सल्लाको खोटोबाट आम्दानी

दाङ । जिल्लामा पछिल्लो समय सल्लाको खोटोबाट आम्दानी बढ्दै गएको छ । खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि खोटो संकलन गर्ने क्रम पनि बढेको हो ।

आर्थिक वर्ष २०७९÷८० मा जिल्लाका नौ वटा सामुदायिक वनबाट १ लाख ७ हजार ९ सय सात केजी खोटो संकलन भएर बिक्री हुँदा १२ लाख ९४ हजार ७ सय ४ आम्दानी भएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । आव २०७८÷०७९ मा ७ हजार २ सय ५६ केजी सल्लाको खोटो संकलन गरिएको थियो । उक्त वर्ष खोटो बिक्रीबाट ९ लाख ३९ हजार २७ मात्रै आम्दानी भएको थियो ।
अघिल्लो आवको तुलनामा पछिल्लो समय सल्लाको खोटो संकलन गर्ने कार्य बढेको उनको भनाइ थियो । आव २०७९÷०८० मा बागेश्वरी सामुदायिक वनबाट २ हजार २ सय १० केजी खोटो निकासी हुँदा २६ हजार ५ सय २०, सरस्वती सामुदायिक वन समूहबाट २५ हजार ८० केजी खाटो बिक्री हुँदा ३ लाख ९ सय ६० आम्दानी गरेका गरेका थिए ।

त्यसै गरी, गैरीकुण्ड दर्शाकोट सामुदायिक वन समूहबाट २० हजार ६ सय ५८ केजी खोटो बिक्री हुँदा २ लाख ४७ हजार ८ सय ९६, जौलीपोखरी सामुदायिक वन समूहबाट ७ हजार ३ सय दुई केजी खोटो बिक्री हुँदा ८७ हजार ६ सय २४, घोरले संगरगैरा सामुदायिक वन समूहबाट ३ हजार ४३ केजी खोटो बिक्री हुँदा ३६ हजार ५ सय १६, जनचेतना सामुदायिक वन समूहबाट ८ हजार ४ सय ५० केजी खोटो बिक्री हुँदा १ लाख १ हजार ४ सय, शिव सामुदायिक वन समूहबाट १ हजार ८ सय ३२ केजी खोटो बिक्री हुँदा २१ हजार ८ सय ८४, भूमेवराह सामुदायिक वन समूहबाट ७ हजार ८ सय ७५ केजी खोटो बिक्री गर्दा ९४ हजार ५ सय र ओखलढुंगा सामुदायिक वन समूहबाट ३१ हजार ४ सय ५४ केजी खोटो बिक्री गर्दा ३ लाख ७७ हजार ४ सय ८४ आम्दानी भएको प्रमुख श्रेष्ठले जानकारी दिइन् ।

सल्लाको खोटो बिक्री गरेर आम्दानी भएको ७५ प्रतिशत रकम सम्बन्धित वन समूहको कोष र २५ प्रतिशत रकम प्रदेश सञ्चित कोषमा जम्मा हुने गरेको उनको भनाइ थियो । जिल्लामा बंगलाचुली गाउँपालिकाबाट खोटो संकलन हुने गरेको छ । सामुदायिक वन समूहले जंगलमा रहेका सल्लाका रूखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरेर सामाजिक कार्यमा लगाउने गरेका छन् ।

वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षणसँगै खानेपानीका लागि धारा, बाटो र विद्यालय निर्माणमा तथा सामुदायिक वन सुधार कार्यमा लगाउने गरेको ओखलढुंगा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले बताए । उक्त वन समूहले जिल्लामा सबैभन्दा धेरै खोटो बिक्री गर्दै आएको छ । जिल्लामा सामुदायिक वनबाट संकलन भएको खोटो गंगा रोजिन एन्ड गम टर्पिनटाइन कम्पनीले प्रतिकेजी १२ रुपैयाँका दरले खरिद गर्ने गरेको छ ।

प्रतिक्रिया