मौलापुरका ‘राजा’

जनतालाई फ्रि बिजुली र पानी, छोरीको विहेमा ३० हजार आर्थिक सहयोग, घरघरमा ग्यास चुल्हो र सिलिन्डर, छात्रालाई ल्यापटाप र छोरीलाई साइकल वितरणजस्ता लोकप्रिय कार्यकमले मौलापुर नगरपालिकाकी मेयर रिना कुमार साहको मात्रै होइन यस क्षेत्रका सांसद तथा मेयर साहका पति प्रभु साहलाई थप लोकप्रिय बनाएको छ ।

गणतन्त्रमा राजाको कुरा गर्नु त्यति सान्दर्भिक नहोला तर ‘राजा’ शब्दले समाजमा जुन छाप छोडेको छ त्यो सजिलै मेट्न पनि कहाँ सकिन्छ र ? राजा भनेको अब्बलको रूपमा लिने गरेको छ समाजले । शीर्षकको मौलापुरका ‘राजा’ले पनि यस्तै अर्थ दिन्छ । वास्तविक रूपमा समाजले राजा कसलाई भन्छ त ? जनताको आधारभूत आवश्यकताका कुराहरू, सुख सुविधा पूरा गर्नमा जो अब्बल ठहर्छ त्यसलाइ नै समाजले ‘राजा’ मान्छ । हो रौतहट जिल्लाको नगरपालिका मौलापुरले पनि त्यस्तै आमजनताको सुख सुविधासँग जोडिएको धेरै सुुविधाहरू प्रदान गर्दै आएको छ । अनि चर्चामा छन्, त्यस क्षेत्रका सांसद प्रभु साह र उनकी श्रीमती मेयर रिनाकुमारी साह ।

मधेस प्रदेशको रौतहट जिल्लाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ मौलापुर नगरपालिका । यस क्षेत्रबाट चौथोपटक सांसद बनेका प्रभुु साहको गृह नगरपालिका पनि हो मौलापुर । यो नगरपालिकाको मेयर हुन् उनै प्रभु साहको श्रीमती रिनाकुमारी साह हुन् । उनी पनि लगातार दोस्रोपटक नगरप्रमुखमा निर्वाचित भएकी हुन् । पहिलो महिला मेयरको रूपमा निर्वाचित उनी उदाहरणीय काम गरेर चर्चामा छिन् । रौतहटमा यो जोडीको छुट्टै चर्चा हुने गर्दछ । मौलापुरले केही यस्ता उदाहरणीय काम गरेको छ जसका कारण यो जोडी निरन्तर चर्चामा छ ।

मौलापुरमा फ्रि बिजुली र पानी

मौलापुर नगरपालिकाले ‘फ्रि बिजुली र पानी’ कार्यक्रमअन्तर्गत घरेलु तथा कृषि सिँचाइ मिटरको सम्पूर्ण महसुल नेपाल विद्युत् प्राधिकरणलाई बुुझाउँदै आएको छ । यस्तो कार्यले आमनगरवासीलाइ ठूलो आर्थिक राहत प्रदान गरेको छ । मौलापुर नगरपालिकाद्वारा नगरवासीहरूको विद्युत् महसुल भुक्तानी केही दिनअघि मात्र गरिएको छ ।

२०७८ साउन महिनादेखि नगर क्षेत्र भित्रका घरायसी प्रयोजनका ग्राहकहरूको सम्पूर्ण विद्युत् महसुल मौलापुर नगरपालिकाले तिर्ने निर्णय गरेको थियो । सो निर्णय बमोजिम २०८० वैशाखदेखि २०८० कात्तिक मसान्तसम्मको सम्पूर्ण विद्युत् महसुल वापतको २ करोड ६६ लाख ८४ हजार ९ सय १० रकम बराबरको चेक नगरप्रमुख रिनाकुमारी साहले नेपाल विद्युत् प्राधिकरण, मौलापुर वितरण केन्द्रका प्रमुख रामदिनेश यादवलाई हस्तान्तरण गरेको मौलापुर नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत रामबाबुु साहले जानकारी दिए ।

