नौ हजार किशोरीको भविष्य उज्ज्वल बनाउँदै आरम्भ

चन्द्रनिगाहपुर । बारा र रौतहटका नौ हजार बढी किशोरीको भविष्य उज्ज्वल बनाउँदै आरम्भ परियोजनाको पहिलो चरणको कार्यक्रम सकिएको छ । आसमान नेपाल र सामााजिक संस्था जिल्ला समन्वय समितिको सयुक्त साझेदारीमा सञ्चालित आरम्भ परियोजनाले किशोरीलाई सक्षम एवं आत्मनिर्भर बनाउँदै सरोकारवाला पालिकालाई थप जिम्मेवार बन्न आग्रह गरेको हो । युके एडको गल्र्स एजुकेसन च्यालेन्जको आर्थिक सहयोग तथा पिपुल इन निड नेपालको नेतृत्वमा सञ्चालित परियोजनाले विद्यालय बाहिर रहेका किशोरीलाई विद्यालय पठाउन तथा उनीहरूलाई स्वरोजगार बन्न सक्षम बनाउन प्रभावकारी भूमिका निर्वाह गरेको बताइएको छ ।

चन्द्रनिगाहपुरस्थित गौतम होटेलमा मंगलबार आयोजित आरम्भ परियोजना सिकाइ आदानप्रदान तथा समापन कार्यक्रममा सहभागी पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा पालिकाका शिक्षा शाखा प्रमुखले परियोजनाको सराहना गरेका थिए । परियोजनाले अवलम्बन गरेको नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन पालिकाले भूमिका निर्वाह गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । उक्त अवसरमा परियोजनाले उपलब्ध गराएको अवसरबाट क्षमतावान बनेका किशोरीहरूले मञ्चमा माइक समातेर आफ्नो अनुभव सुनाएपछि कार्यक्रमका सहभागीले ताली बजाएर अभिनन्दन गरेका थिए ।

रौतहटको दुर्गाभगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, कटहरिया नगरपालिका, मौलापुर नगरपालिका, राजपुर नगरपालिका, माधवनारायण नगरपालिका, गरुडा नगरपालिका, गढिमाई नगरपालिका, परोहा नगरपालिका, बौधिमाई नगरपालिका गरी १० वटा पालिका र बारा जिल्लाको देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका, आदर्श कोतवाल गाउँपालिका, पचरौता नगरपालिका, बारागढी गाउँपालिका, करैयामाई गाउँपालिका, फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, परवानीपुर गाँउपालिका गरी १२ वटा पालिकामा आरम्भ परियोजना सञ्चालित भएको आसमान नेपालका परियोजनाका प्राविधिक संयोजक अजय कुमार यादवले जानकारी दिए ।

‘विद्यालय बाहिर रहेका किशोरीहरूको सिकाइ अभिवृद्धि तथा शिक्षाको मूलधारमा समावेश गर्नका लागि आरम्भ परियोजना केन्द्रित रहेको थियो’, उनले भने, ‘परियोजनाले समाजमा प्रभावकारी छाप छोडेको अनुभव हामीले गरेका छौँ ।’ सन् २०१८ देखि सुरु भएको यो परियोजना सन् २०२३ को डिसेम्बरमा औपचारिक रूपमा सकिएको उनले जानकारी दिए । केही समयका लागि परियोजना अभिलेखहरू संकलन, परियोजनाद्वारा गरिएका गतिविधिलाई सम्बन्धित पालिकाहरूलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने तथा दीर्घकालीन रूपमा समेत लाभान्वित विधार्थीलाई पालिकाबाट सहयोग होस् भन्ने उद्देश्यले विभिन्न कार्यक्रम भइरहेको उनले बताए ।

१० देखि १९ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित विद्यालय बाहिर रहेका किशोरीमा गणितीय शिक्षामा पहुँच र साक्षरता वृद्वि साथै जीवनोपयागी सीपको विकास गरी जीवन स्तरमा सुधार गर्ने उद्देश्य बोकेको यो परियोजनाले यस पाँच वर्षको अवधिमा विद्यालय बाहिर रहेका किशोरीको सामुदायिक सिकाइ केन्द्रमार्फत साक्षरता र गणित सीप विकास गर्ने एवं भविष्यका लागि जीवन योजना बनाउने, जीवन उपयोगी सीपमार्फत किशोरीहरूको नेतृत्व, सञ्चार आदि सीपका साथै यौन तथा प्रजनन स्वास्थ्य, बालविवाह, आदिबारे ज्ञान दिने, सिकाइ केन्द्रको कक्षापश्चात किशोरीहरूलाई विद्यालयमा भर्ना वा सीप सिक्नका लागि सहयोग गर्ने, विद्यार्थीलाई विद्यालयमा सिक्नका लागि अनुकूल वातावरण सिर्जना गर्ने, किशोरीहरूलाई उमेर पुगी मात्रै विवाह गर्न समुदाय र सम्बन्धित निकायलाई सकारात्मक सामाजिक मान्यताका लागि प्रोत्साहन गर्ने र सीप सिकेका किशोरीहरूलाई व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्ने, आदि महत्वपूर्ण कामहरू परियोजनाले गरेको जिल्ला शिक्षा समन्वय इकाई रौतहटका प्रमुख रामविनय सिंहले जानकारी दिए ।

