सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ

माघे संक्रान्ती नजिकियो

बागमती । सर्लाहीका किसानलाई यतिबेला तरुल खन्न भ्याइनभ्याइ छ । माघे संक्रान्ति नजिकिएसँगै जिल्लाको उत्तर–पश्चिम भेगमा पर्ने बागमती र बरहथवा नगरपालिकाका किसानहरूलाई तरुल खन्न भ्याइनभ्याइ छ ।

यहाँका किसानले पुसको पहिलो साताबाटै तरुल खन्न सुरु गर्छन् । बागमती, बरहथवा लगायतका स्थानका किसानले ठुलो मात्रामा तरुल खेती गर्दै आएका छन् । राम्रो उत्पादन तथा मूल्यसमेत राम्रो पाइने भएपछि आफूहरू तरुल खेतीमा आकर्षिक भएको किसानहरू बताउँछन् ।

तरुल लगाउने किसानहरूले अन्तरबालीको रूपमा मकै खेतीसमेत गर्छन् । अन्तरबाली मकैबाटसमेत राम्रो फाइदा हुने किसानहरूको भनाइ छ । किसानहरूले तरुलबाट मात्र प्रतिकठ्ठा १२ हजारदेखि ३५ हजारसम्म आम्दानी गर्ने गरेको बागमती नगरपालिका–५, का किसान कर्णबहादुर लामाले बताए । पाँच कठ्ठा तरुल लगाएका उनले प्रतिकठ्ठा २० हजारको दरले बिक्री गरेको दावी गरे । तरुल राम्रो उत्पादन हुँदा मूल्य पनि धेरै पाइने र सजिलै ठेक्का लाग्ने गरेको उनको अनुभव छ । तरुल खन्ने सिजनमा व्यापारीहरू गाडी लिएर खेतखेतमै पुग्ने गर्छन् । यहाँको तरुल काठमाडौं, पोखरा, विराटनगर, हेटौँडा लगायतका मुख्य बजारसम्म पुग्ने गरेको छ ।

तरुल हल्का र खुकुलो माटोमा राम्रो उत्पादन हुने गर्दछ । समय–समयमा मलखाद र पानी पाए प्रतिकठ्ठा एक क्विन्टलसम्म तरुल फल्ने बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल शाहीले जानकारी दिए । बगर खाल्को जमिनमा तरुल खेती गरिए अत्यधिक राम्रो उत्पादन हुने किसानको भनाइ छ ।

व्यापारीका अनुसार रातो तरुल खान मिठो हुन्छ । तर, उत्पादन कम हुने भएकोले रातो तरुल केही महँगोमा बिक्री हुन्छ । भने, सेतो तरुलको माग केही कमी भएकोले मूल्यसमेत कम हुने गर्दछ ।

किसानले फागुन, चैतदेखि जेठ, असारसम्म तरुल रोप्ने गर्छन् । तरुलको लागि थांग्रा अनिवार्य चाहिने भएकोले तरुलसँगै मकै रोप्ने चलन छ । तर, मकै उम्रिनका लागि चिसो चाहिने भएकाले वर्षात् भएपछि मात्र तरुल तथा मकै रोप्ने गरिन्छ ।

कतिपय किसानले भने पोहोरको तुलनामा यसवर्ष तरुलको उचित मूल्य नपाएको गुनासो गरेका छन् । यस वर्ष गएको वर्षको तुलनामा प्रतिकिलो १० रुपैयाँ कम मूल्यमा तरुल बेच्नुपरेको बागमती नगरपालिका–५ राजघाटका शंकर मैनालीले बताए । गत वर्ष ५० देखि ५५ रुपैयाँसम्म प्रतिकिलोमा बिक्री गरेको तरुल यसवर्ष ३५ देखि ४० रुपैयाँमा बिक्री भएको उनले सुनाए ।

लामो समयदेखि तरुल खेती गर्दै आएका बागमती–१० का मोहन लुम्रे मगरले यस वर्ष आठ कठ्ठामा तरुल खेती गरेका छन् । उनले व्यापारीलाई प्रतिकठ्ठा १० हजारमा खेतबाटै तरुल बेचे । गएको वर्ष उनले १ लाख २५ हजारमा तरुल बेचेका थिए । यसवर्ष भने लागत अनुसारको खासै आम्दानी नभएको उनले सुनाए । माघे संक्रान्तिमा विषेश फलहारको रूपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रूपमा समेत प्रयोग हुने गरेको किसान बताउँछन् ।

तरुल खेती गर्दा जमिन हेरेर बिउवीजन, खनजोत, मलखाद र गोडमेलसमेत गरेर प्रतिकठ्ठा सातदेखि १० हजार लगानी हुने गरेको किसानको भनाइ छ । यस सिजनमा प्रतिकट्टा २० देखि २५ हजारसम्म आम्दानी हुने अपेक्षा गरेका किसानको तरुलले सोचे अनुसारको मूल्य भने पाएन । राम्रो उत्पादन हुँदा तरुल प्रतिकठ्ठा आठदेखि १० क्विन्टलसम्म उत्पादन हुने गरेको छ । यस क्षेत्रमा झुसे (पाताले) र रातो तरुलको खेती हुँदै आएको किसानले बताए । यस वर्ष कम वर्षात भएका कारण तरुल उत्पादनमा कमी आएको किसानहरूको भनाइ छ ।

किसानका अनुसार यसवर्ष सरदर प्रतिकठ्ठा चारदेखि पाँच क्विन्टल उत्पादन भएको छ । जिल्लामा मात्र यसवर्ष २ सय ८५ हेक्टर क्षेत्रफलमा तरुल खेती भएको जिल्ला कृषि ज्ञानकेन्द्र मलंगवाका प्रमुख देवानन्द रायले जानकारी दिए । सर्लाहीमा प्रत्येक वर्ष पाँच सय टनको हाराहारीमा तरुल उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया