गण्डकीमा प्रादेशिक ललितकला प्रदर्शनी

कास्की । गण्डकी प्रदेशभरिका ललितकलाकर्मी सहभागी रहेको प्रादेशिक प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठान एवं सिर्जनशील कलाकार समूहको सहकार्यमा पोखरास्थित नयाँबजार पोखरामा अवस्थित पोखरा आर्ट ग्यालरीमा शनिबारदेखि सुरु भएको प्रादेशिक ललितकला प्रदर्शनीमा करिब ८० कलाकारका कलाकृति राखिएको छ । पहिलो पटक भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले ‘सामाजिक रुपान्तरण ः ललितकलाको अभियान’ भन्ने भावका साथ सातै प्रदेशमा कार्यक्रम थालिएको बताए ।

उनले आफूहरु प्रतिष्ठानमा आइसकेपछि परम्परागत शैलीमा सञ्चालन हुँदै आएका कामकारवाहीलाई व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको सुनाए । उनले भने, ‘नेपालमा प्रचलित विभिन्न समुदायका कला र सिर्जनालाई प्रतिष्ठानले प्रशिक्षण, प्रदर्शनी तथा खोज अनुसन्धान गर्ने कामलाई अगाडि बढाएको छ । हामीले कतिपय जनजाति एवं आदिवासीका कला आज देख्न पाउँदैनौ, केही अपवादबाहेक घरभित्र थन्किएको छ, समुदायमा थन्किएको छ । सुषुप्त हुन थालेको छ, त्यसलाई पुनर्जागरण गर्ने भनेका छौं र त्यसै अनुसार काम गरिरहेका छौं । यो प्रदर्शनी पनि त्यसको एक कडीको रुपमा बुझ्नुपर्छ ।’

उपकुलपति लामाले प्रदेश हुँदै स्थानीय तहसम्म पुग्ने आफूहरुको तयारी रहेको जनाए । उनले समाजको तल्लो तहसम्म पुगेर त्यहाँ रहेका कलालाई माथि उठाउने योजनाका साथ आफूहरुले काम गरिरहेको जिकिर गरे । उनले भने, ‘स्थानीय कला प्रदेश हुँदै केन्द्र र अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने तथा अन्तर्राष्ट्रिय कलालाई केन्द्र हुँदै प्रदेश अनि स्थानीय तहमा ल्याउने गरी कामसमेत गरिरहेका छौं ।’ उपकुलपति लामाले समाज रुपान्तरण गर्न ललितकलाको भूमिका महत्वपूर्ण हुने भएकोले सोही अभियानका साथ आफूहरुले काम गर्न थालेको सुनाउँदै समाज जगाउने काममा कलाकारको भूमिका विशिष्ट रहने बताए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख एवं गण्डकी प्रदेश समन्वय समिति संयोजक सौरगंगा दर्शनधारीले सबैको साथ सहयोगका कारण पोखरामा प्रदर्शनी गरिएको बताइन् । उनले गण्डकी प्रदेशमा रहेका कला र कलाकारको अवस्था सामाजिक मनोविज्ञान बुझ्न प्रदर्शनी सफल भएको जिकिर गरिन् । उनले समाज रुपान्तरणमा कलाले विशिष्ट भूमिका खेल्ने सुनाउँदै जारी प्रदेश प्रदर्शनीले नेपाली कलालाई पुनर्जागरणको चरणमा लैजानेमा आफू विश्वस्त रहेको विचार व्यक्त गरिन् ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले अबदेखि हरेक वर्ष १० दिने कला प्रदर्शनी गण्डकी प्रदेशमा आयोजना गरिने बताए । उनले प्रदर्शनीले कलाक्षेत्रमा जागरण ल्याउन महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘आगामी वर्ष आयोजना गरिने प्रदर्शनी प्रदेशका फरक–फरक जिल्लामा गर्ने छौं ।’ गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत सिर्जनशील कलाकार समुह पोखराका कार्यबाहक अध्यक्ष डिबी गुरुङले गरेका थिए ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका कुल ७४ वटा कला प्रदर्शनीमा राखिएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं गण्ढकी प्रदेश समन्वय समितिका सहसंयोजक राधिका कँडेलले गण्डकी प्रदेशमा पहिलो पटक भएको प्रदर्शनीले नेपाली ललितकला क्षेत्रलाई सामाजिकरण गर्न विशिष्ट भूमिका खेलेको बताइन् । उनले कलालाई समाजतिर लैजान र सामाजिक जागरणमा प्रदर्शनीले भूमिका खेल्ने भनाइ व्यक्त गरिन् । उनका अनुसार अवलोकनकर्ताले हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म प्रदर्शनीमा राखिएका कलाको अवलोकन गर्न पाउने छन् । पाँच दिनसम्म चल्ने प्रदर्शनीको समापन फागुन २३ गते हुनेछ । समापन कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग संवाद कार्यक्रमसमेत गरिने जनाइएको छ ।

प्रतिक्रिया