रुकुम पश्चिममा २८ हजार भूकम्प पीडितका अस्थायी आवास निर्माण

सबैभन्दा बढी आठबिसकोटमा ८ हजार

रुकुम पश्चिम । जाजरकोट भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ । गत कार्तिक १७ गते गएको भूकम्पले रुकुम पश्चिममा ठूलो मानविय तथा भौतिक क्षति पुर्याएको थियो । अहिले रुकुम पश्चिममा अस्थायी आवास निर्माणको लागि धमाधम काम भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लाभर सात हजार तीन हजार ९ सय १२ अस्थायी आवास निर्माणको चरणमा छन् । जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार ९ सय ६२ मध्ये अझै तीन हजार ९ सय २८ परिवारको अस्थायी आवास निर्माण हुन बाँकी रहेको र ती अस्थायी आवास निर्माण गर्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

भूकम्प पीडितका लागि जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार नौ सय ६२ लाभग्राहीका लागि स्थानीय विपद न्युनिकरण कोषमा रु २५ हजारका दरले रु ७९ करोड ९० लाख पठाईएको छ ।

स्थानीय विपद् कोषबाट ३० हजार दुई सय ३१ लाभग्राहीले रु २५ हजारका दरले ७५ करोड ७५ हजार रकम प्राप्त गरेका छन् । जिल्लामा कायम भएका लाभग्राही मध्ये एक हजार सात सय ३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

भूकम्पले सबैभन्दा बढी क्षति गरेको आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी आठ हजार ९ सय ३३ अस्थायी आवास निर्माण भएका छन् ।

त्यस्तै चौरजहारी नगरपालिकामा ६ हजार एक सय ९४ वटा, त्रिवेणी गाउँपालिकामा तीन हजार चार सय ९४ वटा, बाँफीकोट गाउँपालिकामा दुई हजार ९ सय ९३ वटा, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा सात सय ८ वटा अस्थायी आवास निर्माण भएको प्रशासनले जनाएको छ ।

आठबिसकोट नगरपालिकाले भने पहिलो किस्ता रकम पाइसकेका र अस्थायी आवास निर्माण गरेकाहरुलाई दोस्रो किस्ताको लागि फाइल तयार पार्न अनुरोध गरेको छ । साढे ९ हजार लाभग्राही कायम रहेको आठबिसकोटमा अस्थायी आवासको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया