मेटिँदै ठुलाकोट दरबारको इतिहास

१८४३ सालमा गोरखालीले आठबिस राज्य कब्जा गर्दा राजा रणउद्दीम शाही काटिएका थिए तर राजकुमार विभूति शाही भने लुक्दैभाग्दै बाँचे । हालको जाजरकोट जिल्लाअन्तर्गत पर्ने सुवाकोट(मावली घर)मा लुकेको बेला यिनले जुम्लाका शोभान शाहीसँग गुप्तिरूपमा भेट गरेका थिए । १८४६ सालमा डोटी, अछाम, जुम्ला, बाँफी र आठबिसमा एकैपटक आआफूले विद्रोह गरी गुमेका राज्य स्वतन्त्र बनाउने मतअनुसार यिनी आफ्ना विश्वासपात्र गोले बटाला (बिष्ट÷काजी), रीठे चनारा, ग्वामे ढोलीसहित आठबिसकोट प्रवेश गरेका थिए । आठबिस राज्य स्वतन्त्र भएको घोषणा गरी बसेको केही समयमै गोरखाली सेना त्यहाँ प्रवेश गर्यो ।

अर्जुन बिष्ट

मध्यकालीन नेपालमा बनेका ऐतिहासिक र पुरातात्विक महत्व बोकेका पुराना दरबारहरू नासिन थालेका छन् । संरक्षण र संवद्र्धन गर्नसके पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने भए पनि पुराना दरबारहरूको अस्तित्व मेटिँदै गएको छ । ऐतिहासिक संस्कृति, समाज र समयको जानकारी दिने दरबारहरूको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । प्राचीन कालमा राजदरबार बनेका ऐतिहासिक दरबारहरू नासिएका छन् । बाइसे राज्यमा बनेको आठबिस राज्यको राजधानी रुकुमपश्चिमको आठबिसकोट–१० ठुलाकोट दरबारको अस्तित्व मेटिँदै गएको छ । ऐतिहासिक महत्व बोकेको यो क्षेत्र अहिले पशुचौपाय चरणका लागि प्रयोगमा आएको छ ।

राणाकालीन समयमा बनेका दरबारहरूको अहिले नाम निसानै छैन । एकात्मक राज्य प्रणाली हुँदा सरकारले ऐतिहासिक बस्तुको संरक्षणमा ध्यान नदिएको गुनासो नागरिक र राजनीतिक स्तरबाट उठ्ने गरेको थियो । मुलुक संघीय व्यवस्थामा गएर तीन तहको सरकार बनेका छन् तर प्रदेश र स्थानीय सरकारले पनि आफ्नो क्षेत्रमा रहेका ऐतिहासिक बस्तुहरूको संरक्षण, संवद्र्धनमा ध्यान दिएका छैनन् । रुकुम पश्चिमको आठबिसकोटको ठुलाकोटमा रहेको ठुलाकोट दरबार अहिले भग्नावशेषका रूपमा परिणत भएको छ । आठबिसकोट राडीबजारबाट उकालो लागेपछि सुरु हुन्छ ठुलाकोटको यात्रा । तल बग्ने ठुलीभेरी नदी र गिजागाड खोलासँगै सुन्दर डाँडाकाँडाको मनमोहक प्राकृतिक दृष्यले पर्यटकहरूलाई साँच्चै नै मोहित बनाउँछ ।

ठुलाकोट पुग्ने पर्यटकहरू वरपरका हिमाल, डाँडाकाँडामा छरिएका बस्ती, चिसो र मनोरम हावापानी, गाउँघरको जीवनशैली अध्ययन अवलोकन गर्दछन् । भग्नावशेष रहेको ठुलाकोटमा दरबार पुननिर्माण गर्नुपर्ने स्थानीय बताउँछन् । राजाले बनाएको राजदरबारको भग्नावशेष रहे पनि त्यसलाई पुननिर्माण गर्नतर्फ कसैको ध्यान नगएको जानकारहरू बताउँछन् । यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको ठुलाकोट दरबार क्षेत्रलाई संरक्षण गर्नुपर्नेमा बेवास्ता गर्नाले दिनदिनै ऐतिहासिक क्षेत्रको इतिहास नास हुँदै गएको छ ।

