फिदिम बजारमा फ्री वाइफाई जडान

पाँचथर । जिल्लाको फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रमा फ्री वाइफाई जडान गरेको छ ।
बजारका विभिन्न स्थानमा फ्रि वाइफाइ सेवा दिने भएको छ ।

शुक्रबार एक कार्यक्रमबीच नगरप्रमुख मित्रप्रसाद काफ्लेले बीपी पार्क, गडी मन्दिर, जिल्ला अस्पतालभित्रको पार्क, गणतन्त्र चोक, फिदिम माविको खेलमैदान, लोकतन्त्र चोक, आहालरगैरी र शिवालय निःशुल्क वाइफाई सेवा सुरु गरिएको जनाएका छन् । नगरपालिकाले यस क्षेत्रलाई ‘फ्री वाइफाइ जोन’ भनेको छ ।

नगरप्रमुख काफ्लेले नगरको अन्य क्षेत्रमा पनि फ्री वाइफाई सेवा विस्तार गरिने जानकारी दिए ।
‘सदरमुकाम फिदिम बजार क्षेत्रमा पर्यटक तथा स्थानीयवासीलाई सूचना प्रविधिमा पहुँच बढाउन यस्तो सेवा दिन थालेका हौँ’, उनले भने ।

उनले थपे, ‘नगरको समृद्धिका लागि सूचना, प्रविधि, शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी तथा नगरलाई ‘ग्रीन, क्लिन, कलरफूल, फिदिम सिटी’ बनाउने उद्देश्यले काम गरिसकेका छौँ ।’

फ्री वाइफाई कार्यक्रमअन्तर्गत पहिलो चरणमा नगरको, बीपी पार्क, गडी मन्दिर, जिल्ला अस्पतालभित्रको पार्क, गणतन्त्र चोक, फिदिम माविको खेलमैदान, लोकतन्त्र चोकमा जडान हुनेछ ।

कार्यक्रमलाई नगरपालिका उप प्रमुख राधाकृष्ण न्यौपानेले स्वागतमा गर्दै नगरपालिकाका सबै वडाहरुमा विभिन्न योजना सम्पन्न गर्न लागिपरेको बताउँदै सूचनाको पहुँच पुर्याउन सफल हुने बताए ।

प्रतिक्रिया