बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलोपटक जीतपुरसिमरा महोत्सव हुने भएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर पहिलो जीतपुरसिमरा एक्स्पो र जीतपुरसिमरा महोत्सव २०८० फागुन १८ देखि २९ गतेसम्म हुन लागेको जनाएको छ । जीतपुरसिमरा उपमहानगरको–३ बजनीमा महोत्सवको आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
जीतपुरस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर कृषि र पर्यटनलाई प्राथमिकता दिएर जीतपुरसिमरा महोत्सव हुन लागेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए । ‘कृषि पर्यटन, खेल उद्योग र व्यापार जीतपुर सिमरा बारा–मधेस समृद्धिको आधार’ भन्ने नारासहित फागुन १८ देखि २९ गतेसम्म महोत्सव चल्नेछ । संघका अनुसार महोत्सवको आवश्यक तयारी भइरहेको छ’, उनले भने ।
महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा दुई सय स्टल रहनेछ भने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवर्धन एकै थलोबाट गरी यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पु¥याउने रहेको छ । महोत्सवमा सबै जातजाति भाषा संस्कृति झल्किने नृत्य गायन कार्यक्रम, नगरपालिकाभित्र रहेका विद्यालयका विद्यार्थीहरूबीच नृत्य आइडल, व्यावसायिक स्टल र नेपाली सेना आर्मीको विशेष कार्यक्रमहरू समावेश गरिएको बताइएको छ ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको जीतपुरसिमरा महोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिकाले समेत सहयोग गर्ने भएको छ । जीतपुरसिमरा उपमहानगरसहित वडा र उद्योगसँग समन्वय गरेर महोत्सवको आयोजना गरिएको संघका महासचिव प्रकाश गिरीले पत्रकार सम्मेलनमा जानकारी दिए । फागुन १९ देखि हुन् लागको महोत्सवमा विद्यार्थीहरूको लागि २५ रुपैयाँ, वृद्धवृद्धालाई निःशुल्क तथा युवाहरूसँग ५० रुपैयाँ प्रवेश शुल्क लिने आयोजकले जनाएको छ ।
महोत्सवमा स्टल राख्नका लागि आठ हजारदेखि २५ हजारसम्म शुल्क लाग्ने र स्थानीय व्यवसायीको हकमा छुटको समेत व्यवस्था गरिएको संघका अध्यक्ष लामिछानेले बताए । आयोजकले महोत्सवको कुल लागत करिब ८३ लाख रहेको बताएको छ । अपांगता र वृद्ध वृद्धाका लागि निःशुल्क प्रवेश तथा महोत्सव अवलोकनको व्यवस्था मिलाइएको छ । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसमेत रहनेछ । महोत्सव सञ्चालनका लागि विभिन्न विधागत समितिसमेत निर्माण गरिएको छ ।
बारा
प्रतिक्रिया