बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२४ हरपुरमा जारी चौथो जीतपुरसिमरा हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको मंगलबारको खेलमा कलैया क्रिकेट क्लब कलैया र चितवन क्रिकेट क्लब चितवन विजयी भएका छन् ।
मंगलबार बिहान भएको पहिलो खेलमा कलैया क्रिकेट क्लबले युथ क्लब अफ गरुडा रौतहटलाई १८ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कलैया क्रिकेट क्लबले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । कलैयाका लागि ओपनर निरज यादवले २७ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ३१ रन बनाए । यसैगरी कलैयाका तृतराज दासले ३९, अरनिको यादवले २८, निखिल सिंहले १३, महमद साइद अलीले १२ र साहिल पटेलले आठ रन बनाए । बलिङतर्फ गरुडाका लागि सन्नी साह, नितेश यादव, धर्मेन्द्र साह र डब्लु मल्लिकले समान एक–एक विकेट लिए ।
१ सय ४७ रनको लक्ष्य पछ्याउन ग्राउन्डमा उत्रेको युथ क्लब अफ गरुडाले २० ओभर खेल्दै १ सय २८ रन मात्र बनाउन सफल भएको थियो । गरुडाका लागि ओपनर अरविन्द चौधरीले ४७ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ४८ रन बनाएको थियो । यसैगरी सोभेन्द्र पासवानले २०, शैलेन्द्र कुशवाहाले १३, धर्मेन्द्र साहले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । जीतसँगै कलैया क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कलैया क्रिकेट क्लबका निरज यादव म्यान अफ दी म्याच घोषित भए ।
त्यस्तै मंगलबार अपराह्नको दोस्रो खेलमा चितवन क्रिकेट क्लबले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा १४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो । चितवनलाई जीतका लागि विकल गुप्ताले २५ बलमा तीन चौका र एक छक्कासहित ४३ रन बनाए । यसैगरी चितवनका प्रतिक श्रेष्ठ अविजीत रहँदै ४२, जेनिश महत ४०, सनम बुढाथोकीले २१ रन बनाए । बलिङतर्फ हरपुर क्रिकेट क्लबका हसरत अलीले दुई, अनिल खड्का, आशिक देवानले समान एक–एक विकेट लिए ।
१ सय ८० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेका हरपुर क्रिकेट क्लबले १७ दशमलव १ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनाउन सकेको थियो । हरपुर क्रिकेट क्लबका तर्फबाट अजय पटेल १८, हसरत अली १३, राजीव यादव १३ रन बनाएको थियो । चौथो जीतपुरसिमरा हरपुर क्रिकेट च्याम्पियन्स ट्रफी २०८० फागुन २६ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया