मधेसमा देखिँदै आर्थिक मन्दीको असर

रौतहट । मधेस प्रदेशमा व्यापार व्यवसायमा गम्भीर असर पर्न थालेको छ । व्यापार व्यवसाय नचल्दा व्यापारीहरू मारमा छन् । धेरै ठाउँमा त सटर बन्द गरी व्यवसाय नै छाड्न थालेका छन् । व्यवसाय नचल्दा व्यापारीहरू चिन्तित छन् । व्यपार व्यवसाय ठप्प भएका कारण दैनिक ५० हजारसम्मको व्यापार हुने ठाउँमा अहिले पाँच हजारमा झरेको व्यापारीहरू सुनाउँछन् । कसैकसैले त पसल खोलेपछि दुुई–तीन सय मात्र व्यापार हुने गरेको सुनाउँछन् । कहिलेकाहीँ बोहनीसमेत नहुने गरेको उनीहरूले बताए ।
यस्तो अवस्थामा सटर खाली गर्नुुको विकल्प नरहेको उनीहरू सुनाउँछन् । व्यापारीहरूका अनुसार सटर खोलेर मात्र हुँदैन । अहिले आम्दानी गर्न धौधौ पर्ने गरेको छ । व्यापार नै नचलेपछि सटरको भाडा तिर्न नसकेर सटर नै बन्द गर्न थालेका छन् ।

धेरैजसो व्यापारीहरू व्यापार व्यवसाय नचलेपछि भाडा तिर्न नसकेको सुनाउँछन् । ‘पहिला सटर पाउन गाह्रो थियो, अहिले त हामी सटर छाड्न नै बाध्य छौँ’, एक जना व्यापारीले भने । एडभान्स रूपमा रकम उपलब्ध गराउँदा पनि सटर पाइँदैनथ्यो । तर, अहिले जताततै ‘सटर खाली छ’ भन्ने पोस्टर छ्याप्छ्याप्ती देखिन थालेको उनले सुनाए ।

कुनै ठाउँमा टु–लेट लेखिएको पोस्टर देखिन्छ भने कुनै ठाउँमा कोठा खाली, सटर खाली लेखिएको पोस्टर देखिन थालेको छ । जति पोस्टर, पम्पलेट टाँसे नि सटर भाडामा लिन मान्छे नै कोही छैन । व्यापार गर्नेहरूले पनि सटर खाली गर्ने मनसायमा छन् । आर्थिक मन्दीले गर्दा व्यापारीहरू सटर बन्द गरेर विदेश पलायन हुन थालेको एक व्यपारीले सुनाए । विदेश जानुुको अन्य कुनै विकल्प छैन । यहाँ मानिसहरूसँग रुपैयाँको अभाव छ ।

आर्थिक मन्दी हुनुुको विभिन्न कारणहरू हुन सक्छन् । तर, व्यापारीहरूको अनुसार पहिला धेरै बैंक वा लघुुवित्तमा कारोबार गर्न पाइन्थ्यो । तर, अहिले त्यो बन्द भएकोले पनि समस्या भोग्नुुपरेको पीडा व्यापारीहरूको छ । स्थानीय व्यापारीहरूको समस्या र बोर्डरको समस्या बुुझ्ने कोही नभएपछि सटरहरू बन्द हुन थालेको उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक तेवानीको भनाइ छ । कोभिड अघि राजस्व बढ्दै गइरहेको थियो । व्यापार व्यवसाय पनि राम्रै गतिमा थिए । तर अहिले आएर सरकारको कर नीति, राजस्व अनुुसन्धान गर्ने नीतिले गर्दा पनि व्यपारीहरू मारमा परेको बताउँछन् ।

सटर बन्द हुनुको धेरै कारणहरू छन् । जसमध्ये पर्यटकहरूले पैसा ल्याउन नपाउने । पैसा ल्याउँदा जफत गर्ने, विदेशी पर्यकटहरूको इमिगे्रसन नबनाइदिनेजस्ता धेरै कारण छन् । उनले भने, ‘विदेशी पर्यटक अहिले मधेसमा आउन छाडेका छन् । युवाहरू विदेश पलायन हुन थालेका छन् । करको समस्या थपिँदै गएको छ । यी सब कारणले गर्दा व्यापारीहरू मारमा छन् ।’

मधेस प्रदेशको राजधानी जनकपुरधाम र मुख्य व्यापारिक केन्द्र वीरगञ्जमा पनि जताततै सटर खाली भएको देखिन्छ । यहाँ मात्र होइन्, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीमा यस्तै अवस्था छ । त्यहाँ पनि मुख्य व्यापारिक बजारहरूमा धमाधम सटर बन्द हुन थालेका छन् ।
आर्थिक मन्दीको चपेटामा सर्वसाधारण पनि छन् । बैंकमा धितो राखेर ऋण लिएकाहरूले पनि महिनौँदेखि साँबाव्याज तिर्न पाएका छैनन् । जसले गर्दा अहिले बैंकहरू पनि समस्यामा छन् । कुनै कुनै बैंकले अलि राहत पनि दिन थालेका छन् । ब्याज चुुक्ता गरेर ऋण नवीकरण गर्ने अवसर पनि दिएका छन् । जसले गर्दा ऋणीहरू अलि राहत महसुस गरिरहेका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया