उद्घाटनको रेकर्ड बनाउँदै मेलम्चीको पानी

उद्घाटन एक राजनीतिक मनोरोग हो - प्रा.कृष्ण पोेखरेल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारमा मेलम्चीको पानी धाराबाट चुहाउँदै गर्दा तीन वर्षअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको भृकुटीमण्डपको धारामा कमिला हिँड्दै थिए ।

काठमाडौं । माघ महिनाको पहिलो दिन उता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारमा मेलम्चीको पानी धाराबाट चुहाउँदै थिए, यता झण्डै तीन वर्षअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको भृकुटीमण्डपको यस्तै धारामा कमिला हिँड्दै थिए । उद्घाटनको तामझाम ऊबेला पनि चर्कै थियो, प्रधानमन्त्री केपी शर्मा ओली छेउमा उभिएर ताली बजाउँदै थिए, अहिले पनि सिंहदरबारमा मन्त्रीका लस्करले ताली मात्रै बजाएनन् मेलम्चीको पानी आचमन गर्दै थिए ।

अब उद्घाटन र शिलान्यासमा रिबन काटेर समय खेर नफाल्ने भन्ने कसम खाँदै तेस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका प्रचण्डले सोमबार रिबन नै त काटेनन् तर ‘घुम्टो उठाएर’ भए पनि उद्घाटनका सबै प्रक्रिया पूरा गरे । यसअघि पनि पटकपटक उद्घाटन र शिलान्यासको रेकर्ड बनाएको मेलम्चीको यो उद्घाटन कतिऔँ हो भनेर गन्ती गर्नुपर्ने अवस्था छ ।

मेलम्ची खानेपानी आयोजना सुरु भएदेखि नै शुभारम्भ र उद्घाटनको सिलसिला निरन्तर चलेको छ । कहिले सुरुङ निर्माण सम्पन्न, कहिले मेलम्चीको पानी पथान्तरण, कहिले सुरुङको पानी प्रशोधन केन्द्रमा हाल्ने नाममा, कहिले मेलम्चीको पानी भन्दै स्वर्ण लेप लगाएका ढुंगेधारामा पानी खसाल्ने यस्ता शुभारम्भ र उद्घाटन भइरहेका छन् । यस्ता उद्घाटन् र शुभारम्भ कति हुने हुन् ? अझै निश्चित छैन ।

यसअघि २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, सोही सालको चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेका थिए भने तत्कालीन खानेपानी मन्त्रीहरू उमाकान्त चौधरी, मन्त्री बिना मगर, मणिचन्द्र थापा, खानेपानी राज्यमन्त्री रामवीर मानन्धर लगायतले मेलम्चीका विभिन्न चरणहरूमा शुभारम्भ र उद्घाटन गरेका थिए ।

नेताहरूमा यति धेरै उद्घाटन मोह किन हुन्छ ? नेताहरूको उद्घाटन मोह विकासशील मुलुकमा बढी देखिने गरेको राजनीतिक शास्त्रका प्राध्यापक प्रा.कृष्ण पोखरेलेको विष्लेषण छ । विकासशील मुलुकमा उद्घाटनको राजनीतिले ठूलो महत्व राख्ने गरेकाले सानातिना कामको पनि उद्घाटन गरेर त्यसको राजनीतिक श्रेय लिने चलन हामीकहाँ पनि बढेको पोखरेल बताउँछन् । ‘सानातिना कामको पनि उद्घाटन गरेर भित्तामा नाम टाँस्ने एकखालको राजनीतिक मनोरोग हामीकहाँ छ ।’ पोखरेलले भने, ‘पशुपतिमा सुनको जलहरीमा नाम खोपाउने र अधुरा योजना उद्घाटन गर्ने होड पनि त्यसैको उपज हो ।’ उनले थपे, ‘अधुरो धरहराको उद्घाटनको निरन्तरता हो मेलम्ची पनि ।’ उनले भारतको अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्न लागेको अपुरो राममन्दिरको उद्घाटन पनि विकासशील मुलुकको रोगको एक हिस्सा भएको बताए ।

तोकिएको समय भन्दा झण्डै दुई दशक ढिलो गरी काठमाडौंमा खसालिएको मेलम्चीको महँगो पानीको वितरण शुभारम्भ र उद्घाटनको विवरण लामो छ । सबैभन्दा धेरैपटक उद्घाटन र शुभारम्भ भएको आयोजना मेलम्चीमा बर्सेनि वर्षायाममा बाढी आउने र हिउँदमा मर्मतसम्भार गरेर पानी ल्याउँदा पनि उद्घाटन र शुभारम्भ परम्परा नै बसिसकेको छ ।

उपत्यकामा पहिलोपटक २०७७ चैतमा मेलम्चीको पानी वितरण गरिएको थियो । त्यसको तीन महिना नबित्दै २०७८ असारमा मेलम्चीको बाँध क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पु¥याएको थियो । क्षतिग्रस्त बाँध मर्मत गरी दोस्रोपटक २०७९ वैशाख ११ गते उपत्यकामा पानी ल्याइएको थियो । त्यस्तै २०७९ मंसिर २३ गते तेस्रोपटक मेलम्चीको पानी उपत्यकामा वितरण गरिएको थियो । २०८० माघ १ गते सोमबार प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गरेर वितरण गरेको यो चौथोपटक हो ।

सोमबारको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंवासीलाई मेलम्चीको पानी नियमित रूपमा उपलब्ध गराउने आश्वासन दिए । पानीको दीगो वितरणका लागि दोस्रो चरणको यांग्री तथा लार्के नदी डाइभर्सनको कामसमेत अगाडि बढाइने उनले बताए । प्रायः सबैजसो मन्त्री तथा उच्चपदस्थ सरकारी कर्मचारी उपस्थित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि आयोजनाको पुनर्निर्माण गरिने र हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएको बताए ।

उद्घाटन एक राजनीतिक मनोरोग हो – प्रा.कृष्ण पोेखरेल

विकासशील मुलुकमा उद्घाटनको राजनीतिले ठूलो महत्व राख्ने गरेको छ । सानातिना कामको पनि उद्घाटन गरेर त्यसको राजनीतिक श्रेय लिने चलन हामीकहाँ पनि बढेको छ । सानातिना कामको पनि उद्घाटन गरेर भित्तामा नाम टाँस्ने एकखालको राजनीतिक मनोरोग हामीकहाँ छ । पशुपतिमा सुनको जलहरीमा नाम खोपाउने र अधुरा योजना उद्घाटन गर्ने होड पनि त्यसैको उपज हो । स्वार्थसिद्धीमा लागेका भाटहरूले यस्ता कुरामा नेतृत्वलाई उक्साउँछन् पनि । नेतृत्व यस्ता उक्साहटबाट जोगिन सक्नुपर्छ सकेन भने हाँसोको पात्र बन्छन् । मेलम्चीको पुनः वितरण शुभारम्भ वा त्यसैको सिलसिला हो ।

अधुरो धरहराको उद्घाटनको निरन्तरता हो मेलम्ची पनि । हामीकहाँ मात्रै होइन विकासशील मुलुको रोग हो यो । भारतमा पनि यो रोग देखिन्छ । अयोध्यामा अधुरो राम मन्दिरको उद्घाटन त्यसको ज्वलन्त उदाहरण हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रामको औँला समातेर डो¥याउँदै अयोध्या लैजाँदै गरेको काल्पनिक दृष्य यतिबेला भारतमा चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया