तीनदिने खाद्य प्रशोधनसम्बन्धी तालिम सम्पन्न

जनकपुरधाम । साना उद्यमीलाई दिगो बनाउने र खाद्य गुणस्तरीयता बनाई सफल उद्यमी बनाउने उद्देश्यका साथ जनकपुरधाममा आयोजना गरिएको तीनदिने खाद्य प्रशोधनसम्बन्धी तालिम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको आयोजनामा सञ्चालन गरिएको तीनदिने प्रशिक्षण कार्यक्रममा साना उद्यमीहरूलाई विभिन्न किसिमको खाद्यसम्बन्धी घरेलु सामग्री बनाउने प्रशिक्षण दिइएको थियो ।

तालिमबाट प्रशिक्षित भएका उद्यमीलाई बुधबार जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र्र महासेठले प्रमाणपत्र प्रदान गरेका थिए । प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष महासेठले यस किसिमको तालिमले साना उद्यमीलाई जीविकोपार्जनमा सहयोग पुग्नुको साथै आत्मविश्वास पनि बढ्ने भएकोले तालिमबाट प्राप्त शिक्षालाई उपयोग गर्न सुझाव दिएका थिए ।

सहभागीले समूह बनाएर अगाडि बढे विनाधितो ऋण पाउने भएकोले मिलेर उद्योग सञ्चालन गर्न आग्रह गर्दै यसका जनकपुरधाम उद्योग वाणिज्य संघले भरसक सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । अध्यक्ष महासेठले जनकपुरधाममा महँगोमा पाइने तरकारीलाई सुपथ मूल्यमा पाउने वातावरणका लागि बजार सञ्चालनका लागि पहल सुरु गरेको बताउँदै साना उद्यमीहरूले उत्पादन गरेको सामग्रीलाई बजारसम्म पहुँच बनाउनका लागि शुक्रबारी बजारलाई प्रयोगमा ल्याउन जनकपुरधामका मेयरसमक्ष प्रस्तावसमेत राखेको बताए ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हस्तबहादुर राईले सहभागीहरूलाई सिकेका खाद्य वस्तुहरूलाई प्रयोगमा ल्याएर आआफनो उद्योग सञ्चालन गर्न आग्रह गरेका थिए । उनले यसबाट आत्मविश्वास बढनुका साथै आर्थिकरूपमा पनि सबल हुने भएकोले यसलाई प्रयोगमा ल्याउन सबैलाई आग्रह गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको खाद्य प्रशोधनसम्बन्धी तालिममा २० जना साना उद्यमीको सहभागिता रहेको थियो ।

कार्यक्रममा खाद्य निरीक्षक सतिशकुमार मण्डल, रत्नकान्त झा, प्रदीप संग्रोला, प्रमोद बुढाथोकी, खाद्य अनुसन्धान अधिकृत सुकृति गोर्खाली, खाद्य निरीक्षक प्रविण तिवारीले सहभागीलाई प्रशिक्षण दिएका थिए । तालिममा सहभागीलाई टोफु, मिक्सड अचार, टोमाटो सोस, टोमाटो केचप, गुटपात, ओरेन्ज स्कवास, पोटेटो चिप्स लगायतका खाद्यवस्तुहरू बनाउने लगायतको तालिम प्रदान गरिएको थियो ।

प्रतिक्रिया