मौलापुरमा १७ हजार भन्दा बढीलाई दादुरा–रुबेलाकाे खोप लगाउने लक्ष्य

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकामा दादुरा–रुबेलाविरूद्ध खोप अभियान फागुन २७ गतेदेखि सुरु हुने भएको छ । आज मौलापुर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको स्थानिय तह स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुको गोष्ठी कार्यक्रममा यस्तो जानकारी गराइएको हो । मौलापुर स्थित नगरपालिकाको सभाकक्षमा ९ वटै वडाका वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु, सञ्चारकर्मीहरु बिच खोप सञ्चालन सम्बन्धी जानकारी गराइएको थियो ।

मौलापुरका स्वास्थ्य संयोजक अच्छेलाल साहका अनुसार तेस्रो चरण अन्तर्गत फागुन २७ गतेदेखि सुरु हुने उक्त अभियान अन्तर्गत मौलापुरमा १७ हजार १ सय ६३ जना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । सो अभियान नगरभरि चैत १ गते सम्म चल्ने छ ।

उनका अनुसार, दादुरा–रुबेला खोप अभियान अन्तर्गत नगरका स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतका स्थानमा गरी २१ खोप केन्द्र स्थापना गरिने छ । सो अभियान सफल पार्न ३२ जना कर्मचारी परिचालन गरिने उनले बताए ।

बिहिबार भएको अभिमूखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप फोकल पर्सन अनिल कुमार कर्णले अभियानलाई सफल पार्न सबैजनाको भूमीका महत्वपूर्ण हुने भन्दै सहयोगका लागि आग्रह गरे । सो अवसरमा सबै वडाका वडाध्यक्ष, प्रधानाध्यापकहरु, सबै शाखाका प्रमुख, सञ्चारकर्मी लगायतकाको पनि सहभागीता रहेको थियो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया