२० वर्षदेखि अलपत्र खानेपानी योजना सञ्चालनको तयारी

बारा । लामो समयदेखि फेटा गाउँपालिका–३ बजार क्षेत्रका वासिन्दा खानेपानीको समस्या झैल्दै आएका थिए । गर्मीको मौसम सुरु हुने बित्तिकै बजार क्षेत्रका अधिकांश चापाकल सुकेर खानेपानीको हाहाकार हुने गथ्र्यो । स्थानीय बासिन्दाको समस्यालाई मध्यनजर गर्दै फेटा गाउँपालिकाले खानेपानी उपलब्ध गराउने कार्यलाई तीव्र बनाएको छ ।

फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीको पहलमा २० वर्षदेखि अलपत्र रहेकोे खानेपानी आयोजनालाई सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको स्थानीय वासिन्दाले बताएका छन् ।

अहिले खानेपानी ट्यांकीदेखि उपभोक्ताको घरसम्म खानेपानीको पाइप बिछ्याउने कार्य भइरहेको गाउँपालिका अध्यक्ष अन्सारीले बताए ।
अहिले यसक्षेत्रको चापाकल सुक्न थालेका छन् । चापाकल सुके पनि यहाँका जनतालाई खानेपानीको समस्या हुन नदिन दीर्घकालीन उपायमा आफू जुटेको उनले जानकारी दिए ।

‘अब बजार क्षेत्रका बासिन्दालाई कहिल्यै खानेपानीको अभाव हुँदैन’, उनले भने, ‘खानेपानीको पाइप बिछ्याउने काम सकिएसँगै पानी सप्लाइ सुरु हुन्छ ।’ वडा–३ का सबै जनताको घरसम्म पुग्ने गरी पाइप बिछ्याउने काम भइरहेको उनले जानकारी दिए ।

तत्कालै वडा–३ का करिब पाँच सय घरपरिवारलाई लाभान्वित हुने गरी योजना अगाडि बढाइएको उनले बताए ।

गाउँपालिकाकै बजेटमा जीर्ण खानेपानी आयोजनालाई सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए । अहिले यस वडामा ५० प्रतिशतभन्दा बढी खानेपानी पाइप बिछ्याउने काम सकिएको छ । अबको एक÷दुई साताभित्र सबै काम सम्पन्न गरेर पाइपमा पानी सप्लाई गर्ने तयारी गरिएको उनले सुनाए ।

गाउँमा खानेपानी सप्लाई गर्ने काम थालेपछि स्थानीय बासिन्दा खुसी छन् । योजना पूर्णरूपमा सञ्चालनमा आएपछि वडाभरिका ६ हजारभन्दा बढी जनता शुद्ध खानेपानी खान पाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया