निर्वाचन आयोगमा झुठा विवरण प्रस्तुत गरेको आरोप

वीरगञ्जका मेयर राजेशमानमाथि किर्ते नागरिकता प्रकरण, छानविन समिति गठन

मधेश । मधेश प्रदेशकै एक मात्र महानगरपालिकाको रूपमा रहेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विवादित बनेका छन् । मेयर राजेशमान सिंह श्रेष्ठले एक किशोरीको पिता बनेर नागरिकता बनाएपछि उनी विवादमा परेका हुन् । उनले पिता भएर नागरिकता बनाएका किशोरीकी आमाको खोजी हुन थालेपछि अहिले मेयर सिंह मधेसमा चर्चाको पात्र मात्र होइन यसका लागि छानविन समितिसमेत गठन भएको छ ।

नागरिकता किर्ते प्रकरणमा जिल्ला प्रशासन कार्यालय पर्साले छानविन समिति गठन गरेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि छानबिन गर्न समिति गठन गरिएको हो । नागरिकता किर्ते प्रकरण छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । नागरिकता किर्ते प्रकरणमा पाँच दिन भित्रमा अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए । रुबीना श्रेष्ठको नागरिकतासम्बन्धी हराएको प्रमाणको फाइल खोजी गरी जाँचबुझ अगाडि बढाइसकेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार समितिले नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेललाई वयानका लागि बोलाइएको छ । तत्कालीन प्रशासकीय अधिकृत पोखरेलले राजेशमान सिंहलाई बाबुका रूपमा सनाखत गराएर नागरिकता वितरण गरेको अनुसूची फारम अहिलेसम्म फेला परेको छैन । ‘आमाबाबुको विवरण खुलाइएको फारम अझै भेटिएको छैन, जन्मदर्तासमेत रेकर्डबाट हटाइएको देखियो’, भुसालले भने, ‘आन्तरिक अनुसन्धान सकिएपछि मेयर सिंहलाई मात्र वयानका लागि बोलाइनेछ ।’ मेयर सिंहले भने नागरिकता प्रकरणमा जवाफ दिन वा सञ्चार माध्यमहरूसँग कुरा गर्न आनाकानी गर्दै आएका छन् ।

नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंहसहित उनको नागरिकता नम्बर ३४१६०३८.१७ उल्लेख छ । बुबाको प्रमाणको रूपमा सिंहकै नागरिकताको प्रतिलिपि पेस गरिएको छ ।

नागरिकतामा बाबुको नाम लेखिए पनि आमाको नाम भने उल्लेख गरिएको छैन । नागरिकता प्रकरणमा विभिन्न दलहरूको विरोधपछि गृहप्रशासनमाथि दबाब बढ्दै गएको छ । बुधबार नगरप्रमुखले किर्ते गरेको प्रकरणको छानबिनको माग गर्दै वीरगञ्जमा जुलुस प्रदर्शन भएको थियो । जुलुसपछि महानगरका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जना स्थानीय नेताहरूले संयुक्त रूपमा जाहेरी दर्ता गराएका छन् ।

नक्कली बाबु बनेर नागरिकता दिएको प्रकरणमा उनीविरुद्ध वीरगञ्जका सचेत नागरिकको तर्फबाट विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दिएका हुन् ।

वीरगञ्जका सचेत नागरिक अगुवाहरूको समूहले बुधबार मेयरविरुद्ध वीरगञ्ज महानगरका विभिन्न स्थानहरूमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए । जाहेरीमा नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगञ्ज महागरपालिकाका–३ का ५३ वर्षीय मेयर राजेशमान सिंह र नागरिकता जारी गराएकी वर्ष २१ की युवतीलाई विपक्षी बनाइएको छ । ‘नक्कली’ बाबु बनेर झुटो विवरण पेस गर्दै एक किशोरीलाई वंशजको नागरिकता दिलाएको विषयमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध सामूहिक उजुरी परेको छ । सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा १६ जनाले उजुरी दिएका छन् ।

मेयर श्रेष्ठले निर्वाचन आयोगमा बुझाएको व्यक्तिगत विवरणमा एक जना मात्र छोरा रहेको उल्लेख गरेका छन् । तर उनले जिल्ला प्रशासन कार्यालय पर्साबाट एक जना किशोरीको पिता भएर नागरिकता बनाएका छन् ।

श्रेष्ठकी पत्नी अन्नपूर्ण मानन्धरले एक जना मात्र छोरा रहेको पुष्टि गरेकी छन् । ‘हाम्रो एक जना मात्र छोरा छन्’, उनले भनिन्, ‘एक जनाबाहेक अन्य कुनै सन्तान छैनन् ।’ मेयर श्रेष्ठले निर्वाचन आयोग लगायतका निकायमा बुझाएको विवरणमा एक मात्र छोराको नाम उल्लेख गरेको बताइएको छ ।

मानन्धरले रुबीना श्रेष्ठलाई छोरी मान्न अस्वीकार गरेपछि वीरगञ्जमा अहिले श्रेष्ठको आमाको खोजी व्यापक हुन थालेको छ । रुबीनाको आमा भएको दाबी हालसम्म कसैले गरेका छैनन् ।

यस सम्बन्धमा नगरप्रमुख राजेशमान सिंहलाई, उनको मोबाइल नम्बर ९८०२९४५१०० मा पटकपटक फोन सम्पर्क गर्दा फोन उठेन । किर्ते जालसाजी गरी नागरिकता लिएकी युवती श्रेष्ठले पासपोर्टसमेत बनाएर विदेश पुगेकी छन् । मेयर सिंहले वडादेखि जिल्ला प्रशासन कार्यालय पर्सासम्मका कर्मचारीलाई प्रभावमा पारेर नागरिकता दिलाएको आरोप लागेको छ ।

गएको स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरको मेयरका उम्मेद्वार बनेको बेला पेस गरेका पारिवारिक विवरणमा समेत रुबीनालाई छोरी बनाएको कुरा लुकाएको नेपाली कांग्रेस क्षेत्रीय सभापति साहबुद्दिनको आरोप छ । ‘घटनाको वास्तविकता लुकाउन धेरै प्रमाणहरू गायब गरियो’, उनले भने, ‘तर पाप धुरीबाट कराउँछ । सिंहले नागरिकता किर्तेको घटना लुकाउन वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न तहसम्म मिलाएको आरोपहरू लगेका छन् ।’

वीरगञ्ज महानगरपालिकाको पञ्जिकृत महाशाखामा रहेको जन्मदर्ताको रेकर्डलगायत कतिपय लिखत प्रमाणहरू गायब गराएको सहाबुद्दिनले आरोप लगाएका छन् । नेपालको कानुनले नक्कली बाबु बनेर अपरिचित युवतीलाई नागरिकता दिलाइनु फौजदारी कसुर हो ।

पर्सा जिल्ला प्रशासन कार्यालयको नागरिकताको ढड्डा अनुसार २०७५ साउन १३ गतेको क्रम संख्या ३ मा रुबीना श्रेष्ठले नागरिकता नम्बर ३४–०१–७५–८८८४७ को प्रमाण पत्र प्राप्त गरेकी छन् । नागरिकतामा उनको जन्म मिति २०५९ असार ३० गते उल्लेख गरिएको छ ।

नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंहको नागरिकता नम्बर ३४१६०३८८८१७ उल्लेख गरिएको छ । तर आमाको महलमा कसैको नाम उल्लेख गरिएको छैन् । राजेशमान सिंहले छोरी बनाएकी रुबीना श्रेष्ठलाई प्रदान गरिएको नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले हस्ताक्षर गरेका छन् ।
नागरिकता जारी भएको १० दिनपछि राहदानी विभागले ११०८८८१७ नम्बरको राहदानी जारी गरेको छ । पहिलोपटक नागरिकता जारी भएको १९ महिनापछि रुबीनाले प्रतिलिपि निकालेकी छन् ।

दुई साताअघि मात्रै पर्सामा प्रमुख जिल्ला अधिकारीको रूपमा सहसचिव दिनेश सागर भुषालले पनि मेयर सिंह नक्कली बाबु बनेर एक किशोरीलाई नागरिकता दिएको विषय छानबिन गरी आवश्यक कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘एक किशोरीको बाबु बनेर नागरिकता दिएको जानकारीमा आएको छ, तर सरुवा भएको केही दिन मात्रै भएकाले थप अध्ययन गर्न पाएको छैन’, उनले भने, ‘प्राप्त जाहेरीबारे विभिन्न सूचनाको आधारमा अनुसन्धान अघि बढाइनेछ ।’

उच्च अदालत जनकपुरधामका अधिवक्ता विपिन झाले मेयर सिंहमाथि नागरिकतामा झुठा विवरण पेस गरेको र निर्वाचन आयोगमा समेत झुठा विवरण दिएकाले दुबै तर्फको कानुन आकर्षित हुने बताएका छन् ।

चर्चित थिए मेयर सिंह

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सिंह तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट मेयरमा प्रतिस्पर्धा गर्दा तेस्रो भएका सिंह लोसपा त्याग्दै जसपा प्रवेश गरेपछि वीरगञ्जको मेयरमा भारी अन्तरले विजयी भएका थिए ।

चर्चामा रहेका र जनताको वाहवाही पाएका मेयर सिंह एक वर्षमा वीरगञ्ज महानगरले सेवा प्रवाहमा निकै सुधार गरेको छ । सेवाग्राहीको बढी भिड हुने कोठामा एसी जडान, खानेपानी र बस्ने बेन्च अनि सहजताका लागि डिजिटल टोकन प्रणालीसमेत लागू भएको छ ।

समयमा फोहोर नउठ्ने, सडक गल्ली तथा घरबाट फोहोरसंकलन नहुने समस्या करिब करिब समाधान भएको वीरगञ्जवासी बताउँछन् । फोहोर व्यवस्थापन अझ प्रभावकारी बनाउन सफा नेपाल एप प्रयोगमा ल्याई सरसफाइको गुनासो मोबाइल, ल्यापटपबाट सोझै दिन सकिने व्यवस्थासमेत गरेको छ । हरियाली सहर बनाउनका लागि बाइपास, घण्टा घर, मितेरी पुल प्रवेशद्वार, ड्राइपोर्ट लगायतका स्थानमा करिब पाँच हजार बोटबिरुवा रोपिएको छ भने घण्टाघरदेखि पावरहाउससम्मका सडक बीचको डिभाइडरमा तीन तह हुने गरी रुख तथा फूल रोप्ने कार्य गरिरहेको छ ।

जनशक्ति थप गरी फुटपाथ अवरोध गर्ने छाडा चौपाया नियन्त्रण लिने काम भएको छ । महानगरले ट्राफिक व्यवस्थापनमा उल्लेख्य सुधार गरेको छ । सिंहको एक वर्षे कार्यकालमा भएका कामहरूले उनी सञ्चारमाध्यममा बारम्बार छाइरहन्छन् ।

प्रतिक्रिया