जोखिमका बेला पत्रकार र महामारीमा रेडियो !

तीन वर्षअगाडि लकडाउनका कारण धेरै पत्रकारले रोजगारी गुमाए । तर, समग्रमा नेपाली सञ्चार जगतले कोरोनाको जनचेतना अभिवृद्धि गर्न ठूलो भूमिका खेलेका थिए । अझ प्रदेश÷प्रदेश, जिल्ला÷जिल्लामा रहेका स्थानीय रेडियोले नागरिकलाई विभिन्न जनचेतनामूलकसम्बन्धी जानकारी निरन्तर दिइरहे । स्थानीय भाषा र लवजमा नेपालमा आएको विभिन्न महामारीबाट जस्तै कोभिड–१९ बाट कसरी बच्ने भनेर हात धुने, मास्क प्रयोग गर्ने तरिका मात्रै रेडियोले सिकाएनन्, सुरक्षित क्वारेन्टाइनबारे निरन्तर वकालत गर्ने काम गरे ।

उमेशकुमार साह

सूचना प्राप्त गर्नु, नागरिकको मौलिक अधिकार हो । पछिल्लो समयमा सूचना र प्रविधिको जति धेरै विकास भइरहको छ, त्यति नै आमसञ्चार र पत्रकारिता क्षेत्रमा पनि छलफल र बहसहरू हुने गरेका छन् । पेसाको हिसाबले पत्रकारिता आफैँमा एक मर्यादित पेसा हो । तर, पनि यसमा उब्जने प्रश्न र आमनगरिकको बुझाइले यो बहसको विषय बन्नु स्वभाविक हो ।

हरेक व्यक्तिका सामाजिक जीवनका आयाम र त्यसका पाटाहरू फरक फरक हुने गर्दछन् । हामी जुन सामाजिक कार्यमा संलग्न भएका हुन्छौँ, ती कार्यमा संलग्न हुँदैमा मात्र सामाजिक उत्तरदायित्व पूरा हुँदैन । काम र पेसा फरकफरक भए पनि त्यसभित्रका भोगाइ र पीडा आआफ्नै हुन्छन् । फरक यत्ति हो, ‘लेख्नेको कथा बन्छ, भोग्नेको व्यथा बन्छ ।’ कथा सुनिन्छ÷पढिन्छ, व्यथा भोगिन्छ÷पिरोलिइन्छ । बस्, आफँैभित्र गुम्साएर राख्नुपर्छ ।
पत्रकारिता जति मर्यादित मानिन्छ, त्यति नै आफैँमा चुनौतीपूर्ण पेसा पनि हो । हाम्रो पद, पेसा र भूमिकासँगै जिम्मेवारी र कर्तव्य पनि सँगै जोडिएका हुन्छन् । अग्रपंक्तिमा खटिएर सूचना र चेतनाको पैरवी गर्ने पत्रकार स्वभाविक रूपमा पनि अझै बढी जिम्मेवार र उत्तरदायी बन्नुपर्ने हुन्छ । तीन वर्ष अगाडि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले पत्रकारको पेसा र सामाजिक जीवनलाई झनै कष्टकर बनायो । त्यो महामारीको असरले अहिलेसम्म पत्रकार जोखिममा छन् ।

महामारीको विकराल अवस्थामा पनि आफ्नो कर्तव्य र जिम्मेवारीबाट विमुख नरही निरन्तर जिम्मेवारी बोध गर्दै कार्यक्षेत्रमा खटिएर कार्य सम्पादन गर्नु अवश्य पनि कम चुनौतीपूर्ण थिएन । आफ्नो कर्तव्य र जिम्मेवारीकै लागि अग्र पंक्तिमा खटिएर काम गर्दा देशका थुप्रै पत्रकार विभिन्न संक्रमित भए, कति पत्रकारले ज्यानसमेत गुमाए । यसरी जोखिम मोलेर कार्य सम्पादन गरिरहँदा पनि सबै पक्षबाट स्यावासी र जस मात्र पाइन्छ भन्ने होइन् । अपजस र आरोपको सामना गर्नुपर्छ ।

