बारा । लगातार चार दिनदेखि लागेको हुस्सुको कारण सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएका छन् । सिमरा विमानस्थलबाट काठमाडौंका लागि हुने दैनिक ९ देखि १० सम्मका उडान मध्ये मौसममा देखिएको खराबीका कारण (कम भिजिबिलिटी) का कारण शुक्रबारदेखि सोमबारसम्म नियमित उडानहरू प्रभावित भएका हुन् ।
‘हामीकहाँ मौसमका कारण तीन दिनदेखि नियमित हुँदै आएको हवाई उडानहरू प्रभावित भएको छ, तीन देखि चार घण्टा उडान ढिलो हुँदा यात्रुहरूलाई पनि समस्या परेको छ’, सिमरा विमानस्थलका सूचना अधिकारि सुरेन्द्र सिंह कुशवाहाले बताए ।
‘प्राविधिक कारणले भन्दा पनि मौसमको कारणले पुस र माघको महिनामा यस्तै समस्या हुन्छ, नियमित उडानहरू तोकिएको समयमा गर्न सकिँदैन’, सूचना अधिकारी कुशवाहाले भने । सिमरा विमानस्थलबाट काठमाडौंका लागि पहिलो उडान बिहान साढे ७ बजेदेखि साँझ ७ बजेसम्म उडान हुने गर्छ । सिमरा–काठमाडौं उडानका लागि दुई हजार तीन सयभन्दा धेरै भिजिबिलिटी आवश्यक पर्छ । तर, भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित हुने गरेको छ ।
बारा, पर्सा, रौतहट, मकवानपुर, छिमेकी मुलुक भारतबाट दैनिक एक हजारदेखि १ हजार ५ सय यात्रुहरू सिमरा–काठमाडौं आउजाउ गर्ने गर्दछन् । मधेस प्रदेशमा हुने राजनीतिक कार्यक्रममा सहभागी हुन आउने दलका नेता, कार्यकर्ता, काठमाडौंको पशुपतिनाथ, मुक्तिनाथ दर्शन गर्न जाने भारतीय पर्यटक, बारा–पर्सा औद्योगिक करिडोरका व्यवसायीदेखि मध्यमवर्गले पनि सिमरा–काठमाडौं आउजाउ गर्न उक्त विमानस्थल प्रयोग गर्ने गर्छन् ।
एक वर्ष अघिसम्म २ हजार ५ सयदेखि ३ हजार २ सयसम्म रहेको हवाई भाडा पछिल्लो समय ह्वात्तै बढेको ३ हजार ७ सयदेखि ४ हजारसम्म पुगेको भन्दै यात्रुहरूले गुनासो गरेका छन् । सिमरा विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको नेपालकै सबैभन्दा पुरानो विमानस्थल हो । यसको स्थापना सन् २००८ सालमा भएको विमानस्थल कार्यालयले जनाएको छ ।
बारा
प्रतिक्रिया