कोल्हवीमा तामागढी सिम्रौनगढ मुआब्जा समितिको प्रदर्शन

बारा । सरकारले सडक बनेको चार वर्ष बितिसक्दा पनि बाराका तामागढी–सिमरौनगढ सडक खण्डको मुआब्जा वितरण नगर्दा उक्त सडक खण्डमा जग्गा परेकाहरू अहिले आन्दोलित भएका छन् ।

मंगलबार तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समितिले जुलुस निकालेर प्रदर्शन गरेको छ । कोल्हवीमा समितिले जुलुस निकालेर प्रदर्शन गरेको हो ।

कोल्हवीको बटौलियाबाट निस्किएको जुलुसले कोल्हबी बजारको परिक्रमा गर्दै कोल्हवी बजारमा कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागीहरूले बाटोको मुआब्जा ब्याजसहित दिलाइदेउ, अर्थमन्त्री मुर्दावाद, हाम्रो माग पूरा गर, नालायक सरकार मुर्दावाद लगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।

तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष रामबाबु साह तेलीले कार्यक्रममा बोल्दै मुआब्जाको माग गर्दै सरकारको आलोचना गरेका थिए । उनीहरूले माग पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

तामागढी सिम्रौनगढ सडकमा ७० बिघा जग्गा परेको र १ हजार ५ सय किसान मुआब्जा पीडित रहेको समितिका सचिव रामानन्द चौधरीले बताए । तामागढी–सिमरौनगढ सडकअन्तर्गत सरकारले मुआब्जा नपाउँदा अहिले टेढाकट्टीमा सडक बिस्तार हुन सकेको छैन । सरकारले मुआब्जा पीडितसँग पटकपटक सम्झौता गरे पनि सरकारले अहिलेसम्म मुआब्जा उपलब्ध गराउन सकेको छैन । सरकारले मुआब्जा उपलब्ध नगराए पछि अब निजगढमा सडक जाम गर्नेसमेत रामानन्द चौधरीले बताए । मुआब्जा मूल्यांकन तथा निर्धारण समितिले प्रतिकट्ठा २० लाख रुपैयाँ मुआब्जा तोकेको थियो ।

संघीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगञ्ज कार्यालयको कार्यक्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँबायाँबाट १५÷१५ मिटर अधिग्रहण गरी सडक निर्माण भएको थियो । यो सडकले दक्षिणमा दसगजादेखि बीचमा हुलाकी मार्ग हुँदै उत्तरमा पूर्व–पश्चिम राजमार्ग तथा निजगढ–काठमाडौं द्रुतमार्गलाई जोड्छ । सिम्रौनगढ, कोल्हवी नगरपालिका र बारागढी, आदर्श कोतवाल गाउँपालिका गरी चार पालिकाअन्तर्गत पर्ने यो सडक सात मिटर चौडाइमा बनेको छ ।

नेपाल र भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बाराको तामागढीदेखि सिम्रौनगढ हुलाकी सडकखण्डको निर्माण २०७७ चैत १९ हाते सम्पन्न भएको थियो । सडक खण्डको कोल्हबी नगरपालिकाको पूर्वनगरप्रमुख भरतबहादुर भण्डारी र हुलाकी आयोजनाको निवर्तमान प्रमुख दरोगा साहले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

प्रतिक्रिया