स्वास्थ्य बिमासहितको उपचार सेवाले अन्त जानुपर्ने बाध्यता हट्यो

इलाम । जिल्लाको चुलाचुली गाउँपालिकावासी जो कोही सामान्य बिरामी पर्नासाथ झापाको दमक र बिर्तामोडका अस्पतालमा जानु पर्दथ्यो । गाउँका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी र अन्य स्वास्थ्य संस्थामा विशेषज्ञ स्वास्थ्यकर्मीको अभावमा चुलाचुलीवासीहरू सामान्य समस्यामा समेत जिल्लाबाहिरका अस्पताल धाउनुपर्ने बाध्यतामा थिए ।

तर, अहिले चुलाचुलीवासीको त्यो बाध्यता हटेको छ । चुलाचुली गाउँपालिकाले चुलाचुली आधारभूत अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गर्न थालेका छन् । चुलाचुली गाउँपालिकाले प्रशासनिक भवनमा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालमा अहिले दैनिकजसो सयको हाराहारीमा बिरामीहरूले सेवा लिने गरेको अस्पतालकी मेडिकल अधिकृत आस्था अधिकारीले बताइन् । सो अस्पतालमा अधिकारीको नेतृत्वमा नर्सिङ, हेल्थ असिस्टेन्ट, नर्स, अहेब, अनमी, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्टलगायतले सेवा दिइरहेका छन् ।
पछिल्लो समय अस्पतालमा नागरिकको विश्वाससमेत बढ्दै गएको छ । ‘हामी सामान्य बिरामी हुँदासमेत झापाको दमकका विभिन्न अस्पताल पुग्नुपर्ने बाध्यता थियो’, चुलाचुली–३ का नरेन्द्र लिम्बूले भने, ‘गाउँमा अस्पताल सञ्चालनमा आएपछि त्यो बाध्यता टरेको छ । निकै जटिल प्रकारका बाहेक सामान्य बिरामीले यहीँबाट उपचार सेवा लिन पाइरहेका छौँ ।’

चुलाचुली गाउँपालिकाले नागरिकलाई स्वास्थ्य उपचारमा सहज गराउन सोही अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमसमेत सञ्चालन गरेको छ । चुलाचुलीले जिल्लामै पहिलोपटक आफ्नै अस्पतालबाट स्वास्थ बिमाको ‘प्रथम बिन्दु’ को सेवा सञ्चालन गरेको हो । गाउँकै अस्पतालबाट स्वास्थ्य बिमासहितको सेवा दिन पाउन थालेपछि चुलाचुलीबासी दंग छन् ।

गाउँमै अस्पताल सञ्चालनमा आएपछि अर्को जिल्ला धाउनुपर्ने बाध्यता झेल्दै आएका चुलाचुलीबासी नागरिकलाई सहज भएको चुलाचुली–४ का देवेन्द्र पौडेल बताउँछन् । गाउँकै अस्पतालबाट सेवा लिन पाएपछि जिल्लाबाहिर जानुपर्ने समस्याट मुक्त भएको उनको भनाइ छ । ‘गाउँपालिकाले अस्पताल सञ्चालनममा आएपछि धेरै नागरिकलाई सहज भएको छ । हजारौँ खर्च गरेर टाढाका अस्पताल जानुपर्ने बाध्यता थियो । अहिले निःशुल्क रूपमा गाउँकै अस्पतालबाट सेवा लिन पाइरहेका छौँ’, उनले भने ।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र घरआँगनकै अस्पतालबाट गुणस्तरीय सेवा दिन अस्पताल प्रशासन गम्भीर बनेर लागेको अधिकारीले बताइन् । ‘हामीप्रति यहाँका नागरिकको विश्वास बढ्दै गएको छ, हामी पनि नागरिकको विश्वास जित्ने गरी काम गर्ने कोशिस गरिरहेका छौँ’, अधिकारीले भनिन्, ‘पहिलेको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै गएका छौँ ।’

स्थानीय मनकुमार लिम्बूले स्वास्थ्य बिमासहितको सेवा गाउँकै अस्पताल सञ्चालनमा पाउन थालेपछि गरिब नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन थालेको बताए । ‘पहिले सामान्य समस्या हुँदासमेत ऋण काटेर बाहिरको अस्पतालन जानु पर्दथ्यो, अहिले स्वास्थ्य बिमाको प्रथम बिन्दुको रूपमा लागू भएपछि त झनै सहज भएको छ’, उनले भने ।

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले आधारभूत स्वास्थ्य उपचार पालिकाभित्रै उपलब्ध गराउने र जटिल प्रकारका बिरामीलाई अन्य सुविधासम्मपन्न अस्पतालमा रेफर गरेर जानुपर्ने भए त्यो सुविधासमेत उपलब्ध गराउने गरिएको बताए । ‘चुलाचुलीवासीहरूले सामान्य बिरामी हुँदासमेत रेफर लिनका लागि झापाको दमक अस्पतालको भिडले समेत हैरानी बेहोर्नुपरिरहेको थियो’, अध्यक्ष केरुङले भने, ‘चुलाचुलीबासी नागरिकको सहजताका लागि गाउँमै सुविधा दिन पालिकाले आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको हो ।’

चुलाचुलीबासी नागरिकलाई आफ्नै गाउँको अस्पतालबाट स्वास्थ्य बिमाको समेत सेवा लिन पाएपछि झापाको विभिन्न अस्पतालसम्म जानुपर्ने र घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता समेत हटेको छ ।

सो अस्पतालमा साताको एक दिन बहिरंग (ओपिडी) विशेषज्ञ सेवा समेत सञ्चालनको तयारीमा छ । झापाको दमकस्थित लाइफलाइन अस्पताल प्रालिले चुलाचुली आधारभूत अस्पतालको आवश्यकता अनुसार साताको प्रत्येक सोमबार विशेषज्ञ सेवा निःशुल्क उपलब्ध गराउने सम्झौता भएको गाउँपालिका अध्यक्ष केरुङले बताए ।

‘हामी फागुन पहिलो सातादेखि प्रत्येक सोमबार यहीको अस्पतालबाट बहिरंग (ओपिडी) विशेषज्ञ सेवा समेत सञ्चालन गर्छौं, त्यसका लागि लाइफलाइन अस्पतालसँग सम्झौता भइसकेको छ’ अध्यक्ष केरुङले भने, ‘हामी यहाँका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिन लागिपरेका छौँ ।’ चुलाचुली गाउँपालिकावासीको आवश्यकता र मागको आधारमा साताको सोमबार विशेषज्ञ चिकित्सकले सेवा दिने अध्यक्ष केरुङले बताए ।

चुलाचुली गाउँपालिकामा हाल १५ शय्याको अस्पताको सुविधासम्पन्न भवन निर्माणाधीन छ । चुलाचुली–२ मा निर्माणाधीन अस्पतालको भवन निर्माण सम्पन्न भएपछि अस्पतालसहित स्वास्थ्य बिमा कार्यक्रमसमेत सोही अस्पतालमा स्थानान्तरण गरिने अध्यक्ष केरुङले बताए । ६ वटा वडा रहेको चुलाचुली गाउँपालिकामा जनसंख्या राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार २३ हजार १ सय ५७ रहेको छ ।

प्रतिक्रिया