मधेसमा दुई पदका लागि पाँच जनाको उम्मेद्वारी दर्ता

धनुषा । मधेस प्रदेशमा रिक्त दुई राष्ट्रिय सभा सदस्यका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेस, जसपाबाट एक–एक जना, प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट दुई जना र सत्ता गठबन्धनमै रहेको जनमतबाट छुट्टै एक जनाको उम्मेद्वारी दर्ता भएको छ ।

राष्ट्रिय सभा सदस्यका रिक्त अन्य र महिला समूहतर्फ दुई पदका लागि निर्वाचन हुन लागेको छ । सत्ता गठबन्धन कांग्रेसबाट अन्यतर्फ आनन्दप्रसाद ढुंगाना र महिलातर्फ जसपाकी पूजा चौधरीले मनोनयन दर्ता गराएकी छन् । गठबन्धनबाट मनोनयन दर्ता गराउने ढुंगाना धनुषाका हुन् भने चौधरी रौतहटका ।
एमालेबाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनीले उम्मेद्वारी दर्ता गराएकी छन् । मधेस दुई पदका लागि एमालेले दुबै जना महिला उम्मेद्वार खडा गरेको छ ।

एमालेले अन्यतर्फ अर्जुन सिंह राजपुतलाई उम्मेद्वार बनाउने निर्णय गरे पनि मतदाता नामावलीमा नाम नहुँदा उनको उम्मेद्वारी दर्ता भएन । त्यसपछि उनको ठाउँमा एमालेले विजेता झालाई उम्मेद्वार बनाएको छ । उम्मेद्वारी दर्ता गराएकी झा धनुषाकी हुन् भने थरुनी पर्साकी ।

यस्तै सत्ता गठबन्धन घटक जनमत पार्टीले मधेस प्रदेशमा अन्य समूहमा छुट्टै उम्मेद्वारी दर्ता गराएको छ । जनमतबाट रामशंकर महासेठले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया