टी– २० सिरिज : नामिबियालाई ३ रनले हराउँदै नेपाल विजयी

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज नामिबियालाई ३ रनले हराउँदै रोमाञ्चक जित निकालेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।

७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।

सातौँ ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए ।

दीपेन्द्रसिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

। नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले ओभरमा सात विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो ।

तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई हराउँदै फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । नेपालले शनिबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

आइतबार नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।

प्रतिक्रिया