बाइसे चौबिसे राज्यअन्तर्गतको आठबिस राज्यको ठुलाकोट ऐतिहासिक मात्रै होइन पर्यटकीय हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । अग्लो डाँडामा अवस्थित ठुलाकोट दरबारको इतिहाससँगै महत्व पनि हराउँदै गइरहेको स्थानीयवासी, बुद्धिजीवी र इतिहासका जानकारहरू बताउँछन् ।


पर्यटकलाई भित्र्याउने सबै पूर्वाधार भए पनि कोटको उचित संरक्षण हुन नसक्दा पर्यटक भित्रन नसकेको स्थानीयबासिन्दाको गुनासो छ । कोटभित्रका गुफा, रानीले नुहाउने पोखरी, प्राचीन शैलीका नौला, देवललाई मात्र उही आकारमा निर्माण गर्न सक्ने हो भने आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्ने स्थानीयबासिन्दा बताउँछन् ।

आठबिस राज्य र ठुलाकोट दरबारको इतिहास

नेपालको इतिहासमा गण्डकी क्षेत्रमा चौबिसे र कर्णाली क्षेत्रमा बाइसे राज्यहरू बनेका थिए । सिंजा खस साम्राज्य छिन्नभिन्न भएपछि कर्णाली प्रदेशमा १४३० सालतिर बाइसे राज्यहरूको स्थापना भयो । यसै क्रममा बडे राजा मलै बमका माइला छोरा पिताम्बरले रुकुम राज्य स्थापना गरेका हुन् । १६०० सालमा रुकुम राज्य टुक्रिएर रुकुम, मुसिकोट, बांफी, आठबिस, जहारी, गोताम र खगेना जस्ता ससाना राज्य बनेका थिए । खगेना राज्यबाहेक अन्य राज्यको अस्तित्व नेपाल एकीकरणको समयसम्म रहेको पाइन्छ । १६०० सालमा स्थापना भएको आठबिस राज्यको ऐतिहासिक तथ्यलाई हेर्दा बहादुर शाह नायबी तथा रणबहादुर शाहको शासनकालमा बाइसे राज्यहरू रुकुमकोट, मुसिकोट, गोतामकोट, आठबिसकोट बाँफीकोट कोटजहारी नेपालमा गाभिएको पाइन्छ । यसरी रुकुमकोटलगायत मुसिकोट, बाँफीकोट, जहारीकोट, आठविसकोट, गोतामकोटजस्ता स–साना राज्यहरू रणबहादुर शाहको राज्यकालमा नेपालमा एकीकरण भयो । एकीकरण भएको रुकुम जिल्ला २०१८ सालमा १४ अञ्चल ७५ जिल्लामध्ये मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत राप्ती अञ्चलको उत्तरी भेकमा सुन्दर सिस्ने हिमालको काखमा अवस्थित रुकुम जिल्ला एक दुर्गम जिल्लाको रूपमा चिनिन्छ ।

पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान प्रारम्भ गर्नुभन्दा पहिले गण्डकी प्रदेशमा २४ वटा ससाना राज्यहरू थिए भने गण्डकी प्रदेशभन्दा पश्चिमपट्टी २२ वटा ससाना खस राज्यहरू थिए । बाइसे चौबिसे राजाको पालामा भुरेटाकुरे राज्य पनि धेरै थिए । जसअन्तर्गत आठबिस राज्य पनि थियो । ठुलाकोट मध्यकालीन बाइसे राज्य आठबिसको राजधानी थियो । १६०० सालमा रुकुमे राजा दारे जैतमका छोरा कालु बमले दरबार बनाई राज्य स्थापना गरेका थिए । यिनै कालु बमका १२आँै पुस्ताका राजा रणउदिप शाहीको पालामा १८४३ सालमा आठबिस राज्य नेपालमा विलय भएको थियो भन्ने कुरा वंशावलीमा उल्लेख छ । राजा काटिएकाले यस क्षेत्रको रेखदेख गर्न सेरो खारो खाने गरी राजाका भैयाद पर्ने हित कल्चु शाही र दण्ड उठती खान पाउने गरी धन्नु मल्ललाई नियुक्त गरियो । रुकुममा राजा काटी राजा कहलिएका राजकुमार विभूति शाहीलाई गोर्खालिले धपाएपछि विभूति शाही आफ्ना भाइसहित मुसिकोट भण्डारीकाडामा बसेका थिए । जुम्ली शोभान शाहीका दूतसँग विभूति शाहीको भेट भयो । आफ्ना सगोत्रीय आठबिसे राजा रणउद्दिम शाही काटिएकाले शोभान शाहीको मद्दतले आफू आठबिसे राजाको हकदार हुने सपना विभूति शाहीले देखे । राजकुमार विभूति शाहीले आठबिस राज्य फिर्ता लिन जुम्लाका शोभान शाहीसँग मिलेर विद्रोह गरे तर सफल हुन सकेनन् र विभूति शाही जोगीको भेष धारण गरेर भागे भन्ने कुरा स्थानीयले बताउँछन् ।

