सांगीतिक आकाशको एउटा नक्षत्र अस्त

वरिष्ठ गायक, गीतकार तथा मूर्धन्य संगीतकार भक्तराज आचार्यको आत्माले सोमबार महाप्रस्थान गरेको छ । उहाँको भौतिक शरीर मंगलबार साँझ पशुपति आर्यघाटमा खरानी भएको छ । भौतिक शरीर हामीमाझ नरहे पनि उनको स्वर भने नेपाल देश र नेपाली जातिको अस्तित्व यो धर्तीमा रहँदासम्म गुन्जिरहनेछ । भजन शिरोमणीका रूपमा चिनिने वरिष्ठ गायक आचार्य गत दसैँमा घरमै लडेपछि अस्वस्थ थिए । बेलाबेलामा अक्सिजनको सहारा चाहिन्थ्यो । सोमबार शरीरमा अचानक अक्सिजनको मात्रा घटेपछि उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालतर्फ लगिएको थियो । तर अस्पताल पु¥याउन नपाउँदै बाटोमै उनको निधन भयो । १९९९ असोज १६ मा धनकुटामा जन्मेका भजन शिरोमणि आचार्यको जीवन निकै नै उतारचढावपूर्ण रह्यो । एक वर्षको उमेरमै पिता गुमाउन पुगेका आचार्यको परिवारले चरम गरिबीको सामना गर्नुप¥यो । गाँसबासको खोजीमा उनकी आमा भारतको डुवर्स पुगिन् । आचार्य डुवर्समै हुर्के, उतै संगीत सिके । स्वदेश फर्केर गीत संगीतको सेवा गर्ने आफ्नो चाहना पूरा गर्न पनि उनले निकै ठूलो संघर्ष गर्नुप¥यो । २०३० सालमा ३१ वर्षको उमेरदेखि उनले स्वदेश फर्केर संगीतको सेवा गर्ने मौका पाए । तर, यो सेवा पनि १६ वर्षको अवधिमै टुंगियो । २०४६ साल दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाए । त्यसपछि उनी ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहे । उनी भजन शिरोमणिको उपनामबाट परिचित छन्, तर यो उपाधि राज्यले औपचारिक रूपमा दिएको छैन । जनस्तरबाट दिइएको उपाधि हो यो । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–संगीत क्षेत्रमै छन् ।

भक्तराज आचार्य नारायण गोपालका समकालीन गायक हुन् । नरायण गोपालले जीवन छँदै जनस्तरबाट स्वर सम्राटको उपाधि पाए पनि सरकारले भने मृत्युपर्यन्त मात्रै यो उपाधि दिएको थियो । भक्तराज आचार्यले जनस्तरबाट पाएको भजन शिरोमणिको उपाधिलाई सरकारले औपचारिकता दिन अब कत्ति पनि ढिलाइ नगरोस् । भजन शिरोमणि भक्तराजको निधनसँगै नेपाली सांगीतिक क्षेत्र यतिबेला शोकमा छ । भजन शिरोमणि भक्तराज आचार्यको निधनप्रति संगीतकर्मी, सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरूले समेत श्रद्धाञ्जली व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ‘जहाँ छन् बुद्धका आँखा, अब यो जादुमय स्वर इतिहास भएको छ । हार्दिक श्रद्धासुमन भजन शिरोमणि भक्तराज आचार्य, कालजयी भजन र गीतहरूमा तपाईं हामीमाझ अमर रहनुहुनेछ । तीन वर्ष अगाडिको उहाँसँगको भेट सम्झिरहेको छु ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–संगीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन् । मंगलबार नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री दाहालले उनको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे । उनले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे ।

आचार्यले करिब पाँच सय गीत गाए । प्रायः सबै गीत कालजयी छन् । सबै गीत तथा भजनहरू गीत तथा संगीत पारखीका लागि एक से एक छन् । त्यसमध्ये पनि मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत अत्यन्त लोकप्रिय छन् । यी अत्यन्त लोकप्रियमध्ये पनि ‘जहाँ छन् बुद्धका आँखा’ भन्ने गीत राष्ट्रप्रेमको भावनाले ओतप्रोत र ज्यादै नै मर्मस्पर्शी छ । यही गीतले नै उनलाई अमर बनाएको हो । जसरी आदिकवि भानुभक्तको नाम मोतिराम भट्टविना अधुरो हुन्छ, त्यसरी नै भक्तराज आचार्यको नाम डा.बमबहादुर थापा जितालीविना अधुरो हुन्छ । ‘जहाँ छन् बुद्धका आँखा’ भन्ने राष्ट्रिय गीत यस्तो छ कि, जो प्रत्येक नेपालीको मनमनमा बस्न सफल भएको छ । विश्वका कुनाकाप्चामा जे जति नेपालीहरू बस्छन् उनीहरूले सबैभन्दा धेरै सुन्ने गीत नै ‘जहाँ छन्, बुद्धका आँखा’ भन्ने राष्ट्रिय गीत हो । यो गीतका सर्जक हुन् छन्द सम्राट डा. बमबहादुर थापा जिताली । गायक चर्चाको शिखरमा पुग्दै गर्दा सर्जक ओझेलमा पर्ने नियतीको पनि अन्त्य हुनु जरुरी छ ।

प्रतिक्रिया