मेयर रिनाकुमारी साह

छोरीको बिहेमा आर्थिक सहयोग

मौलापुरमा ‘असहायसँग मेयर कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रमअन्तर्गत छोरीको बिहेमा नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । मौलापुर नगरपालिकाको असहायसँग मेयर कार्यक्रमअन्तर्गत जनही ३० हजार दिने गरिएको छ । यो वर्ष पनि छोरीको बिहेका लागि आर्थिक सहायता अनुदान रकम प्राप्त गर्न निवेदन पेस गरेकाहरूले चेक पाएका छन् । यो वर्ष जनही ३० हजारको दरले ४९ जना लाभग्राहीहरूलाई १४ लाख ७० हजार रकम बराबरको चेक प्रत्येक लाभग्राहीहरूलाई हातहातमै उपलब्ध गराइएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए ।

नयाँ निवेदनहरूको हकमा नगरप्रमुख वा निजको प्रतिनिधिबाट बिहेको दिन निवेदकको घरमै चेक हस्तान्तरण कार्य जारिरहेको अधिकृत साहले बताए । नगरप्रमुख साहको पहलमा झण्डै ६ वर्षदेखि सुरू भएको यो कार्यक्रमले आमगरिब परिवारलाई ठूलो राहत दिएको लाभग्राहीहरूको अनुभव छ ।

घरघरमा ग्यास चुल्हो र सिलिन्डर

मौलापुर नगरपालिकालाई धुवाँ चुल्होमुक्त बनाउने अभियानअन्तर्गत प्रमुख साहले नगरभरि करिब ९० प्रतिशत घरमा ग्यास सिलिन्डर र चुल्हो पुु¥याएकी छन् । यसका लागि नगरपालिकाले बर्सेनि लाखौँ बजेट छुुट्टयाउने गरेको छ । मेयर साहले गरेको चुनावी प्रतिबद्धता अनुुरूप नै ग्यास सिलिन्डर र चुल्हो वितरण गर्दै आएकी हुन् । मौलापुर नगरपालिकाभित्र मात्र होइन् सांसद प्रभु साहले आफनो निर्वाचन क्षेत्रभरिको अधिकांश गाउँमा निःशुल्क ग्यास सिलिन्डर र चुल्हो वितरण गर्दै आएका छन् ।

स्मार्ट र आधुनिक मौलापुर

मौलापुर नगरपालिका स्मार्ट र आधुनिक बन्दै गएको छ । सो नगरपालिका अन्तर्गतको सरकारी कार्यालयहरूमा सफ्टवेयर सहितको विद्युतीय हाजिरी (ई–हाजिरी) मेसिन जडान गरिएको छ ।

मेयर साहले मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहलाई विद्युतीय हाजिरी हस्तान्तरण गरेर यसको सुरुआत गरेकी थिइन् । सो नगरपालिकाको सम्पूर्ण निकायलाई सुशासित गुणस्तरीय सेवा प्रदान गर्न नगरप्रमुख साहले नगरपालिका मातहतमा रहेका सम्पूर्ण विद्यालय, स्वास्थचौकी, वडा कार्यालय, बहुप्राविधिक शिक्षालय, कृषि तथा पशु कार्यालय लगायतका कार्यालयहरूमा ई–हाजिरी मेसिन जडान गरिएको छ । मौलापुर नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा पुस १ गतेदेखि पूर्णरूपमा विद्युतीय हाजिरी (ई–हाजिरी) लागू भएको नगरप्रमुख साहले बताइन् ।

नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सरकारी कार्यालयमा सेवा प्रभावकारितालाई अभिवृद्धि गरी जनतालाई सहज र सरल रूपमा सेवासुविधा प्राप्त गर्न ई–हाजिरीलाई लागू गरेको नगरपालिकाले जनाएको छ । ई—हाजिरी पद्धतिले कर्मचारीहरूको नियमिततामा सुधार हुनेछ । नगरलाई सूचनाप्रविधिमैत्री बनाउने प्रतिबद्धता गरे अनुरूप विद्युतीय हाजिरीलाई सरकारी कार्यालयमा लागू गरिएको पनि मेयर साहले बताइन् ।

मौलापुर पिकनिक पार्क

मौलापुर नगरपालिकास्थित मौलापुरमा रहेको मौलापुर पिकनिक पार्क पछ्रिल्लो समय पिकनिकको लागि प्रसिद्ध ठाउँको रूपमा परिचित हुँदै गएको छ । चाडपर्वहरूमा यहाँ चहलपहल बढी देखिन्छ । पहिला पहिला गाउँ छाडेर बाहिर गई पिकनिक मनाउने गरिन्थ्यो तर ग्रामीण भेगमा नै सुविधा सम्पन्न पिकनिक पार्क सञ्चालनमा आएदेखि अहिले टाढाटाढाबाट मानिसहरू मौलापुर पिकनिक पार्कमा आएर रमाउने गरेका छन् ।

पिकनिकका लागि यहाँ छिमेकी जिल्ला बारा, पर्सासहित अन्य जिल्लाबाट आउने गरेका छन् । दैनिकजसो त्यहाँ सयौँ पर्यटकले भरिभराउ देखिन्छन् । रौतहटलगायत मधेस प्रदेशको अन्य जिल्लाका मानिसहरूका लागि मौलापुर पिकनिक पार्क आकर्षकको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । सांसद एवं पूर्वमन्त्री प्रभुु साहको गृहनगर मौलापुरमा उनकै पहलमा २०७७ सालमा पार्क सञ्चालनमा आएको थियो । तत्पश्चात् यो ठाउँ बिस्तारै सबैको रोजाइमा पर्न थालेको हो । रौतहटको प्रसिद्ध पार्कको रूपमा रहेको सो ठाउँमा चाडपर्व, विवाह, व्रतबन्ध, पिकनिक र घुमफिर गर्ने मानिसहरूको लागि राम्रो थलो बनेको छ । पार्क सञ्चालनमा आएपछि कैयौँले रोजगारी पनि पाएका छन् ।

मौलापुर पार्क होटल

नगरपालिकाले ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न मौलापुर पार्क होटल निर्माण गरी सञ्चालनमा ल्याएको छ । सुविधासम्पन्न उक्त होटल सञ्चालनमा आएपछि बाहिरबाट आएका मानिसहरू गाउँमै आएर बास बस्ने गरेका छन् ।

मौलापुर बसपार्क

स्मार्ट सिटीको रूपमा विकास भइरहेको मौलापुरमा सुविधासम्पन्न आधुनिक बसपार्कको निर्माण भएको छ । यो बसपार्कको उद्घाटन सांसद एवं पूर्वमन्त्री प्रभु साहले गरेका थिए । यो अत्याधुनिक बसपार्कले स्थानीय क्षेत्र र लामो दुरीमा चल्ने सवारी साधनको पार्किङ तथा यात्रुका लागि सहजता प्रदान गरेको छ । साढे चार बिघा क्षेत्रफलमा अत्याधुनिक डिजाइनमा बनाइएको बसपार्क मधेस प्रदेशकै सबैभन्दा व्यवस्थित एवं एक नमुना बसपार्कको रूपमा रहेको छ । नवनिर्मित बसपार्क मौलापुरको मात्र नभई सिंगो रौतहट जिल्लाको विकासमा एउटा कोसेढुंगाको रूपमा सावित भएको छ । बसपार्क सहरी विकास मन्त्रालयको सहयोगमा निर्माण भएको हो ।

छात्रालाई ल्यापटप

छोरी शिक्षाअन्तर्गत महिलालाई शिक्षामा आकर्षित गर्न र शिक्षामा पहुँच बढाउने उद्देश्यले ल्यापटप वितरण गर्ने गरिएको छ । निरन्तर १२ कक्षा पढेका नगरभरिका छोरीलाई ल्यापटप वितरण गरेको थियो । सय जना प्लस २ मा अध्ययनरत छात्राहरूलाई निःशुल्क ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

छोरीलाई साइकल वितरण

छोरीहरूलाई साइकल दिने कार्यक्रमको सुुरुआत मौलापुर नगरपालिकाले गरेको थियो । जुन अहिले मधेस प्रदेश सरकारले पनि बेटी बचाउ, बेटी पढाउ अभियानअन्तर्गत अगाडि बढाइरहेको छ । साइकल वितरणको काम सुरु भएपछि छोरीहरूलाई विद्यालयमा पढाउनुुपर्छ भन्ने सकारात्मक परिवर्तन भएको देखिन्छ । तत्पश्चात सामुदायिक विद्यालयहरूमा अहिले छात्राहरूको संख्या अत्यधिक छ । नगरको सामुदायिक विद्यालयहरूमा कक्षा ७ देखि माथिको अध्ययनरत्त सम्पूर्ण छात्राहरूलाई साइकल प्रदान गर्ने गरिएको छ ।

एकीकृत दलित बस्ती

मौलापुर नगरपालिकाले एकीकृत दलित बस्ती निर्माण गरेको छ । सो नगरपालिकाको वडा–२ मर्यादपुर र वडा–५ मौलापुरमा दलित बस्ती निर्माण गरेको हो । नगरपालिकाले १२ बिघा १८ कठ्ठा १० धुर जमिन खरिद गरी २५ घरधुरीका लागि मर्यादपुर दलित बस्ती निर्माण गरेको हो । त्यस्तै मौलापुरमा १६ घरधुरीका लागि दलित बस्ती निर्माण गरिएको छ ।

