जनकपुरधाम । मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री सुरीता कुमारी साहले अधिकार प्राप्त गर्न आफै अग्रसर हुनुपर्ने बताएकी छन् । जनता समाजवादी पार्टी (जसपा) निकट भ्रातृ संगठन समाजवादी दलित मुक्ति संगठनको मधेस प्रदेश समिति पुनर्गठन भेलालाई सम्बोधन गर्दै मन्त्री साहले भनिन्, ‘अधिकार पाउनका लागि यथास्थितिमा बस्नु हुँदैन । गतिशिल हुनु पर्दछ ।’
मन्त्री साहले दलितहरुको हकहित र विकासको लागि मधेस प्रदेश सरकारले गठन गरेको ‘दलित विकास समिति’ले गर्नुपर्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता जनाइन् । दलित सशक्तिकरण ऐन मधेस प्रदेश सभाबाट बहुमतले पास भएको स्मरण गराउँदै कार्यान्वयनमा ढिलाई भइरहेको औंल्याइन् ।
सो भेलामा राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चन्देश्वर सदाले नेता बन्नलाई होइन, आत्मसम्मान र स्वाभिमानका साथ बाँच्नलाई संगठित हुनुपर्ने बताए ।
परापूर्वकालमा हाम्रा पुर्खाहरु स्वाभिमान र आत्मसम्मानका लागि लडाँइ लडेको उनले जानकारी गराए । तर, शासकहरुले उनीहरुको हत्या गराएको स्मरण गराउँदै लोभमा फस्न नहुने आउने सन्ततिहरुले दुःख नपाओस् भनेर हामीले संगठन बलियो बनाएर अघि बढ्नु पर्ने उनले बताए ।
त्यस्तै, जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य चन्देश्वर पासमानले संगठनमा बल हुन्छ र बलियो हुन संगठित हुनु पर्छ भने । उनले भने, ‘संगठन निर्माण र विस्तार प्रकृयामा निरन्तर कडा मेहनत गर्नुपर्छ । संगठनलाई केटाकेटीको खेल बुझ्नु हुँदैन ।’
भेलालाई सम्बोधन गर्दै जसपा मधेस प्रदेश उपाध्यक्ष तथा मधेस प्रदेश सरकारका पूर्व मन्त्री ज्ञानेन्द्रकुमार यादवले दलित समुदायको विकासका लागि आफ्नै कार्यकालमा दलित सशक्तिकरण ऐन बहुमतले पास गराएको बताए ।
‘ऐन बन्यो, तर कार्यविधि फितलो हुँदा दलित समुदाय अधिकारबाट बञ्चित हुनु परेको छ,’ उनले भने, ‘यस्तै अवस्था रहने हो भने समाजवादी दलित मुक्ति संगठन अघि बढ्नुपर्छ । समुन्नत र समतामूलक समाज निर्माण गर्न दलित समुदायको सहभागिता अनिवार्य छ ।’
संगठनका मधेस प्रदेश अध्यक्ष रामो महराको अध्यक्षतामा सम्पन्न भेलामा संगठनका केन्द्रीय संयोजक चमेली देवी दास, सहसंयोजक प्रदीप घतानी, प्रदेशका आठवटै जिल्लाका जिल्ला अध्यक्ष एवं प्रतिनिधि, पार्टीका मधेस प्रदेश सचिव जीतेन्द्र यादवलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया