मधेस प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । मधेस स्वाभिमान दिवस छुट्टाछुट्टै मनाएर सरकारबाट अलग हुने संकेत देखाएको जनमतले अन्ततः मंगलबार साँझ सरकारबाट फिर्ता भएको छ । मधेसका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका छन् । मंगलबार जनमतको मधेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव बिपी साहले जानकारी दिए ।

मधेसमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । जनमत पार्टीसँग गठवन्धन गरेका जसपाले आलोपालो सरकार चलाउने रणनीति बनाए पनि जसपाले सरकारको एक वर्ष बितिसक्दासमेत जनमतसँग सहकार्य गर्न तयार नभएपछि जनमत पार्टी सरकारबाट बाहिरिएको सचिव साहले जानकारी दिए ।

मुख्यमन्त्रीले एकवर्षे कार्यकालको विषयमा सम्बोधन गरिरहँदा जनमतका कार्यकर्ताले मुख्यमन्त्री भ्रष्टाचारी रहेको भन्दै नाराबाजी गरेका थिए । मुख्यमन्त्री सरोजकुमार यादवले सरकारमा पनि बस्ने अनि विरोध पनि गर्ने डबल स्ट्यान्डर भयो भनेर असन्तुष्टि व्यक्त गर्दे सम्बोधनका क्रममा नै सरकारबाट फिर्ता जान भनेका थिए ।

यता आफ्नै क्षेत्रमा आफूले हराएको व्यक्तिलाई प्रमुख अतिथि बनाएर कृषि विश्वविद्यालयको उद्घाटन कार्यक्रम गराएपछि जनमतका अध्यक्ष सिके राउत रिसाएका थिए । लामो समयदेखि यी दुई दलका बीचमा दरार अएको थियो । हाल आएर सरकारबाट बाहिरिएको छ । मधेस प्रदेश सरकारमा जनमत पार्टीबाट शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंह थिए । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहँदै आएको थियो । सप्तरीको राजविराजमा गएको आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा र जनमत बीचको टकराव छताछुल्ल भएको थियो । विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुखअतिथि बनाएपछि जनमत प्रदर्शनमा उत्रिएको थियो ।

यसैबीच महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस प्रांगणमा निर्माण गरिएको भवनको एक कार्यक्रमका बीच जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन् । यहाँ निर्माण गरिएको इन्जिनियरिङ कलेजको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको हो । यादव सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुँदा उनकै संसदीय कोषबाट यो भवन निर्माण भएको थियो । भवनभित्र चार कक्षा कोठा, ल्याब कोठा तीन, पुस्तकालय कोठा, क्याबिन, एडमिन हेड, रिसेप्सन र प्रतीक्षा कक्ष, शिक्षक कोठा रहेको छ । ६ करोड २७ लाख ८७ हजार ठेक्का रकम रहेकोमा ४ करोड ६१ लाख २९ हजार ९ सय ८० मा सेफ स्टिल कम्पनी चितवनले २०७७ जेठ ९ गते ठेक्का लिएको थियो ।

प्रतिक्रिया