काठमाडौं । नेपाल र जर्मनीका कलाकारहरूको सहभागितामा ‘कनेक्टिङ कल्चर थ्रु आर्टस्’ कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा माघ २२ र २३ गते भएको ‘अन्तर्राष्ट्रिय कला कार्यशाला २०२४’ मा रचना गरिएका कलाकृतिको प्रदर्शनी मंगलबारबाट सुरु भएको हो । प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले गरिन् ।
कार्यक्रममा राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले यस्ता खालका कार्यक्रमले नेपाल जर्मनबीच मित्रता कायम राख्न ठूलो भूमिका खेल्ने धारणा राखिन् । उनले कला र संस्कृतिले जनस्तरको सम्बन्धलाई मजबुत बनाउने भएकाले प्रदर्शनीको सफलता हुने बताइन् । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस कार्यक्रमले नेपाल र जर्मनीबीचको सम्बन्ध अझ प्रगाढ बढाउने बताए । उनले भने, ‘हामी जर्मनी नपुगे पनि यस्ता कार्यक्रमको माध्यमबाट अर्को देशको कला र संस्कृतिलाई बुझ्ने मौका मिलेको छ ।’
कार्यक्रममा जर्मन कलाकार अलेक्जन्डर इलिजर, डिरक निबरगल तथा अलेक्जन्डर बिसी बोटिङबगले कार्यक्रमका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद दिँदै र आफूहरू यस कामबाट खुसी भएको बताइन् ।
प्रतिष्ठानका परिषद् सदस्य संजय वान्तवा राईले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन यो प्रदर्शनी सफल हुने बताए । प्रदर्शनीमा नेपालबाट नारदमणि हार्तम्छाली, लालकाजी लामा, देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ, संगी श्रेष्ठ, जुपिटर प्रधान, कृष्णप्रकाश शाह, मुकेश मल्ल, रमेशनाथ खनाल, रविनकुमार कोइराला, धनबहादुर याखा, जीवन राजोपाध्याय, नवीन्द्रमान राजभण्डारी, कीर्तिकौशल जोशी, केशव राज खनाल, मुकेश श्रेष्ठ, नारायणप्रसाद बोहजु, प्रमिला बज्राचार्य, सम्झना राजभण्डारी, किरण सिगु, जुजुकाजी श्रेष्ठ ‘प्रभात’, नेमबहादुर तामाङ, सफलराम श्रेष्ठ, सुयोग महर्जन, हरि बम्जन, कृति चन्द शाह, सुनैना ठाकुरसँगै जर्मनीका कलकारहरू बोटी हान्स हर्मन बोटिङबग, हेल्गे अचेनबग, अलेक्जन्डर इलिजर, इलाउज फोटिङगर, बर्न जिम्मर, डेनियल जर्बस्ट, कास्टेन फक, अर्मिन बौमगाटेन, सुसाने काम्प्स लगायतको सहभागिता थियो । जर्मनीका कलाकारहरू ‘नेपाल आर्ट एक्सचेञ्ज’ को सिलसिलामा नेपाल आएका हुन् । कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत हनान गोदर र जर्मनीका राजदूत डा. थोमस प्रिन्जको समेत उपस्थिति रहेको थियो । प्रदर्शनी फागुन १४ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया