पूर्वमन्त्री यादवद्वारा स्वाभिमान यात्रा सुरु

सप्तरी । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेशकुमार यादवले मंगलबारदेखि सप्तरी स्वाभिमान यात्रा सुरु गरेका छन् । सप्तरीको समग्र विकासमा देखिएका समस्याहरूको पहिचान गर्दै समाधानका लागि सबै पक्षलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ उनले सो अभियानको सुरुआत गरेका हुन् ।

राजविराजस्थित स्वर्गीय गजेन्द्र नारायण सिंह र साकेतचन्द्र मिश्रको शालिकमा माल्यार्पण गरी सप्तरी स्वाभिमान यात्राको सुरुआत गर्दै उनले दलीय भावनाबाट माथि उठेर सप्तरीको समग्र विकासका लागि अभियान भएकाले यसमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गरे ।

अभियानका क्रममा पार्टीको झण्डा नबोकी केबल नेपाल राष्ट्रिय झण्डा मात्र बोकेर नागरिकहरूको घरघरमा जाने उनले बताए ।

जिल्लाको बलानबिहुल गाउँपालिकास्थित चन्ही मल्हनियाँबाट अभियानको सुरुआत गरिएको पूर्वमन्त्री यादवले बताए । अभियानका क्रममा गाउँका बुद्धिजीवी, किसान तथा सर्वसाधारणसँग सप्तरीको कृषि, सिँचाइ, पर्यटन लगायतका समस्याबारे छलफल गर्ने उनले बताए ।

‘अभियानका क्रममा सप्तरीको एउटा पालिकामा कम्तीमा एक हप्तासम्म बस्छु, त्यहीँका स्थानीयसँग बसेर स्थानीयका समस्याको पहिचान गर्छु,’ यादवले भने, ‘स्थानीय स्तरमा देखिएका समस्याहरूको बिषयमा जनता तथा स्थानीय सरकारका प्रमुख लगायतसँग अन्तक्रिया गर्छु । स्थानीय तहबाटै समाधान हुने बिषयलाई स्थानीय तहबाटै र अन्य निकायबाट समाधान हुने बिषयलाई सम्बन्धित निकायमा लैजानेछु’, उनले भने ।

पहिलो चरणमा जिल्लाको १८ वटै पालिकामा अभियान लैजाने र त्यहाँबाट आएका सुझाव सल्लाहअनुसार दोस्रो चरणको कार्यक्रम निर्धारण गर्ने उनले बताए । यसअघि पूर्वमन्त्री यादवले गत शुक्रबार सप्तरी स्वाभिमान यात्राको सन्दर्भमा जिल्लाका बुद्धिजीवी, पेसाकर्मी, राजनीतिक दलका प्रतिनिधि लगायतका सरोकारवालासँग अन्तरक्रिया गरेका थिए ।

जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, सडक लगायतका क्षेत्रमा व्यापक समस्या देखिएकोले समाधानका लागि सबै पक्ष एकमत हुनुपर्ने भएकाले आफूले यस्तो अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

प्रतिक्रिया