राजा कालु बम (आठबिस राज्यका संस्थापक राजा) र विभूति शाही आठबिस राज्यका अन्तिम राजा रणउद्दिप शाहीका छोरा हुन् । १८४३ सालमा गोरखालीले आठबिस राज्य कब्जा गर्दा राजा रणउद्दीम शाही काटिएका थिए तर राजकुमार विभूति शाही भने लुक्दैभाग्दै बाँचे । हालको जाजरकोट जिल्लाअन्तर्गत पर्ने सुवाकोट(मावली घर)मा लुकेको बेला यिनले जुम्लाका शोभान शाहीसँग गुप्तिरूपमा भेट गरेका थिए । १८४६ सालमा डोटी, अछाम, जुम्ला, बाँफी र आठबिसमा एकैपटक आआफूले विद्रोह गरी गुमेका राज्य स्वतन्त्र बनाउने मतअनुसार यिनी आफ्ना विश्वासपात्र गोले बटाला (बिष्ट÷काजी), रीठे चनारा, ग्वामे ढोलीसहित आठबिसकोट प्रवेश गरेका थिए । आठबिस राज्य स्वतन्त्र भएको घोषणा गरी बसेको केही समयमै गोरखाली सेना त्यहाँ प्रवेश गर्यो । दाजे गाउँबाट गोर्खाली सेना अगाडि बढेको सुइँको पाएपछि ठुलाकोट दरबारबाट आठबिसे झराल सेना पनि बाटो छेक्न तयारी भयो । हालको मारिकाट्टेमा घम्साघम्सी लडाइँ चल्यो । आठबिसे सेनाका सेना नायक जैधन बिष्ट, धाकरे बिष्टलगायत धेरैको ज्यान गएर रगतको खोला नै बग्यो । विभूति शाही जोगीको भेष धारण गरी बेपत्ता भए । आठबिसेको धन, सम्पतिमा लूट चल्यो । करिब १२ वर्षसम्म जोगीको भेषमा लुक्दै भाग्दै हिँडेका विभूति शाही नेपाल सरकारबाट सम्पति र सत्ताबाहेक ज्यान माफी पाएपछि पुनः आठबिसकोटमा जोगीकै रूपमा आई बिजारे देउतीमा पुगेर शीर(कपाल) मुण्डन गरी गृहस्थ जीवनमा प्रवेश गरे । यिनका सन्तान आठबिसे शाह खलक हुन् । हाल यिनीहरू धेरै संख्यामा फैलिएर रहेका छन् ।

आठबिसकोट नगरपालिकाको केन्द्रदेखि करिब १० किलोमिटरको दुरीमा रहेको ठुलाकोटलाई संरक्षण गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ । राडीदेखि ठुलाकोट र बिजारेसम्मको पदमार्ग निर्माण गरेर पुरानो ठुलाकोट दरबारलाई पुनः निर्माण गर्ने हो भने आठबिस राज्यको राजधानी ठुलाकोट फेरी पनि ऐतिहासिक रूपमा चिनिन्छ । ठुलाकोटदेखि झारामारे सम्मको पदमार्ग निर्माण गर्दा यहाँको प्राकृतिक सौन्दर्य र दरबार क्षेत्र मुख्य आकर्षकको रूपमा चिनिन्छन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया