ब्लोदानद्वारा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आयोजना

काठमाडौं । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आयोजना गरेको छ । ब्लोदानले आज (बुधबार) केन्द्रीय राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आगामी फागुन २६ र २७ गते आयोजना गरिएको जानकारी गराएको हो ।

दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा ललितपुर, भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा हुने बताइएको छ । साथै, संघ–संस्थाहरुको महासंघ (आइएफबिडिओ) का अध्यक्ष अब्देलमलेक साया पनि उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ ।

ब्लोदानका अनुसार उक्त सम्मेलनमा भारत र अन्य देशका गरी १८ जना विदेशी प्रतिनिधिहरु सहभागी रहनेछन् । साथै, विभिन्न स्थानीय क्लब, संघ–संस्था, तथा व्यक्तिहरु गरी लगभग ३ सय जनाको सहभागिता रहने बताइएको छ ।

ब्लोदानले रगतको सोधभर्ना दिनुपर्ने, दान गरेको रगतको शुल्क तिर्नुपर्ने, समयमै रगत नपाउने, रगतको भण्डारणमा समस्या उत्पन्न हुने, दक्ष जनशक्ति र उपकरणको अभाव हुने आदि समस्यालाई न्यूनीकरण गर्नका लागि राष्ट्रिय रक्तसञ्चार नीतिलाई समयानुकूल परिमार्जन एवं व्यवस्थित गर्नु अबको थप चुनौती रहेको बताएको छ ।
ब्लोदानका केन्द्रीय उपाध्यक्ष तथा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन प्रचार प्रसार उपसमितिका संयोजक राजेश श्रेष्ठले रक्त सञ्चार सेवामा सुधार ल्याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताए । ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले आफूहरु निरन्तर रक्तदान अभियानमा रहेको बताए ।

विरामीको उपचारमा रगतको अभाव नहोस् भनेर आफूहरुले नेपाली रक्तदाताहरुलाई अभिप्रेरित गर्ने प्रयास जारी राखेको बताए । ब्लोदान गैरनाफामूलक संस्था भएको उनले बताए । ब्लोदानले २०७० जेठ ३० र ३१ गते प्रथम अन्तर्राष्ट्रिय रक्त सम्मेलन गरेको थियो ।

प्रतिक्रिया