आजदेखि ई–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

काठमाडौं । अध्यागमन विभागले आजदेखि ई–भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरे ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि बिहान ८ देखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताए । ‘हाल बिहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म र ई–भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक दिन कार्यालय सञ्चालन हुनेछ’, उनले भने ।

‘ई–भिसा’ लागू गर्ने पूर्वअभ्यासका लागि ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ (इटीए) लागू गरिएको विभागले जानकारी दिएको छ । यसमार्फत संसारको कुनै पनि ठाउँबाट विदेशी नागरिकले अनलाइनमार्फत भिसा आवदेन गर्नसक्ने र अनलाइनमार्फत नै भिसा शुल्क बुझाउन सक्नेछन् । विभागले सबै प्रकार सेवा शुल्क तथा जरिवाना नेपालका मोबाइल बैंकिङ र वालेट सेवा प्रदायकमार्फत भुक्तानी गर्न सकिने जनाएको छ ।

सेवाग्राहीले अनलाइनमार्फत दिएको आवेदनको अवस्था तथा भुक्तानीको विवरण ‘ट्रयाक’ गरी हेर्न सकिने छ । विभागले सोबारे जानकारी इमेल तथा एसएमएसमार्फत् दिने र डिजिटल साक्षरता कम भएका सेवाग्राहीका लागि कर्मचारीमार्फत सहजिकरण गर्ने व्यवस्था मिलाएको छ ।

विभागका महानिर्देशक तामाङले समग्र अध्यागमन प्रशासनलाई पारदर्शी, उत्तरदायी, मितव्ययी बनाउनका लागि सरल, सहज र छिटो छरितो सेवा प्रवाह गर्न पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रणाली प्रारम्भ गरिएको जानकारी दिए । उनले यसै महिनादेखि डिजिटल हस्ताक्षर पनि प्रयोगमा ल्याइने बताउनुभयो । विभागले नयाँ वेवसाइट आजैदेखि सुरु गरेको छ ।

महानिर्देशक तामाङले सबै अध्यागमन कार्यालयलाई स्वचालित प्रणालीको सञ्जालमा जोडिएको बताए । ‘यस विभागबाट प्रदान हुने सबै प्रकारका सेवा अनलाइनमार्फत स्वचालितरुपमा सञ्चालन भइरहेकाले नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राही भौतिकरुपमा कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ’, उनले भने ।

विभागले नाता र विवाहका आधारमा गैर पर्यटक भिसा लिने सेवाग्राहीबाहेक अन्य सेवाग्राही विभाग आउन नपर्ने व्यवस्था गरेको हो । ‘अब सबै प्रक्रिया अनलाइनमार्फत नै हुनेछ भने सेवाग्राही भिसा स्टिकर टाँस्न मात्र विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयमा जान सक्छन्’, उनले भने ।

विभागको अनलाइन प्रणालीलाई राहदानी विभाग, उद्योग विभाग, कन्सुलर सेवा विभाग, भन्सार विभाग, इन्टरपोल, वैदेशिक रोजगार विभाग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भुक्तानीका लागि महालेखा नियन्त्रक कार्यालय तथा अन्य विभिन्न निकायका अनलाइन प्रणालीसँग अन्तरआबद्धता गरिएको छ ।

विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगसमेत अन्तरआबद्धताका लागि तयारी गरिरहेको जनाएको छ । विदेशी नागरिकहरुले विभागबाट लिने सेवाको सेवा शुल्कको भुक्तानीका लागि अन्तर्राष्ट्रिय भुक्तानी प्रदायकमार्फत विभागको प्रणालीलाई जोड्न महालेखा नियन्त्रक कार्यालयसँग समन्वय भइरहेको जानकारी दिइएको छ ।

भिजिट भिसामा जाने नागरिकले स्वघोषणा फारम अनलाइनमार्फत भर्न सक्ने व्यवस्था मिलाइएको छ । आगामी फागुन १ गतेदेखि विदेशी नागरिकले निषेधित क्षेत्रमा पदयात्रा गर्नुपर्दा लिनुपर्ने पदयात्रा इजाजतपत्रलाई ‘अटो ट्रेकिङ एजेन्सी’ प्रणालीमा लैजाने र आवेदकले नेपाली बैंकिङ प्रणालीमार्फत भुक्तानी गरेपछि अध्यागमन विभागको प्रणालीबाट विद्युतीय हस्ताक्षरित इजाजत जारी हुने व्यवस्था गरिएको छ । सो इजाजतपत्र सम्बन्धित एजेन्सीले आफैँले प्रिन्ट गर्न सक्नेछन् ।

प्रतिक्रिया