फागुन १८ देखि जीतपुर सिमरा एक्स्पो

बारा । पथलैया–वीरगन्ज औद्योगिक करिडोरको बजनीमा यही फागुन १८ गतेदेखि ‘जीतपुर सिमरा एक्स्पो’ हुने भएको छ । जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा ‘कृषि, पर्यटन, खेल उद्योग र व्यापार, मधेश समृद्धिको मुख्य आधार’ भन्ने नारासहित एक्स्पो सञ्चालन हुन लागेकोे हो ।

११ दिन सञ्चालन हुने एक्स्पोमा स्थानीयलगायत करिडोरमा सञ्चालित बहुराष्ट्रिय कम्पनीदेखि ठूला उद्योगले आफ्ना उत्पादन प्रर्दशनी र बिक्रीमा राख्ने छन् । संघका अध्यक्ष मोहन शर्माले एक्स्पोले स्थानीय उत्पादन प्रवद्र्धनमा मद्दत पुग्ने, कृषिका विभिन्न उत्पादनको क्षेत्र पहिचान हुने, मधेशको पर्यटन क्षेत्र स्थानसहित परिचय खुल्ने, लघु उद्यम, र मौलिक संस्कृतिको ठूलो पहिचान बन्ने दाबी गरे ।

एक्स्पोले व्यावसायिक क्षेत्रलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा लिएका अध्यक्ष शर्माले सुस्त बनेको व्यावसायिक क्षेत्रलाई एकै थलोमा उभ्याउने र उर्जा थप्ने गरी प्रवद्र्धन तथा प्रोत्साहन गर्न एक्सपो आयोजना गरीएको बताए ।

मधेश प्रदेशका विभिन्न उत्पादनसहित देशका अन्य उत्पादनले समेत करिब दुई सय स्टलमार्फत एक्स्पोमा प्रर्दशनी र बिक्री गर्ने बताइएको छ । करिब ५ करोडको व्यापार लक्ष्य राखेको एक्स्पोमा एक लाख भन्दा बढी सहभागी हुने र सञ्चालनमा एक करोड खर्च हुने संघका महासचिव प्रकाश गिरीले जानकारी दिए । करिडोरको मुख्य सडक छेउमै सञ्चालन हुने एक्स्पोको अवलोकन गर्न स्थानीयबाहेक कलैया, निजगढ, वीरगन्ज र हेटौडालगायतका सहरबाट सर्वसाधारण आउने संघको दाबी छ ।

एक्स्पोमा आर्थिक, शैक्षिक, पर्यटन, कृषिलगायत विभिन्न क्षेत्रको प्रदर्शनी रहनेछ । अवलोकन गर्न आउने सहभागीले प्रर्दशनीमा राखिएका व्यावसायिक क्षेत्रका बारेमा बुझ्न सक्नेछन् भने दैनिकरुपमा हुने सांस्कृतिक कार्यक्रम, विभिन्न खेलकुद, कुस्ती प्रतियोगिता, बाल उद्यानलगायतबाट मनोरञ्जन गर्न सक्नेछन् । बारा–पर्सा औद्योगिक करिडोरका सभापति सञ्जय साहले सो क्षेत्रमा पहिलो पटक हुन लागेको एक्पोले स्थानीय व्यापार प्रर्बद्धन हुने बताए ।

प्रतिक्रिया