स्वास्थ्य उपचार शुल्क निर्धारण र नियमन नै छैन – डा. तोसिमा कार्की

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले राज्यले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएको बताएकी छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद कार्कीले नुनदेखि सुनसम्मको मूल्य तोक्दा स्वास्थ्यजस्तो गम्भीर र संवेदनशील विषयमा सरकारले शुल्क नलिएर अस्पतालहरूले शुल्क लिने गरेको बताएकी हुन्। ‘कुन उपचार, कुन परीक्षणको कति लाग्छ भन्नेमा न शुल्क निर्धारण छ न त नियमन नै। अस्पताल र प्रयोगशालाहरूले आफूखुशी शुल्क तोकिरहेका हुन्छन्। निजीमात्र होइन सरकारी अस्पतालमा समेत शुल्कको एकरूपता छैन,’ उनले भनिन् ।

संविधानको प्राबधानअनुसार नागरिकले कस्तो उपचार कति रूपैयाँमा हुन्छ र त्यसका जोखिमहरू के-के हुन्छन् भनेर सबै नागरिकले जानकारी पाउनुपर्न उनले बताइन् । हरेक सेवा शुल्कबारे नागरिक बडापत्र बनाएर सबैले देख्ने ठाउँमा राख्नुपर्छ नियम भएपनि अधिकांश अस्पतालले यो नियमको पालना नगरेका उनले बताइन् ।

‘कतिपय अस्पतालमा पैसा तिर्ने झ्यालमा पुगेपछि थाहा हुन्छ कुन उपचारको कति पैसा पर्छ भनेर । त्यो पनि अस्पतालपिच्छे फरकफरक छन्,’ उनले भनिन् । सांसदक कार्कीले भिडिओ एक्स-रे एउटै टेस्टको शुल्क ५ सयदेखि २५ सयसम्म लिइने गरेको पाएको बताइन् । ल्याब टेस्ट र अपरेशन शुल्कमा स्थिति अझै बिकराल रहेको उनको दाबी छ ।

‘पित्तथैलीको अपरेसन गर्नलाई, एपेन्डिक्स फाल्ने अपरेसन गर्न ३० हजारदेखि डेढ लाख तिरिरहेका हुन्छन् नागरिकहरूले । एकै देशमा एउटै प्रबिधिबाट गरिने उस्तै उपचारको शुल्क कन अस्पतालपिच्छे फरक छ? यसको मापदण्ड खोई ?,’ उनले भनिन् ।

अहिले पैसा हुनेले सहज उपचार पाउने र पैसा नहुनेले सस्तो कहाँ पाउँछ भनेर भौँतारिँदै हिँड्नुपर्ने अवस्था रहेको उनले बताइन्। ‘छटपटाइरहेको बिरामीले कहाँ सस्तो उपचार पाउँछु भन्दै भौँतारिनुपर्ने अनि मौलिक हक अधिकार सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौं भनेर भाषणमा कुर्लिरहने ?,’ उनले भनिन् ।

प्रतिक्रिया