प्राथमिक स्वास्थ्य केन्द्रमा गुणस्तरहीन सामग्री प्रयोगपछि काममा रोक

रौतहट । जिल्लाको कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण भइरहेको भवनको काममा रोक लागाइएको छ । कटहरिया नगरपालिकाका तत्कालीन मेयर शियाराम कुश्वाहाको पालामा शिलान्यास गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा ठेकेदारले चरम लापरवाही गर्न थालेपछि काममा रोक लगाइएको स्थानीयको भनाइ छ । भवन निर्माण कार्यमा गुणस्तरहीन काम भइरहँदा जनप्रतिनिधिले वास्था नगरेपछि करौडौँको लागत खेर जाने भएपछि पूर्वमेयर शियाराम कुश्वाहाले रोक लगाएका हुन् ।

२०७७ पुस १ मा तत्कालीन नगरप्रमुख कुश्वाहाले सिलान्यास गरेका १५ बेडको भवनमा ठेकदारले गुणस्तरहीन काम गर्न थालेको भन्दै रोक्का गरिएको हो ।
संघीय सरकारको १९ करोड ७५ लाख भ्याट सहितको लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले टेन्डर आव्हान गर्दा महालक्ष्मी धनञ्जय, चौधरी जेबीले घटाघट प्रक्रियामार्फत ११ करोडमा साकार गरेको थियो । प्राथमिक स्वास्थ केन्द्र कटहरियाको हाताभित्र शिलान्याश गरिएको १५ शय्याको भवन निर्माण अवधि दुई वर्षको छ ।

ठेकेदार चौधरी निर्माण सेवाका निर्देशक उपेन्द्रप्रसाद चौधरीले रोलर नै नचालाई जगमुनि ढलान गर्न सुरु गर्न थालेपछि पूर्वमेयर कुश्वाहाले शनिबार साँझ निर्माण कार्य रोक्न लगाएका छन् । झण्डै २० करोडको भवनको जग नै बलियो भएन भने लगानीको औचित्य नहुने भएकाले निर्माण रोक्का गरिएको कुश्वाहाले जानकारी दिए । निर्माणस्थलमा होर्डिङ बोर्ड नराख्दा स्टिमेटबारे ठेकेदारले जानीजानी अन्यौल बनाएको पूर्वमेयर कुश्वाहाको दाबी छ ।

निर्माणको ठेक्का लिएका कम्पनीले स्टिमेटसहित आएपछि कटहरिया नगरपालिकाको इन्जिनियरले निर्माणबारे स्पष्ट पारेपछि मात्र काम सुरू हुने पूर्वमेयर कुश्वाहाले जिकिर गरे । करोडौँको भवन निर्माणमा ठेकदारले पुरानो कवाडी रड प्रयोग गरिरहेको पाइएको छ । भवन निर्माण हुने स्थानमा ठूलो खाडल बनाएर तीन वर्ष सम्पर्कविहीन रहेका ठेकदार उपेन्द्र चौधरीले बल्लतल निर्माण काम सुरु गरेका छन् ।

यस विषयमा कटहरिया नगरपालिकाका वर्तमान मेयर अजयप्रकाश जैसवालसँग बुझ्दा उनले आफ््नो प्रयासबाट अस्पताल भवनको निर्माण सुरु भएको बताए । नगरप्रमुख जयसवालले सुरुमा अस्पताल भवन निर्माणको लागि मन्त्रालयबाट टेन्डरको प्रक्रिया मात्र सुरु भएको बताए ।
तर, रकम निकासा नहुँदा कुनै प्रक्रिया अगाडि बढेको थिएन । मेयर जयसवालले आफूले मन्त्रालयमा धेरै पहल गरेपछि मात्र रकम निकासाको लागि, टेन्डर स्वीकृत भएपछि मात्र अस्पताल भवन निर्माणको काम सुरु भएको बताए ।

प्रतिक्रिया