कला, संस्कृति तथा साहित्य महोत्सव हुने

झापा । कला, साहित्य तथा संस्कृतिको प्रवर्धन गर्ने लक्ष्यका साथ महोत्सव हुने भएको छ । कनकाई नगरपालिका, सुरुङ्गामा फागुन १४ देखि १६ गतेसम्म ‘कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव’ हुने भएको हो । रोटरी क्लब अफ सुरुङ्गाले आयोजना गर्ने तीन दिने महोत्सवमा स्थानीय साहित्य गोष्ठी, झापा जिल्ला स्तरीय साहित्य तथा राष्ट्रिय साहित्य गोष्ठी गरी तीन स्तरका विभिन्न कार्यक्रम गरिने भएको छ । स्थानीय कला र संस्कृति झल्किने विभिन्न झाँकीसहित साथ नगरपरिक्रमा गरी उद्घाटन हुने र दर्जनौँ कवि, कलाकार, हास्यकलाकार, गायक तथा संस्कृतिकर्मीको महोत्सवमा उपस्थिति रहनने आयोजकले जनाएको छ । आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले महोत्सवमा हरेक दिन बिहानदेखि साँझसम्म कला प्रदर्शनी, पुस्तक मेला, पुस्तक डोनेसन, वेशभूषा प्रदर्शनी, व्यावसायिक प्रमोसन, सांस्कृतिक कार्यक्रम, स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण आदि कार्यक्रमसमेत रहेको बताए ।

उनले स्थानीय तहको साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय स्तरका प्रतिभाहरूसँग जोडेर प्रचारप्रसार गर्ने र नयाँ पुस्तालाई कला, साहित्यसम्बन्धी सचेतना बोध गराउँदै सिर्जनात्मक कार्यमा लाग्न उत्प्रेरित गर्ने उद्देश्यका साथ सुरु गरिएको महोत्सवमा विभिन्न चरणका प्रशिक्षणात्मक कार्यक्रमहरूसमेत हुने सुनाए । उनका अनुसार पहिलो दिन १४ गते महोत्सवको उद्घाटनपछि छ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थी लक्षित ‘कविता लेखन प्रशिक्षण कार्यक्रम’को आयोजना गरिने छ भने दोस्रो दिन विभिन्न विद्यालयका शिक्षक, स्थानीय स्रष्टा तथा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थी लक्षित ‘कविता लेखन प्रशिक्षक प्रशिक्षण कार्यक्रम’को आयोजना गरिने छ । यस्तै, तेस्रो दिन १२ वर्षमुनिका बालबालिकाका बिचमा अग्रज कविहरूद्वारा लिखित छन्दकविताहरूको वाचन कार्यक्रम राखिएको छ । यी तीनवटै प्रशिक्षणमूलक कार्यक्रमको सहजीकरण सिर्जनात्मक लेखनका केन्द्रीय प्रशिक्षक कवि तथा समालोचकद्वय प्रा.डा. देवी नेपाल र प्रा.डा. रामप्रसाद ज्ञवालीले गर्ने आयोजकले जनाएको छ ।

समालोचकद्वय प्रा.डा. देवी नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा सामाजिक कार्यहरूमा अतुलनीय योगदान दिँदै आएको रोटरी क्लबजस्तो संस्थाले साहित्यिक तथा सांस्कृतिक महोत्सव नै आयोजना गर्नु अत्यन्त प्रशंसनीय कार्य भएको बताए । उनले ऐतिहासिक काम गरेर आयोजकले समाजमा सकारात्मक सन्देश दिएको सुनाए ।

प्रतिक्रिया