‘हामीले सोचेभन्दा प्रभावकारी भूमिका परियोजनाले खेलेको देखिएको छ’, उनले भने, ‘यो परियोजनाको निरन्तरता दिनु पर्ने अवस्था छ रौतहटमा ।’ परियोजनाले अवलम्बन गरेको नीति नियमलाई पालिकाले अवलम्बन गरिदिए जिल्लाका कोही किशोरकिशोरीहरू विद्यालय बाहिर रहने अवस्था नआउने उनले ठोकुवासमेत गरे ।

यस परियोजनाले परियोजना अवधिभरमा ४ सय ६२ सिकाइ केन्द्रमार्फत विद्यालय बाहिर रहेका ९ हजार ४ सय ९७ जना किशोरीहरूलाई गणितीय शिक्षामा पहुँच, साक्षरता वृद्वि र जीवन उपयोगी सीपको विकासमा प्रत्यक्ष रूपमा सहयोग गरेको आसमान नेपालका परियोजना प्रबन्धक सञ्जीवकुमार गुप्ताले जानकारी दिए । यस अवधिसम्म ४ हजार ९ सय ८६ किशोरीहरूलाई विद्यालय भर्ना गराउन र २ हजार ३ सय ४७ किशोरीहरूलाई सिलाइकटाइ, हाते कडाइ, डल कुशन, अगरबत्ती, पशुपालन आदि विधामा सीप सिकाउन सफल भएको उनले जानकारी दिए ।

यसैबीचमा परियोजनाले २ सय ५२ किशोरीहरूको अपांगता पहिचान गर्न र त्यस मध्ये ७७ जनालाई उपचारमा सहयोग गर्न पनि सफलता प्राप्त गरेको उनले बताए । त्यसैगरी परियोजनाले बालिका तथा किशोरीहरूलाई विद्यालयमा भर्ना गराउन सहजीकरण, प्रोत्साहन, जीविकोपार्जनका लागि विभिन्न क्षमता अभिवृद्धि तालिमहरूको दौरानमा ७ सय ७३ जना सहजकर्ता, २ सय ९० जना चेन्ज च्यापिन्यन र २ सय ९६ मेन्टरलाई परिचालन गरेको थियो । यी सबै स्थानीयले रोजगारीसमेत पाएको बताइएको छ ।

परियोजनाले विद्यालय स्तरमा लैंगिक रूपान्तरण कार्यशालामार्फत ८ हजार ७ सय ५१ विद्यालयका किशोरकिशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य, महिनावारी सरसफाई तथा स्वास्थ्य, विद्यालयभित्र सुरक्षा, लैंगिक हिंसा, बालविवाह, नेतृत्व विकास आदि विषयमा सचेत बनाई विद्यालयमा समावेशी र सुरक्षित वातावरण तथा समुदायमा सकारात्मक परिवर्तनका लागि पहल गरेको सामाजिक संस्था जिल्ला समन्वय समितीका परियोजना प्रबन्धक रामसुन्दर नेपालीले जानकारी दिए ।

यस परियोजनाले नेपाल सरकार शिक्षा तथा मानव स्रोत विभागको नेतृत्वका रहेको बालिका तथा समावेशी शिक्षा सञ्जाललाई केन्द्र, प्रदेश र पालिका स्तरमा लागू गर्न पनि महत्वपूर्ण भुमिका खेल्दै मधेस प्रदेशका ६२ सहित देशभरका ८२ वटा स्थानीय तहमा सञ्जालसमेत गठन गर्न सफल भएको उक्त अवसरमा जानकारी गराइएको आयोजक संस्थाका अरविन्दकुमार साहले जानकारी दिए ।

कार्यक्रममा स्थानीय तहहरूसँगको सहकार्यमा परियोजनाले ती पालिकाहरूमा गरेका गतिविधिहरूबारे छलफल, परियोजना अवधिभर गरेका गतिविधिको प्रस्तुति तथा सरोकारवालासँग सिकाइ आदानप्रदान गरेको थियो । त्यसैगरी, सहजकर्ता, चेन्ज च्यापिन्यन तथा केही बालबालिकाहरूलाई समेत सम्मान गर्दै तथा पालिकालाई कार्य प्रतिवेदन हस्तान्तरणसमेत गरिएको थियो ।

प्रतिक्रिया