कालिकोटकाे सुनथराली विमानस्थलमा परीक्षण उडान सफल

कालिकोट । सुनथराली विमानस्थल कालिकोटमा परीक्षण उडान गरिएको छ । आइतबार नेपालगञ्जबाट प्राविधिक टोलीसहित ९ जना यात्रु बोकेको तारा एयरको जहाजले विमानस्थलको परिक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले बताए ।

क्याप्टेन पिएस नगरकोटीले रनवे ३२ बाट अवतरण गराएका थिए भने रनवे १४ बाट उडान भरेका थिए । विमानस्थलको फागुन १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक रुपमा उद्घाटन गर्ने तयारी छ ।

झण्डै ३८ वर्षदेखि निर्माण सुरु भएको सुनथराली विमानस्थल निर्माण कार्य २०७९ साल माघ ११ गते सम्पन्न भएको थियो । २०४२ सालदेखि तत्कालीन जिल्ला विकास समितिद्वारा एक लाख रुपैयाँ छुट्याएर निर्माण कार्य सुरु भएको विमानस्थलको नियमितरुपमा आर्थिक वर्ष २०४८–०४९ बाट निर्माण कार्य सुरु भएको हो ।

हवाई विभागबाट आर्थिक वर्ष २०७३–०७४ को पहिलो चरणको अर्ध रनवे सम्पन्न भइ २०७३ साल माघ २९ गते तारा एयर विमानबाट ‘टेस्ट फ्लाइट’ गरिएको थियो । सुनथराली विमानस्थलमा जहाज आउने थाहा पाएपछि हजारौँको संख्यामा स्थानीयहरु विमानस्थल आएका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया