सेवाग्राहीको काम छिटो छरितो हुनेछ : प्रजिअ घिमिरे

कलैया । बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सेवाग्राहीको काम छिटो र छरितो तरिकाले गर्न जिल्लामा पहल गर्ने बताएका छन् । मंगलबार आफ्नै कार्यकक्षमा स्थानीय पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘एक्लैले केही गर्न सकिन्न, जिल्लालाई समृद्ध बनाउन यहाँका राजनीति दल, नागरिक समाज, प्रहरी प्रशासन, आमनागरिक र पत्रकार साथीहरूले सहयोग गरे जिल्लालाई समृद्ध बनाउन सकिने छ, ।’ बारा जिल्लामा औद्योगिक करिडोरमा शान्ति सुरक्षा कायम गर्ने आफू सक्दो पहल गर्ने उनले बताए ।

पत्रकारहरूको जिज्ञासामा उनले खुल्ला सीमामा पछिल्लो समयमा भइरहेको तस्करी र नेपालीहरूले भोग्ने गरेकोे विभिन्न समस्या समाधानको निम्ति इमानदारीपूर्वक लागेर काम गर्ने विश्वास दिलाएका थिए । मिटर व्याजीको विषयमा उनले यो सामाजिक समस्या भएकोले हामी सकभर पीडितको पक्षमा नै न्याय दिलाउन काम गर्ने र सरकारको रणनीति पनि त्यही अनुरूप काम गर्न निर्देशन भएकोले यसमा सबैलाई ढुक्क हुन आग्रहसमेत गरेका थिए ।

स्व.पत्रकार वीरेन्द्र साहको हत्याको विषयमा जिल्ला प्रहरी कार्यालयबाट बुझेर दोषीलाई पक्राउ गर्ने तथा व्यवसायी पत्रकारिता गर्ने पत्रकारको सुरक्षाको प्रत्याभूति गराउने काम जिल्ला प्रशासन कार्यालयबाट हुने जानकारी गराएका थिए । भेटघाट कार्यक्रममा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने, अनुसन्धानका प्रमुख अभिनय कुमार सिंह, नेपाल पत्रकार महासघका जिल्ला उपाध्यक्ष रामबाबु मेहता, जिल्ला सचीव अनिलकुमार गौरव लगायतको सहभागिता रहेको थियोे ।
यसै क्रममा बारा प्रहरीले चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा सुनसरी जिल्लाका धरान उपमहानगरपालिका –५ का गुजराज विक र इटहरी नगरपालिका– ३ का बद्री विक रहेका छन् । दुबै जनालाई चेकजाँचको क्रममा चाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीचौकी पथलैयाबाट खटेको टोलीले विशेष सूचनाको आधारमा वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बा.प्रा.०२–०२७ प १८५१ नं. को स्कुटीसहित ५३ तोला चाँदीको गहना बरामद भएको बारा प्रहरीका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । उनीहरूको साथबाट प्रहरीले २२ थान लकेट, ३३ थान औँठी, १८ थान मगलसूत्र, २६ थान कानको टप, ७० थान गणेश लकेट गरेर ५३ तोला चाँदीको गहना बरामद गरिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया