राममन्दिरको प्राण प्रतिष्ठामा जनकपुरधामसहित मधेसमा उत्सव

जनकपुरधाम । भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार भएको राममन्दिरको प्राण प्रतिष्ठामा जनकपुरधामसहित मधेसमा उत्सव मनाइएको छ । रामको ससुराली र जानकीको माइतीको रूपमा रहेको जनकपुरधाममा दिनभर ‘जय सियाराम’को नारासहित भग्वा ध्वज लिएर भक्तजनले खुसियाली मनाए ।

जानकी मन्दिर प्रांगणलाई रंगोली, फूल तथा दीपले सजाइएको छ । सोमबार साँझ जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरियो । जानकी मन्दिर व्यवस्थापन पक्षलगायत हिन्दूवादी संगठनले दीप प्रज्वलन गरेका थिए । मठमन्दिरसहित घरघरमा दीप प्रज्वलन गरेर सबैले खुसियाली मनाए ।
यसैगरी छिमेकी देश भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सिरहाको विभिन्न ठाउमा रथ यात्रा, दीप प्रज्वलन लगायतका विभिन्न कार्यक्रम गरियो ।

सिरहाको लहान, गोलबजार, मिर्चैया र सिरहा लगायतका स्थानहरूमा ¥याली तथा विभिन्न कार्यक्रम गरिएको छ । लहानमा निकालिएको रथयात्रा सम्पन्न भएको छ, भने साँझ ११ हजार १ सय ११ दीप प्रज्वलन कार्यक्रमसमेत गरिएको छ ।

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा लहान नगरपालिका–७ मा रहेको राम मन्दिरबाट सुरु भएको रथयात्रा पूर्व–पश्चिम राजमार्ग तथा चारैतिर बजार परिक्रमा गरी ¥याली सम्पन्न भएको छ । उक्त ¥यालीमा लहान नगरपालिकाका प्रमुखलगायत हजारौँको संख्यामा भक्तजनको सहभागिता रहेको थियो । राम मन्दिरको स्थापनाको स्वागत गर्दै लहानवासीले रथयात्रा तथा साँझ दीप प्रज्वलन र विभिन्न कायक्रमको आयोजना गरेका छन् । राम वनवासबाट फर्किएको सम्झना स्वरूप रथ यात्रा र ११ हजार दीप प्रज्वलन कार्यक्रम राखिएको हो । भगवान् राम १४ वर्षको वनवासपछि अयोध्या फर्किंदा दीप प्रज्वलन गरिएको थियो ।

यसै क्रममा मित्रराष्ट्र भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको शुभ अवसरमा बाराको विभिन्न स्थानमा पनि रथ यात्रा ¥याली र दीपावली गरेको छ । बाराको सदरमुकाम कलैया, महागढीमाई नगरपालिकाको गढीमाई मन्दिर, परवानीपुर गाउँपालिकाको परवानीपुर बजार आदर्श कोतवाल गाउँपालिकाको चिउटहा बजार, सुवर्ण गाउँपालिकाको कवही बजार लगायतको ठाउँमा रथयात्रा, ¥याली र विविध कार्यक्रमको आयोजना गरिएको छ ।


महागढीमाई नगरपालिकाअन्तर्गत रहेको ¥याली सम्पन्न पश्चात १ लाख ५१ हजार दीप प्रज्वलन गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिजय कुशवहाले जानकारी गराए । त्यस्तै जिल्लाको विभिन्न ठाउँमा पनि सोमबार बेलुका दीप प्रज्वलन गरिएको कलैया निवासी हिन्दू स्वयंसेवक संघ बाराका प्रमुख निरज नेपालीले जानकारी गराएका छन् ।

मधेसमा रहेका आठ वटै जिल्लाका विभिन्न पालिकाले पालिकाभरि माछामासु र मदिराजन्य पदार्थ बन्द गर्नुका साथै सोमबार एक दिन बिदाको घोषणासमेत गरेका थिए । यद्यपी जनकपुरधाम उपमहानगरपालिकाले भने सार्वजनिक बिदा दिएको थिएन ।

प्रतिक्रिया