राम्रो कामको मूल्यांकन समाजले एक दिन अवश्य गर्छ, इतिहास त्यसको साक्षी अवश्य रहन्छ नै । त्यसैले कर्म गर्ने मान्छेले फलको आशा गर्दैन, सधँै कर्ममा विश्वास गर्छ । हाम्रो कामको प्रतिफल र परिणामलाई समाजले कसरी हेरेको छ, मूल्यांकन गरेको छ ? के हाम्रो पेसा र हाम्रो कार्यकुशलता उत्तरदायीपूर्ण छ ? हामीले समाजको अझै बढी जिम्मेवारी र उत्तरदायित्व कसरी बहन गर्न सक्छौँ ? त्यसमा असल पत्रकारको भूमिका कस्तो रहने ? यी प्रश्नहरूमा हाम्रो ध्यान जान आवश्यक छ ।

२०७२ सालको भूकम्प, ६ वर्षअघिको तराईको डुबान र तीन वर्ष अघिको कोरोनाले निम्त्याएको संकटमा नेपाली सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेका छन् । नेपाली सञ्चारमाध्यमले यस्ता विपत्तिका साथै कोभिड–१९ को महामारीविरुद्ध लड्न खेलेको जोखिम भूमिकालाई विश्वसमुदायले प्रशंसा गरेको छ । विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय पत्रकार संगठनले नेपाली सञ्चारकर्मीले आफूलाई जोखिममा राखेर समुदायलाई बचाउने काममा सक्रिय भएको बताएका छन् ।

नेपाली पत्रकारले उचित सेवा÷सुविधा पाउन नसके पनि कामलाई पहिलो प्राथमिकता दिने गरेका छन् । तीन बर्ष अगाडि लकडाउनका कारण धेरै पत्रकारले रोजगारी गुमाए । तर समग्रमा नेपाली सञ्चार जगतले कोरोनाको जनचेतना अभिवृद्धि गर्न ठूलो भूमिका खेलेका पाइएको छ । अझ प्रदेश÷प्रदेश, जिल्ला÷जिल्लामा रहेका स्थानीय रेडियोले नागरिकलाई विभिन्न जनचेतनामूलकसम्बन्धी जानकारी निरन्तर दिइरहे । स्थानीय भाषा र लवजमा नेपालमा आएको विभिन्न महामारीबाट जस्तै कोभिड–१९ बाट कसरी बच्ने भनेर हात धुने, मास्क प्रयोग गर्ने तरिका मात्रै रेडियोले सिकाएनन्, सुरक्षित क्वारेन्टाइनबारे निरन्तर वकालत गर्ने काम गरे । विभिन्न समस्यामा रेडियोको स्टुडियोबाटै टेलिफोनमार्फत पीडित र सरोकारवालालाई सजिलै जोडेर समस्याको समाधान गर्ने काममा पनि नेपाली सञ्चार माध्यम पछि परेन् । प्रत्यक्ष भेटेर अन्तर्वार्ता लिँदा जोखिम हुने भएकाले पनि रेडियोहरूले टेलिफोनलाई नै बढीभन्दा बढी प्रयोग गरेर समाचार संकलन गरे ।

सामुदायिक रेडियोहरूले २८ भन्दा बढी भाषामा विभिन्न जनचेतनामूलकसम्बन्धी जानकारीहरू प्रसारण गरे । सेरकास्ट र अन्य सर्वेक्षण गर्ने संस्थाहरूको तथ्यांक हेर्ने हो भने कोभिड–१९ को महामारीका बेला ७० प्रतिशत मानिसले कोरोनासम्बन्धी जानकारी रेडियोबाट लिने गरेको बताएका छन् । नेपालमा मात्रै होइन, भारत, बेलायत, अमेरिकामा भएका मिडिया सर्वेक्षणले रेडियोका स्रोता ३० प्रतिशतले वृद्धि भएको देखाए । एसिनेल्सनको सर्वेक्षणले पनि रेडियोको स्रोता ३५ प्रतिशतले बढेको बताएको छ । भारतीय रेडियो सञ्चालकहरूको संस्था एआरओआइले गरेको सर्वेक्षणअनुसार भारतमा ८२ प्रतिशतले रेडियो सुन्न थालेका छन् । नेपाली पत्रकारले सेवा÷सुविधा पाउन कठिन भए पनि कामलाई पहिलो प्राथमिकता दिने गरेका छन् ।

