आठबिसकोट । रुकुम पश्चिम आठबिसकोट नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना तथा पुनः निर्माणमा खटिएका साझेदार संघ संस्थाहरुसँग समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडामा केन्द्रविन्दु भएर गएको बिनासकारी भूकम्पको कारण आठविसकोट नगरपालिकामा ठूलो धनजनको क्षति भएपश्चात नगरपालिका भित्र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगी संघ–संस्थाहरुले राहत तथा पुनः निर्माण क्षेत्रमा काम गरिरहेका छन् ।
आठबिसकोट नगरपालिकाको आयोजना तथा अक्सफर्म नेपालको आर्थिक सहयोग र बीग्रुपको सहकार्यमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा पालिकाभित्र कार्यरत १६ वटा साझेदार संघ –संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी संघसंस्थाका प्रतिनिधिहरुले भूकम्प पश्चात प्रभावित क्षेत्रमा राहत तथा पुर्नस्थापनामा गरेका कामहरु र आगामी दिनहरुमा गर्ने कामको लक्ष्यका सम्बन्धमा आ–आफ्ना प्रस्तुति राखेका थिए ।
आठविसकोट नगरपालिकासँग प्रत्यक्ष सहकार्यमा रहेर काम गरिरहेका संघ–संस्थाहरुमा अक्सफाम नेपालको आर्थिक सहयोगमा भेरी वातावरणिय विशिष्टता समूह (बिग्रुप) रुकुम पश्चिम, नेपाल रेडक्रस सोसाइटी, बास नेपाल, नेपाल ग्रामिण पुनः र्निमाण संस्था, रुकुमेली समाज विकास केन्द्र, एस. के. एच., सोसेक नेपाल, सिएमसि नेपाल, युएनडिपी, टिपिओ, एचआरडिसी, सि. आर. एस. तथा कारितास नेपाल, ओरेक नेपाल, यार्सन नेपाल लगाएतका संस्थाहरु रहेका छन् ।
साझेदार संघ–संस्थाहरुले पहिलो चरणमा राहत तथा पुनर्स्थापनामा केन्द्रित रहेर काम गरेको र दोस्रो चरणको कार्यक्रम पुनर्निर्माणमा लक्षित रहेको आफ्ना प्रस्तुतिहरुमा राखेका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आठविसकोट नगरपालिकाका प्रमुख रवि केसीले भूकम्पले क्षति भएका आठविसकोट बासीका मनहरुलाई राहत तथा पुनः निर्माणमा आठविसकोट सरकारसँग हातेमालो गर्न आउने सम्पूर्ण संघ–संस्थाहरुलाई धन्यबाद व्यक्त गरे । केसीले नगरपालिकालाई परेको विपत्तीको सामना सरकारी स्तरबाट मात्रै गर्न सम्भव नभएको बेला संघ–संस्थाबाट राहत तथा पुर्नस्थापनामा पुर्याएको सहयोग अतुलनीय रहेको बताए ।
उनले भने, ‘अहिले गाउँ गाउँमा जुन सहजताको वातावरण सृजना भएको छ त्यो अवस्था ल्याउन संस्थाहरुको अविश्मरणीय भूमिका रहेको छ ।’ त्यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगरपालिकाका निमित्त प्रमूख प्रशासकिय अधिकृत इन्द्रबहादुर बिष्टले भूकम्पको पीडामा मलम लगाउने साझेदार संघ–संस्थाहरु धन्यवादका पात्र भएको बताए ।
बिष्टले सबै संघ–संस्थाहरुलाई आफ्नो कामको प्रगति विवरण नगरपालिकामा बुझाउन समेत आग्रह गर्दै अबको आवश्यकतालाई पहिचान गरेर सबै क्षेत्रको पुनः निर्माणमा सहयोग गर्न अनुरोध गरे । संघ–संस्थाहरुले गरेको कामको प्रगति प्रतिवेदन बुझाउदा सरकारी स्तरबाट योजना निर्माण गर्दा दोहोरो नपर्ने र प्रभावकारी हुने उनले बताए ।
आठविसकोट नगरपालिकाको हलमा भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता आठविसकोट नगरपालिका प्रमूख रवि के।सि।ले गरेका थिए भने कार्यक्रमको सञ्चालन विपद् सम्पर्क पर्सन मानबहादुर बटालाले गरेका थिए । कार्यक्रममा साझेदार संघ–संस्थाका प्रतिनिधिहरु, वडा अधयक्षहरु, गाउँ कार्यपालिका सदस्यहरु, गाउँपालिकाका कर्मचारीसहितको सहभागिता रहेको थियो ।
रुकुम पश्चिम
प्रतिक्रिया