पादित विभिन्न वस्तुको प्रयोग गरी रोजगारी र अर्थतन्त्र बलियो पार्ने उद्देश्यले उद्योग सञ्चालन गर्यो । तर, अहिले ती सबै उद्योग अलपत्र अवस्थामा छन् । स्थानीय, प्रदेश सरकारले लगानी गरेका उद्योग अलपत्र हुँदा सरकारको लगानी खेर गइरहेको छ । अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने उद्योग कलकारखाना बनाउनतर्फ स्थानीय सरकार नै अग्रसर बने पनि त्यसलाई निरन्तर सञ्चालनमा भने सरकार बेखबर छ ।

स्थानीय युवाहरूको समेत लगानी रहेका यी सात उद्योग सञ्चालनमा सरकार उदासीन बन्दा राज्यको करोडौँ रकम सकिने मात्रै होइन । लगानी गरेका युवाहरू पनि चिन्तित बनेका छन् । स्थानीय सरकारले उद्योग सञ्चालनका वर्ष निकै चर्चा पाएको थियो । केही समयपछि बिस्तारै उद्योगसमेत हराउँदै गए । आठबिसकोट नगरपालिकाले संघीय, प्रदेश सरकारकासँगको समन्वयमा निजी क्षेत्र र सहकारीमार्फत वाइन, साबुन, ड्राइफुट उद्योग, दुग्धजन्य उद्योग, काष्ठ (प्लाइ) उद्योग, मसाला उद्योग र गार्मेन्ट (कपडा) उद्योग स्थापना भए । मासुजन्य उद्योग स्थापना गर्ने योजना रहेको पालिकाले त्यो उद्योग भने स्थापना गरेन ।

सबैभन्दा बढी लगानी लगाएर २०७४/०७५ मा कार्ययोजना नै पारित गरेर आठबिसकोट–१२ स्थित कर्णाली वेभरेज इन्डस्ट्रिज प्रालि प्रदेश र स्थानीय सरकारको सहयोगमा स्थापना भयो । ७ करोड ६० लाख रुपैयाँ लगानीमा उक्त उद्योग सुरु भयो । ४३ जना स्थानीयले सेयर गरेको उद्योगमा अहिले सेयरकर्ता आफैँले काम गर्नुपर्ने अवस्था आएको छ । गत दसैँमा पहिलो चरणमा आठ करोड आम्दानीको लक्ष्य राखेको उद्योग सकसमा परेको छ । अहिले उद्योगमा २० करोड लगानी पुगेको छ । स्थानीय स्तरमा पाइने किवी, चिउरी, डिमुर, म्हेल लगायतको फलफूलबाट उत्पादन गरिने वाइन उद्योगको प्रगति भने शून्य छ । उद्योग सञ्चालक समितिका सचिव दत्तबहादुर पुन भन्छन्, ‘केही सेयर सदस्यसहित म लगातार खटिएको छु । हामीले पहिलो चरणमा आठ करोडको उत्पादनको बजारीकरण गर्ने लक्ष्य राखेका थियौँ । तर अहिले त्यो सफल भएन । पानी उद्योग भने सञ्चालनमै छ । वाइनमा भने लगानी अनुसारको प्रतिफल पाउन नसक्दा निराशा बढेको छ ।’

त्यस्तै अर्को करोडौँ लगानीको उद्योग हो, डेरी उद्योग । यो ‘आठबिसकोट दुग्ध सहकारी संस्था’को नाममा २०७७ जेठमा स्थापना भयो । तर, सोही दिनदेखि अहिलेसम्म उक्त डेरी उद्योगको ढोका खुलेको छैन । तत्काल सञ्चालनमा ल्याउने गरी सबै तयारी पूरा गरेर १ करोड २० लाख रुपैयाँ लगानी भएको डेरी उद्योग सञ्चालनमै नआएर अलपत्र अवस्थामा रहेको छ । दूध ढुवानीका लागि मिल्क ट्रयांकर जडित गाडीसहित तीन वटा गाडी जेनेरेटरलगायत आवश्यक पर्ने सबै भौतिक सामग्री उपलब्ध छन् । तर, उद्योगमा बर्सौंदेखि ताला लगाइएको छ । आफ्नै घर छ । गाडी छन् । सबै आवश्यक उपकरण जडान भएको छ तर उद्योग सञ्चालनमा आउन सकेको छैन । लामो समय सञ्चालन नभएकाले मेसिन खिया लाग्ने अवस्थामा छ । पालिकालाई उद्योगका विषयमा जानकारी गराएको सहकारीका सचिव गोविन्दप्रकाश खड्काले बताए ।