अन्य सामान्य समयमा पनि स्रोताले मनोरञ्जन र सूचनाका लागि एफएम रेडियो बढी सुन्ने गरेका सर्वेक्षणले देखाएको छ । स्थानीय रेडियोले पनि विज्ञापन गुमाएका छन्, आर्थिक मार भोग्नुपरेको छ । तर धेरैजसो स्थानीय सामुदायिक रेडियोमा स्वयंसेवी तरिकाले संकट मिलेर सामना गर्नुपर्छ भन्ने भावना देखियो । सामुदायिक रेडियो कोरोनाकै कारण कुनै पनि बन्द भएनन् । एक जना रेडियो पत्रकार पनि निकालिएनन् । यसले विश्व मिडिया समुदायलाई नै उदाहरण प्रस्तुत गरेको छ । शिक्षालयको भर्ना खुल्ने बेलामा भएको कोरोना महामारीले यस्तो विज्ञापन रेडियोमा बज्न पाएनन् । यस्तै कारणले रेडियोले करिब ७० प्रतिशत आम्दानीको स्रोत गुमाए । त्यसपछि रेडियोले आफ्नो रणनीति परिवर्तन गरे । रेडियो कार्यक्रममार्फत दूर शिक्षाका कक्षा सञ्चालन गर्न थाले । सप्तरीका अधिकांश रेडियो जस्तै सिएफएम, भुरुकुवा एफएम, अपनएफएम, छिनमस्ता एफएमलगायत अन्य रेडियोहरू छन् । तर हालसम्ममा केही एफएम बन्द पनि छन् तर केही रेडियोले त कक्षा ९ र १० का विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गरेका छन् ।

पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा ९ र १० को पाठ्यक्रमलाई सामुदायिक रेडियोहरूको नेटवर्क सिआइएनबाट प्रसारण गर्न थालेपछि धेरै रेडियोले यसलाई पनि पछ्याए । स्थानीय सरकारसँग साझेदारी गरेर अन्य कक्षाका पाठ्यक्रम पनि प्रस्तुत गर्दै आए । शिक्षक पनि घर नजिकको सामुदायिक रेडियोमा गएर पढाउन पाउँदा दंग थिए । एउटा कक्षामा रहेका विद्यार्थीलाई मात्रै पढाइरहेका शिक्षकलाई राजबिराजका विद्यार्थीले सुनेर प्रशंसा गरेपछि खुसी भए । अहिले देशमा अधिकांश रेडियोले शिक्षा दिइरहेका छन्, भने केही रेडियोले आफैँ रेडियो कक्षा सञ्चालन गरिरहेका छन् ।
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको कक्षा ९ र १० को अंग्रेजी पाठ सिकाइ बुझ्न गाह्रो भएको गुनासो आयो, डडेल्धुराको रेडियो अमरगढीलाई । त्यसपछि यो रेडियोले स्थानीय शिक्षकलाई नै अंग्रेजीको पाठ पढाउने व्यवस्था मिलायो । रेडियोले पाठ्यक्रमका अतिरिक्त सिर्जनात्मक कार्यक्रमहरू पनि प्रसारण गरेका छन् ।

रेडियोहरूले विद्यार्थीलाई कथा, कविता, गीत लेख्न र वाचन गर्न सिकाउने खालका सिर्जनात्मक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय सामुदायिक रेडियोहरूले प्रसारण गर्दै आएका ‘हाम्रो घर, हाम्रो पाठशाला’ रेडियो कार्यक्रममा लेख्नेका साथै, परिकार पकाउने, बाजागाजा बनाउन सिकाउने र विभिन्न सीपलाई सिकाउने काम भएका छन् । यसले विद्यार्थीलाई किताबका पाना मात्रै होइन, समाज पढ्न पनि सिकाएको छ ।

प्रतिक्रिया