बन्चरो प्रयोग गरी भाउजूको हत्या

सिरहा । बन्चरो प्रयोग गरी सिरहामा देवरले भाउजूको हत्या गरेका छन् । यहाँको सखुवानन्कारकट्टी गाउँपालिका–४ सखुवाका अन्दाजी २८ वर्षीय मो. जियाउल राइनले सोमबार बिहान १० बजेतिर आफ्नै जेठी भाउजू ३२ वर्षीया तञ्जिला खातुनको बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

घरको आँगनमा रहेको हातेकलबाट पानी थापेर जाँदै गर्दा पछाडिबाट देवरले बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएका खातुनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । बन्चरो प्रहार गरेको स्थानीय छिमेकीले देखेपछि जयाउल भागेका थियो ।

लागूऔषध सेवन गरेर लठ्ठ परेका जियाउलले सुरुमा भाइ अताबुल र बुहारीलाई आक्रमण गर्न खोजेका थिए । उनीहरू भागेपछि कलबाट पानी लिएर जाँदै गरेकी जेठी भाउजूलाई बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएको स्थानीयले बताए ।

घटनाको खबर सुन्ने बितिकै वडाध्यक्षसहित गाउँलेको सहयोगमा इलाका प्रहरी कार्यालय महेशवारीले निज ज्याउललाई सप्तरीको थलहा टिकुलियाबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमा जिम्मा लगाइएको थियो ।

मृतकको शव लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी सोमबार नै दाहसंस्कारका लागि परिवारलाई बुझाइएको छ । खातुनको श्रीमान सलिम राइन वैदेशिक रोजगारीको सिलसिलामा विगत लामो समयदेखि खाडी मुलुक कुवेतमा छन् ।

खातुनको सात वर्षको छोरा र पाँच वर्षकी छोरी छिन् । गाउँलेका अनुसार लागुऔषध अत्यधिक सेवन गर्दै आएका जियाउल हुनको हत्या गर्ने प्रयास यो पहिलो भने होइन । यसअघि उनी पटकपटक घरका अरू सदस्यलाई पनि मार्ने प्रयास गर्दै आएका थिए ।

प्रतिक्रिया