त्यस्तै नगरपालिकाले ३ करोड ८० लाख रुपैयाँ लगानी गरेको कर्णाली टिम्बर कम्पनी प्रालि पनि बन्द अवस्थामै छ । स्थानीय जंगलमा पाइने काठबाट प्लाइउडका लागि कच्चा पदार्थ तयार गर्ने भनेर स्थानीय सरकारले स्थापना गरेको उद्योग झाडीले पुरिएको अवस्थामा छ । अनुदान पाउने तर कामको परिणाम नहुँदा उद्योग अलपत्र हुने गरेको सरोकारवालाहरूको भनाइ छ । यसरी करोडौँ खर्चेर स्थापना भएका उद्योग सञ्चालन नहुँदा एकातिर सरकारको लगानी डुब्ने र अर्कोतिर नागरिक सरकारप्रति निराशा बढ्ने बताइन्छ ।

कर्णाली प्रदेश सरकारले दुई करोड अनुदान प्रदान गरेको मसला उद्योग पनि त्यहि अवस्थामा छ । सुरुको वर्ष केही दिन सञ्चालनमा आए पनि हाल यो उद्योग कहाँ छ ? कस्तो छ ? केही अत्तोपत्तो छैन । दुई करोड रुपैयाँ अनुदान पाइसकेको यो उद्योग हाल कहाँ छ भन्ने कुरा स्वयं कर्णाली प्रदेश सरकारलाई थाहा छैन ।

अनुदानमै अल्झिएको अर्को उद्योग हो । ठूलीभेरी साबुन उद्योग यो पनि कर्णाली सरकारकै एक करोड अनुदान पाएको उद्योग हो । यी उद्योग तत्कालीन मेयर गोरखबहादुर केसीले आफ्नो पहिलो कार्यकाल २०७४/०७५ मा स्थापना गरेका थिए । यी उद्योग स्थापनापछि न सञ्चालक समिति सक्रिय भए न सरकारले नै चासो राख्यो ।

ड्राइफुड उद्योग र कर्णाली गार्मेन्टमा प्रदेश सरकारको लगानी छ । तर काम भने ताला लगाउने अनुदान लिनेबाहेक अरू छैन । ड्राइफुड उद्योग पनि सञ्चालनमा आउन सकेको छैन । कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ३८ लाख अनुदान र ११ जना सेयर सदस्यले एक÷एक लाख गरी ४९ लाख रुपैयाँ लगानीमा खोलिएको उद्योग अलपत्र परेको उद्योगका अध्यक्ष गोर्ख कामीले बताए । कामी भन्छन्, ‘हामीसँग भएको आर्थिक लगानी अभाव भयो । उद्योगमा थप बजेट अभाव हुँदा उद्योग सञ्चालनमा आउन सकेको छैन । अब त्यहि ऋण काढेर ल्याएको एक/एक लाख रुपैयाँ कसरी तिर्ने भन्ने चिन्ता छ । कर्णाली प्रदेश सरकारको १० लाख अनुदान र स्थानीय सेयर सदस्य नौ जनाले पाँच÷पाँच लाख लगानी गरेर ५५ लाख लगानीमा स्थापना भएको गार्मेन्ट उद्योगमा पनि ताला लागेको छ ।

आर्थिक अभाव भएको कारण स्थापना भएका उद्योगहरू सञ्चालनमा समस्या भएको आठबिसकोट नगरपालिकाले जनाएको छ । बजेट अभाव हुँदा सबै उद्योगबाट सोचेजस्तो परिणाम दिन नसकेको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताए । करोडौँ लगानी गरेर उद्योग अलपत्र हुँदा सरकारको ध्यान नजानु दुःखद् कुरा भएको स्थानीयवासी बताउँछन् । गाउँमै उद्योग सञ्चालनमा आएपछि घरपायकमा रोजगारी पाइने र किसानले उत्पादन गरेको वस्तुले बजार पाउने खुसीका साथ बसेका किसानहरू सबै उद्योग अलपत्र हुँदा चिन्तित बनेका छन् । अर्थतन्त्र विकासको मुख्य सूचक उद्योग क्षेत्रलाई तीनै तहको सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया