जनैको आयात रोक्न महिलालाई तालिम

इलाम । विदेशमा यन्त्रमा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले इलाम नगपालिकाले जनै बनाउने तालिम दिएको छ ।
हिन्दू धर्मावलम्बीहरूले प्रयोग गर्ने जनैको आयात रोक्न नगरपालिकाले वडा–७ का एकल महिलाहरूलाई जनै बनाउनेसम्बन्धी तीनदिने तालिम सञ्चालन गरेको हो ।

बाहिरबाट आयात हुने जनै प्रतबन्ध गरी स्थानीय स्तरमा नै उपलब्ध गराउने उद्देश्यले जनै बनाउने तालिम सञ्चालन गरिएको इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू दाहालले बताइन् ।

‘तालिमपश्चात महिलाहरूले सिकेको सीप र सानो लगानीबाट नै घरैमा बसेर आत्मनिर्भर बन्न सक्नुहुनेछ’, उपप्रमुख दाहालले भनिन्, ‘उत्पादित सामानले बजार नपाउलाकी भन्ने चिन्ता लिनुपर्ने छैन । नगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ ।’ इलाम नगरपालिकाले ‘उपमेयर सीप विकास कार्यक्रम’ अन्तरगत एकल महिलाहरूलाई तालिम दिइएको उनले बताइन् ।

स्थानीय मानवअधिकारका लागि महिला एकल महिला समूहको व्यवस्थापनमा तालिम सञ्चालन भइरहेको छ । तालिममा इलाम नगरपालिका–७ का १५ जना एकल महिलाहरू सहभागी छन् । उनीहरूलाई पुरोहित गंगाप्रसाद बरालले सहजीकरण गरिरहेका छन् ।

स्थानीय उत्पादनलाई प्राथमिकता, संस्कृतिको संरक्षण एवं धागोले वैदिक विधिअनुसार जनै बाट्ने परम्परागत शैली लोप हुन लागेपछि यसको संरक्षणमा जोड दिँदै महिलाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकासँगको साझेदारीमा तालिम सञ्चालन गरिएको मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष दीपा ढकालले बताइन् । बाहिरबाट जनै आयात भइरहेकोकाले त्यसको निरुत्साहित गरी स्थानीय श्रोत, साधन र जनशक्तिको परिचालन गर्न तालिमले सार्थकता पाउने उनको विश्वास छ ।

सनातन वैदिक परम्परामा जनैको विशेष महत्व छ । जनैलाई (यज्ञोपवीत), यज्ञसूत्र र ब्रह्मसूत्र पनि भनिन्छ । हिन्दुत्वका १६ संस्कार र अन्य देव, पितृ कुनै पनि पूजाकर्ममा जनैको अपरिहार्यता रहन्छ । जनैविना कुनै पनि यज्ञ कर्म हुँदैनन् भने जनै नलगाएसम्म यज्ञको अधिकारी भइँदैन भन्ने हिन्दू धर्मावलम्बीहरूमा विश्वास छ ।

प्रतिक्रिया