एआईबाट सिर्जित सामग्री हेर्दा बाल यौन दुराचार हुन्छ कि हुँदैन ?

बीबीसी । ब्रिटेनमा आफ्नो विचार वा व्यवहारबारे चिन्तित व्यक्तिहरूलाई सहयोग गर्ने एउटा परोपकारी संस्थाले एआईद्वारा सिर्जित बाल यौन दुव्र्यवहारसँग सम्बन्धित दृश्यात्मक सामग्री हेर्नु अनैतिक हो कि हैन भन्ने थाहा नभएका मानिसको संख्या बढिरहेको बताएको छ । त्यस्ता मानिसले आफूसँग सम्पर्क गर्ने गरेको उसले जनाएको छ । लुसी फेथफुल फाउन्डेशन (एलएफएफ) ले एआईबाट उत्पादित तस्बिरहरूले वास्तविक दुव्र्यवहारतर्फ उक्साउने सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । एआईबाट बनाइने तस्बिरका बालबालिका काल्पनिक भए पनि ती सामग्री बनाउनु र हेर्नु गैरकानुनी रहेको बताइएको छ ।

एआई प्रयोग गरी बालबालिकाका आपत्तिजनक तस्बिर बनाएको अभियोगमा गिरफ्तार भएपछि नील (परिवर्तित नाम)ले एलएफएफको हेल्पलाइनमा सम्पर्क गरे । त्रिचालीस वर्षे नीलले बालबालिकाप्रति आफू यौनिक रूपमा आकर्षित नभएको दाबी गरेका छन् । उनी आईटीको क्षेत्रमा काम गर्छन् र एआई प्रयोग गरी काल्पनिक चित्र बनाएका हुन् । वास्तविक बालबालिकाका त्यस्ता तस्विर कहिल्यै नहेर्ने दाबी गर्दै एआई प्रविधिसँग प्रभावित भएर आफूले त्यस्तो कार्य गरेको उनको दाबी छ । आफ्नो धारणाबारे बुझ्न उनले एलएफएफमा फोन गरेका थिए । एलएफएफका कर्मचारीहरूले उनलाई बालबालिका वास्तविक नभए पनि उनको कार्य गैरकानुनी रहेको स्पष्टसँग बताइदिए । उक्त संस्थाले यस्तै अन्योलमा रहेका अन्य व्यक्तिहरूबाट पनि फोन आउने गरेको जानकारी दिएको छ ।

तस्बिर ‘साँचो’ नभए पनि खतरनाक

एक महिलाले आफ्नो २६ वर्षीय प्रेमीले एआईबाट सिर्जित बालबालिकाका ‘अभद्र सामग्री’ हेरेको थाहा पाएपछि एलएफएफलाई सम्पर्क गरिन् । तर उनले तस्बिर ‘वास्तविक नभएकाले’ आफू त्यति गम्भीर नभएको बताइन् । उनका प्रेमीले उक्त विषयमा सहयोग खोजेका छन् । एक शिक्षिकाले आफ्नो ३७ वर्षीय प्रेमीले एआईबाट सिर्जित गैरकानुनी लाग्ने खालका तस्बिर हेरेको र ती साँच्चै गैरकानुनी हुन् कि हैनन् त्यो भने थाहा नभएको भन्दै परामर्श मागिन् ।

एलएफएफका डोनल्ड फिन्ड्लेटरका अनुसार संस्थाको ‘स्टप इट नाउ’ हेल्पलाइनमा सम्पर्क गर्ने केही व्यक्तिले एआई तस्बिरहरूका कारण कानुनी र सामाजिक दृष्टिमा अनुचित मानिने कुराको सीमा धमिलो बनेको ठानेका छन् । ‘यो अत्यन्त खतरनाक विचार हो । बालबालिकालाई वास्तविक हानि नपुग्ने भएकाले त्यस्ता सामग्री हेर्न र बनाउन मिल्ने धारणा कसैकसैको हुन्छ। तर यो गलत हो,’ उनले स्पष्ट पारे ।

अपराध गर्न दुरुत्साहन

यौनबारे त्यस्तो विकृत परिकल्पनाका कारण यौन अपराधमा दोषी ठहरिएका व्यक्तिले पुनः अपराध गर्न सक्ने संकेत गरेको फिन्ड्लेटर बताउँछन् । ‘त्यस्तो विकृत परिकल्पनालाई बढाउँदै जानुभयो भने तपाईले साँच्चै बच्चाहरूलाई हानि पु¥याउन सक्नुहुन्छ,’ उनले भने ।

एलएफएफका अनुसार एआई तस्बिरका कारणले आफूले अपराध गरेको मान्ने व्यक्तिको संख्या अहिले कम तर समग्रमा बढ्दो क्रममा छ । उक्त संस्थाले समाजलाई यो समस्या रहेको स्वीकार गर्न र कानुननिर्माताहरूलाई बाल यौन दुराचार हुने खालका सामग्री (चाइल्ड सेक्शुअल अब्यूज मटिरिअल–सीएसएएम) बनाउन र अनलाइन प्रकाशन गर्न कठिन बनाउन आग्रह गरिरहेको छ ।

उक्त संस्थाले त्यस्तो सामग्री कहाँ पाइन्छ भनेर कुनै वेबसाइट विशेषको नाम तोकेको छैन । तर सिभिट डट एआई नामक साइटलाई प्रयोगकर्ताहरूलाई धेरै कम उमेरका मोडलहरूको यौनिक र आपत्तिजनक तस्बिर प्रकाशन गर्न दिएको आरोप लागेको छ । बीबीसीले उक्त कम्पनीसँग यस विषयमा गत नोभेम्बर महिनामा बुझेको जनाएको छ । उसले आफ्नो साइटमा सम्भावित सीएसएएमलाई निकै गम्भीर मान्ने गरिएको र नाबालिग पात्र वा व्यक्तिहरूलाई अनुपयुक्त अवस्थामा चित्रण गरिएका तस्बिरहरूबारे जानकारी दिन सबैलाई आग्रह गर्ने गरेको बताएको थियो ।

यूकेमा पनि अपराध हेर्ने राष्ट्रिय निकायका प्रमुख ग्र्याम बीगरले डिसेम्बरमा बाल यौन दुराचारका तस्बिर राख्ने अपराधीहरूलाई कडा सजाय दिइनुपर्ने बताएका थिए । एआईद्वारा सिर्जित तस्बिरका सन्दर्भमा बोल्दै उनले वास्तविक नभए पनि त्यस्ता सामग्री हेर्नाले कसैलाई बालबालिकामाथि यौन हिंसा गर्न दुरुत्साहन गर्न सक्ने बताएका थिए ।

‘बालबालिका नै बनाउँछन्’

बालबालिकाहरूले समेत गम्भीरता नबुझी बाल यौन दुराचारका सामग्री बनाइरहेको पनि एलएफएफ पनि जानकारी गराएको छ । उदाहरणका लागि, उक्त संस्थाको सम्पर्कमा आएका एक व्यक्तिले आफ्नो १२ वर्षे छोराले एआई एप प्रयोग गरी आफ्ना साथीहरूको नग्न तस्बिर बनाएको र त्यसपछि ‘नेकिड टीन’ भनी सर्च गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए । स्पेन र अमेरिकामा हालसालै ’डिक्लोथिङ’ एप प्रयोग गरेर आफ्ना सहपाठीहरूको नग्न तस्बिर बनाएकोमा केही किशोरकिशोरीविरुद्ध मुद्दा परेको छ । यो सामग्रीमा केही व्यक्तिको नाम उनीहरूको अनुरोधमा खुलाइएको छैन ।

एआईबाट बाल यौन दुव्र्यवहारका तस्बिर बनाउन नदिन माग

सन २०२३ मा बालबालिकाको क्षेत्रमा काम गर्ने एउटा अग्रणी परोपकारी संस्थाले यूकेका प्रधानमन्त्री ऋषि सुनकलाई एआईबाट निर्माण गरिने बाल यौन दुराचारसम्बन्धी तस्बिरहरूबारे ध्यानाकर्षण गराएको थियो । इन्टरनेट वाच फाउन्डेशन (आईडब्ल्यूएफ) ले इन्टरनेटमा भएका यौन दुव्र्यवहारसम्बन्धी सामग्रीहरू हटाउने गर्छ । उसले यसमा एआईमा आधारित तस्बिरहरू बढ्दो क्रममा देखिन थालेको जनाएको छ । आईडब्ल्यूएफ इन्टरनेटमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीको सक्रिय रूपमा खोजी गर्न अनुमति पाएको जम्मा तीनवटा परोपकारी संस्थामध्ये एक हो ।

एआई के हो ?

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अहिले विश्वभर निकै चर्चाको विषय बन्न पुगेको छ । नेपालमा समेत यसको प्रयोग दिनदिनै बढ्दै छ । एआई एक कृत्रिम बुद्धि हो । सरल भाषामा भन्नु पर्दा तपाईं हामीले दिएको कुरा मान्ने, बुझ्ने, स्थान, अनुहार चिन्ने र आफैँ सोचविचार गर्न सक्ने कृत्रिम बुद्धि नै एआई हो । यो मानिसको निर्देशन बुझ्ने, सो अनुसार काम गर्ने, मानिसलाई चिन्ने, गाडी आफैँ हाँक्ने, कुनै खेल निकै सोचविचार गरेर खेल्नेलगायत काम गर्न सक्ने मानव निर्मित कम्प्युटर प्रोग्राम हो । यसले मानिसलाई विभिन्न क्षेत्रमा अनेकौँ गुणा छिटो र गल्तीबिना धेरै काममा सघाउन सक्छ । मानिसमा भएको क्षमतालाई ‘प्रोग्रामिङ’ मार्फत मेसिनमा नक्कल गरिसकेपछि जब यसले मानिसले जस्तै सोच्न र क्रियाकलाप गर्न थाल्छ, तब त्यसलाई आर्टिफिसियल इन्टेलिजेन्स भनिन्छ । यस्तो कृत्रिम बुद्धिले मानिसलाई विभिन्न ज्ञान, सिपका क्षेत्रमा सहयोग गर्छ । एआईले मेसिनलाई सोच्न सक्ने र आफैँ निर्णय लिन सक्ने बनाउँछ । यो मानिसले बनाएको भए पनि मानिसभन्दा निकै गुणा तेज र बुद्धिमान छ । एआईमा आफैँ सिक्न सक्ने क्षमता हुन्छ, यो ‘डिप लर्निङ’ मा आधारित हुन्छ । अहिलेका स्मार्टफोनमा एआई प्रविधिको प्रयोग हुन थालेको छ । मोबाइलमा हुने फेस रिकग्निसन, थम प्रिन्ट स्क्यानरलगायत सुविधा एआई नै हो । मोबाइल गेममा पनि एआईको प्रयोग भइरहेको छ । जसमा कुनै साथीबिना एपको अर्को भर्चुअल खेलाडीसँग गेम खेल्न सक्छौँ । एआईले मेसिन लर्निङको सट्टा डिप लर्निङको सहायताले काम गर्ने गर्छ ।

एआईले कसरी सिक्छ ?

मेसिन लर्निङको केन्द्रमा प्रशिक्षण को एउटा प्रक्रिया हुन्छ । यसमा कम्प्युटर प्रोग्र्यामलाई ठूलो मात्रामा डेटा र त्यसको प्रयोगसम्बन्धी निर्देशन उपलब्ध गराइन्छ । कहिलेकाहीँ उक्त डेटाको अर्थ के हो भनी अझ विस्तृतमा खुलाउन ‘लेबल’ गरिन्छ । प्रयोगसम्बन्धी निर्देशन यस्तो हुन सक्छ : ‘अनुहार भएका सबै तस्बिरहरू पत्ता लगाऊ’ अथवा ‘यी ध्वनिहरूको वर्गीकरण गर ।’ त्यसपछि उक्त प्रोग्र्यामले तथ्यांकभित्र आफूले पूरा गर्नुपर्ने लक्ष्य प्राप्त गर्न उपयुक्त ‘प्याटर्न’ अर्थात् ढाँचा खोज्छ । यस क्रममा प्रोग्र्यामलाई थप घच्घच्याउनुपर्ने हुनसक्छ । उदाहरणका लागि, तपाईँले ‘त्यो अनुहार होइन’ वा ‘यी दुई ध्वनिहरू छुट्टै हुन्’ भनेर बताउनुपर्छ । प्रयोगात्मकले यी तथ्यांकबाट सिकेका कुरा र पाएका निर्देशनलाई एआई मोडल भनिन्छ ।

के एआईका कारण मानवजाति मासिन सक्छ ?

ओपनएआई र गुगल डीपमाइन्डका प्रमुखहरूसहित केही विज्ञहरूले आर्टिफिशल इन्टेलिजन्स (एआई) का कारण मानवजाति लोप हुन सक्ने चेतावनी दिएका छन् । उपकरणहरूले मानिसलाई विस्थापित गर्ने अवस्थासँग हामी कति नजिक छौँ त ?

एआईको प्रयोग गरेर प्रश्नहरूको उत्तर दिन वा प्रयोगकर्ताहरूको मागअनुसार लेख वा कोड सिर्जना गर्न प्रयोग हुने च्याटबट ‘च्याटजीपीटी’ सन् २०२२ को नोभेम्बरमा सञ्चालनमा आएदेखि इतिहासमै सबैभन्दा तीव्र रूपमा प्रयोगकर्ताहरू बढेको एप्लिकेशन बनेको छ । दुई महिनामा यसका सक्रिय प्रयोगकर्ता १० करोड पुगेका थिए । प्रविधि अनुगमन गर्ने कम्पनी सेन्सर टाउनका अनुसार इन्स्टाग्रामलाई सोही संख्यामा प्रयोगकर्ता हासिल गर्न साढे दुई वर्ष लागेको थियो । माइक्रोसफ्टको आर्थिक सहयोगमा ओपनएआई कम्पनीद्वारा विकसित च्याटजीपीटीको व्यापक लोकप्रियतापछि मानवजातिको भविष्यबारे आर्टिफिशल इन्टेलिजन्सको प्रभावबारे विभिन्न आकलन हुन थालेको छ ।

च्याटबट के हो ?

च्याटबटलाई एउटा सुगाजस्तै सोच्नुहोस् । यसले आफूले सुनेका शब्दहरूलाई तिनको पूरा अर्थ थाहा नपाईकनै पनि केही हदसम्म सन्दर्भ बुझेर मान्छेको बोलीको अनुकरण गर्दै ती शब्द दोहोर्याउन सक्छ । च्याटबटले पनि त्यही गर्ने हो, तर थप सुझबुझसहित च्याटबटहरू लिखित शब्दसँगको हाम्रो सम्बन्धलाई बदल्ने तहमा पुगेका छन् । तर कसरी लेख्ने भनेर चाहिँ च्याटबटहरूलाई कसरी थाहा हुन्छ ? यिनीहरू ‘लार्ज ल्याङ्विज मोडल’ वा एलएलएम भनेर चिनिन्छन् । यस प्रकारको एआईलाई अत्यधिक ठूलो परिमाणको पाठ्य सामग्रीसहित तालिम दिइएको हुन्छ । एलएलएमले शब्द मात्र नभई पूर्ण वाक्य पनि बुझ्छ र एउटा पाठ्यांशमा प्रयुक्त पद तथा पदावलीलाई आफ्नो तथ्यांक संग्रहभित्रको अन्य पाठ्यांशसँग तुलना गर्छ । अर्बौँ पटक यस्तो तुलना गर्दा यसले प्रश्न पढ्न र उत्तर लेख्न सक्छ ।

च्याटजीपीटीको अधिक प्रयोगले निम्त्याउने जोखिम

च्याटजीपीटीको अधिक प्रयोगसँगै यसले निम्त्याउने सुरक्षा जोखिमबारे चर्चा सुरु भएको छ । दर्जनौँ विज्ञहरूले ‘सेन्टर फोर एआई सेफ्टी’को वेबपेजमा प्रकाशित एक विवरणमा सहमति जनाउँदै भनेका छन्, ‘एआईका कारण लोप हुने जोखिम न्यूनीकरण गर्नु महामारी र पारमाणविक युद्धजस्ता अन्य सामाजिक स्तरका जोखिमहरू कम गर्नुसरह विश्वव्यापी प्राथमिकता हुनुपर्छ ।’ यद्यपि अन्य केहीले भने यसबारे आवश्यकताभन्दा बढी डर फैलिएको टिप्पणी गरेका छन् ।

मानिसको नक्कल

च्याटजीपीटी, डाल–ई, बार्ड र अल्फाकोडजस्ता एआई प्रयुक्त सफ्टवेअरद्वारा सिर्जित (निबन्ध, कविता र चुट्किलादेखि कम्प्युटर कोडसम्मका) लेख र (रेखाचित्र, तस्बिरहरू र कलाकृतिजस्ता) चित्रहरू मान्छेको रचनाबाट केकति फरक छन् भनेर सहजै खुट्ट्याउन सकिँदैन । तिनलाई विद्यार्थीहरूले गृहकार्य लेख्नदेखि राजनीतिज्ञहरूले भाषणहरू लेख्नसम्म पनि प्रयोग गरेका छन् । डेमोक्रेटिक नेता जेक असिनक्लोसले अमेरिकी संसद्मा उक्त प्रविधि प्रयोग गर्न थालेका थिए । प्रविधिसम्बन्धी प्रसिद्ध कम्पनी आईबीएमले आफ्ना ७,८०० पदमा मानिसलाई भर्ती गर्न बन्द गर्ने र ती काम एआईद्वारा गर्ने बताएको छ । हामी एआईको पहिलो चरणमा मात्र छौँ । यसका अझै दुई वटा चरणहरू आउन बाँकी छन्, जसले मानव अस्तित्वलाई खतरामा पार्ने केही वैज्ञानिकहरूको अनुमान छ ।

एआई प्रयोग गरेर शक्तिशाली एन्टीबायोटिक पत्ता लाग्यो

अमेरिकामा वैज्ञानिकहरूले अत्यन्त खतरनाकमध्येका केही थरी ब्याक्टेरियालाई नष्ट गर्न सक्ने क्षमता भएको नयाँ किसिमिको शक्तिशाली एन्टीबायोटिक पत्ता लगाउन आर्टिफिशल इन्टेलिजन्सको सहयोग लिएको बताएका छन् । विज्ञहरूले यसलाई ठूलो उपलब्धि मानेका छन् । एमआईटी संस्थाका अनुसन्धानकर्ताहरूले ब्याक्टेरियालाई मार्न सक्ने अणुहरू पहिचान गर्न एल्गरिदमलाई प्रशिक्षित गरेका छन् । उक्त ज्ञानको सहयोगबाट उनीहरूले मानिसलाई लाग्ने विभिन्न रोगको उपचारमा प्रयोग हुने ६,००० भन्दा धेरै थरीका यौगिकको अध्ययन गरे ।

त्यसपछि केही घण्टामै उक्त एल्गरिदमले ह्यालिसीन नामक यौगिकको शक्तिशाली एन्टीबायोटिकको रूपमा सम्भाव्यता उजागर गरिदियो । वैज्ञानिकहरूको नयाँ खोजलाई विज्ञहरूले औषधिप्रतिरोधसम्बन्धी समस्या समाधानतर्फ महत्त्वपूर्ण विकास भनेर स्वागत गरेका छन् । उक्त एल्गरिदमको सहयोगमा वैज्ञानिकहरूले केही दिनभित्रै दशौँ करोड रासायनिक यौगिकको विश्लेषण गर्न सके । नयाँ पत्ता लागेको यौगिकले घातक हुन सक्ने ३५ थरी ब्याक्टेरियालाई मार्न सकेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

प्रतिक्रिया