जीतपुरसिमरा उपमहानगरले मनायो पहिलोपटक स्थापना दिवस

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले आठौँ स्थापना दिवस मनाएको छ ।
विशेष समारोहको आयोजना गरी आइतबार स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका स्थापना भएको सात वर्षपछि उपमहानगरले पहिलोपटक स्थापना दिवस मनाएको हो । नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले पानसमा बत्ती बालेर आठौँ स्थापना दिवसको उद्घाटन गरेकी थिइन् ।

उपमहानगरले आठौँ स्थापना दिवसको अवसर पारेर उपमहानगरभित्र रहेका १ सय १४ वर्षीय नागरिक चित्रदेवी गुरुङ र मंगल राय थारूलाई सम्मान गरेको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथि रहेकी कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आफ्नो पहिलो प्राथमिकता लम्कीस्किन रोगबाट मरेको पशुको बिमा प्रक्रिया अगाडि बढाउने र दुग्ध किसानले लामो समयदेखि दूध बिक्री वापतको नपाएको पैसा दिलाउन अर्थ मन्त्रालयबाट बजेटको माग गरेको बताइन् । उनले बजेट उपलब्ध हुने बित्तिकै दुग्ध किसानहरूको समस्या समाधान हुनेसमेत बताइन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाले आठौँ स्थापना दिवसको अवसर पारेर उपमहानगरभित्र कार्यरत कर्मचारी लक्ष्मी लामा, रमेश चौधरीसहित तीन जनालाई जनही २० हजार रुपैयाँ नगदसहित सम्मानसमेत गरेको छ ।

उपमहानगरको स्थापना दिवसको अवसरमा बोल्दै नगरप्रमुख राजन पौडेलले पहिलोपटक उपमहानगरले आफ्नो स्थापना दिवस मनाउँदा व्यवस्थापकमा कमीकमजोरी भएकोले आगामी दिनमा यसलाई व्यवस्थित बनाउँदै लैजाने बताए । उनले ऐतिहासिक, औद्योगिक र पर्यटकीय नगर जीतपुरसिमरालाई समृद्ध बनाउनका लागि सबैको साथ, सहयोग जरुरी रहेकोसमेत बताए ।

नगरप्रमुख पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद, २४ वटै वडाका वडाध्यक्षहरू, उपमहानगरका कर्मचारीहरूलगायत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया