प्रभु बैंकको करोडौँ रकम लिएर भागेका कर्मचारी अझै भेटिएनन, बैंकले गर्यो ग्राहकको ६७ लाख फिर्ता

आठबिसकोट । रुकुमपश्चिमको आठविसकोट– ९ राडीबजारमा रहेको प्रभु बैंकका एक कर्मचारीले हिनामिना गरेको लाखौँ रकम बैंकले फिर्ता गरेको छ । उक्त बैंकको आठबिसकोट शाखाका अपरेशन इन्चार्ज पदमा कार्यरत निरजबिक्रम शाहले ग्राहकको खाताबाट हिनामिना गरेको ६७ लाख ९८ हजार रुपैयाँ बैंकले सम्बन्धित ग्राहककै खातामा फिर्ता गरिदिएको हो ।

बैंकका अनुसार आइतबार १४ जना ग्राहकको रकम उनीहरुकै खातामा फिर्ता गरिएको हो । अपरेशन इन्चार्ज शाहलाई मोबाईल बैंकिङ, कनेक्ट आइपिएस, नगद जम्माको लागि दिइएको रकम हिनाहिना गरेपछि पीडितले बैंकमा दबाब दिँदै आएका थिए । बैंकबाटै उनीहरुको रकम हिनामिना गरेको पाइएपछि सो रकम फिर्ता पाएको पीडितले बताएका छन् ।

बैंकको खातावालाहरु खले कामीको एक लाख, पदमकुमारी थापाको दुई लाख ५० हजार, सीता केसीको चार लाख ३८ हजार, मनबहादुर कुसारीको दुई लाख १६ हजार, कालीबहादुर बुढाको चार लाख ५० हजार, डिल्ली मल्लको ६ लाख ९९ हजार र नयनसिंह ओलीको सात लाख, जितबहादुर खत्रीको ६ लाख, रेखाकुमारी रावतको एक लाख ५० हजार, डण्डे कुसारीको आठ लाख, पीसजोन बोर्डिङ स्कुलको ९ लाख, शंकरबहादुर पुनको १० लाख १४ हजार, दलबहादुर ओलीको एक लाख ८१ हजार र बिमला ओलीको चार लाख रुपैयाँ उनीहरुकै खातामा जम्मा गरेको बैंकले जनाएको छ ।

करोडौँ रकम हिनामिनाको आरोप लागेका शाह भने अहिलेसम्म फरार छन् । बैंकमा रकम हिनामिना भएको गुनासोपछि बैंकका कर्णाली प्रादेशिक कार्यालय प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आन्तरिक छानबिन टोली आठबिसकोट आएको थियो ।

बैंकले कर्मचारी शाहविरुद्ध बैंकिङ कसुर शीर्षकमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा समेत दर्ता गरेको छ । उक्त मुद्दामा प्रारम्भिक छानबिनको क्रममा शाहले एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको जनाइएको छ । अन्य पीडितको रकमबारे छलफल भइरहेको बैंकले जनाएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया