रौतहटमा दुई हजारभन्दा बढीले पाए वंशजको आधारमा नागरिकता

रौतहट । जिल्लामा दुई हजारभन्दा बढीले वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाएका छन् ।
नेपाल सरकारले जन्मको आधारमा नेपाली नागरिकता प्रमाण पत्र पाएका बुवा आमाका छोराले वंशजको नाताले नेपाली नागरिकता पाउने भनी कानून पारित गरेपछि जन्मशिद्ध नागरिकको छोराछोरीले नेपाल नागरिकता प्रमाण पत्र पाएका हुन् ।

नागरिकता एेन पारित भएपछि नेपाली नागरिकताबाट बन्चित भएकाले अहिले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र लिन लागेको हो । जिल्ला प्रशासन कार्यालय रौतहटका सूचना अधिकारी प्रशासकीय अधिकृत मणिभूषण साहले रौतहटमा वंशजको आधारमा २ हजार ५५ जनालाइ नेपाली नागरिकता बितरण भई सकेको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय गौरबाट एक हजार ७२ जना, इलाका प्रशासन कार्यालय गरुडाबाट ६१२ जना तथा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट ३७१ जना जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता प्राप्त गरिसकेका छन् ।

सूचना अधिकारी साहले जन्मको आधारमा २०६३ सालमा नागरिकता लिएका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनमा कानूनी जटिलता देखा परिरहेको बताए । उहाले भने, ‘आमा र बुवाको नागरिकता हुनुपर्ने कानूनमा लेखिएको भए पनि नागरिकता लिन आउँदा आमाको भए बुवाको हुँदैन, बुवाको भए आमाको नागरिकता नहुँदा अन्यौलता उत्पन्न हुने गरेको छ ।’

उनले नागरिकता टोलीमा नेपाली नागरिकता लिए पनि जिल्ला प्रशासन कार्यालयमा अभिलेख नहुँदा समस्या हुने गरेकोले यसको विषयमा सरकारले प्रष्ट गर्नुपर्ने बताए । दाजु भाईमध्ये टोलीमा एक जनाले नागरिकता लिएको र एक जना नलिएको अवस्था रहेकाले छुटेकालाई कसरी नागरिकता दिने भनी पनि स्पष्ट कानूनी व्यवस्था नरहेकोले वितरणमा समस्या देखिएको उनले बताए ।

प्रतिक्रिया