१२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सुरु

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०८० सुरु भएको छ । नेपाली लोक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको उक्त १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला शनिबारदेखि सुरु भएको हो ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको उक्त लोक सांस्कृतिक मेला शनिबार काठमाडौंस्थीत नेपाल प्रज्ञा प्रतिष्ठानमा समारोहका प्रमुख अतिथि एवं परराष्ट्र मन्त्री (नारायणप्रसाद) एनपी साउदले उद्घाटन गरेको आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र (आरसी) कोईरालाले जानकारी दिए ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतीको आधार’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको भन्दै अध्यक्ष कोईरालाले उक्त मेला फागुन २१ गते दाङको घोराही, २३ गते पोखरा, २५ गते बसन्तपुर दरबार क्षेत्र काठमाडौं, २६ गते लालिगुराँस नेशनल एकेडेमी मनमैजु, काठमाडौंमा सम्पन्न हुने बताए ।

२०५९ सालमा पहिलो अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आयोजना गरेको एभरेष्ट नेपाल कल्चरल ग्रुपले हालसम्म ७५ भन्दा बढी देशहरुमा नेपाली मौलिक कला संस्कृतिलाई प्रस्तुत गरी प्रचारप्रसारमार्फत थप टेवा पुर्याउने काम गरेको अध्यक्ष कोईरालाले जानकारी दिए ।

शनिबार १२औँ सांस्कृतिक मेला उद्घाटन कार्यक्रममा विभिन्न ११ राष्ट्रका ३५० भन्दा बढी कलाकारहरुको प्रस्तुती रहेको थियो । हेरक राष्ट्रका कलाकारहरुले आ–आफ्नो राष्ट्रको संस्कृति झल्काउने नृत्य, भेषभुषा, झण्डा प्रस्तुत गर्दै सांस्कृतिक प्रस्तुती दिएको अध्यक्ष कोईरालाले बताए ।

उक्त कार्यक्रममा वरिष्ठ गायक एवं चलचित्र निर्देशक नारायण रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापामगर, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, साधना कला केन्द्रका संस्थापक मिलन मोक्तान, नेपाल टेलिकमका विमल आचार्य, नृत्यशिरोमणी भैरवबहादुर थापा, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुश्मा महरालगायत उपस्थित थिए ।

प्रतिक्रिया