महिलालाई निःशुल्क सेनेटरी प्याडको सुरुआत

मौलापुर नगरपालिकाले महिलाहरूलाई निःशुल्क सेनेटरी प्याड प्रदान गर्ने कार्यको सुरुआत गरेको थियो । सामुदायिक विद्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, महिला स्वास्थ्य स्वयंसेविका र वडा सदस्यहरूमार्फत नगरभरिका महिलाहरूलाई मासिक ६ प्याकेटका दरले सेनेटरी प्याड वितरण गर्दै आएको छ । जुन अहिले नेपाल सरकारले पनि अनुशरण गरेको छ ।

आफ्नै पाठयक्रम

मौलापुर नगरपालिकाले शिक्षा क्षेत्रमा व्यापक परिवर्तन ल्याएको छ । नगरभरि २१ वटा विद्यालय भवन तथा १ सय ५ वटा कक्षा कोठा निर्माण भएको कार्यकारी अधिकृत साहले बताए । मौलापुर नगरपालिकाले आफनो स्थानीय पाठ्यक्रम पनि निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्म पाठ्यक्रम तयार र कक्षा १, २ र ३ का लागि पाठ्यपुस्तक तयार भई वितरणसमेत भइसकेको छ ।

मौलापुर बुहप्राविधिक शिक्षालय

मौलापुरमा बहुप्राविधिक शिक्षालय पनि छ । यहाँ सिभिल र जियो मेट्रिक इन्जिनियर तीन वर्षे डिप्लोमा संकायमा पढाइ हुने गरेको छ । जुन स्थानीय तहहरू मध्ये सिटिइभिटीबाट रौतहटमा पहिलोचोटी प्राविधिक शिक्षाका लागि सम्झौता गरेको हो । सहरी विकास मन्त्रालयको सहयोगमा २५ करोडको लागतमा बहुउद्देशीय भवन निर्माण पश्चात् उदघाटनसमेत भइसकेको छ ।

ल्यान्ड पुलिङ्ख

मौलापुर स्मार्ट सहर बनाउने योजनाअन्तर्गत ल्यान्ड पोलिङ्ख गरिरहेको छ । झण्डै सय बिघामा सो नगरपालिकाले ल्यान्ड पुलिङ्ख गरिरहेको छ । यसले पनि आमजनतालाई प्रत्यक्ष फाइदा पुुगेको छ । ल्यान्ड पोलिङ्खको काम सम्पन्न भई पूर्वाधार निर्माणको काम जारी रहेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए ।

नगरपालिकाको आफनै भवन

मधेसमा धेरैजसो स्थानीय तहको आफ्नो भवन छैन । तर नगरपालिकाले आफनो सुविधा सम्पन्न भवन निर्माण गरिसकेको छ । जुन अरू पालिकाको लागि उदाहरणीय छ । ६ करोडको लागतमा ६ कठ्ठा क्षेत्रफलमा बनेको चार तले भवन अहिले सञ्चालनमा छ ।

पुरातात्विक महादेव मन्दिर

मौलापुर नगरपालिका–५ स्थित पुरातात्विक महत्वको पतौरा मन्दिर रहेको छ । सो मन्दिर प्रांगणमा २०७६ फागुनमा आयोजना गरिएको महायज्ञमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष पूजा अर्चना गरेकी थिइन् । धार्मिक पर्यटनको हिसाबले यो मन्दिर प्रसिद्ध छ । देशैभरिको प्रसिद्ध पर्यटकीय सय गन्तव्यस्थल मध्ये प्रदेशको पतौरा मन्दिरलाई पनि छनौट गरिएको छ । यहाँ हरेक वर्ष मधानी महायज्ञको आयोजन हुँदै आएको छ । जसमा प्रसिद्ध हिन्दी, नेपाली र भोजपुरी कलाकार सहभागी हुुँदै आएका छन् । २०७६ सालदेखि लगातार आयोजन हुँदै आएको यो मधानी महायज्ञ यस वर्ष पनि निरन्तरता दिइँदै छ ।

मौलापुर एफएम

मौलापुर नगरपालिकाको पहलकदमीमा जनतालाई सत्य तथ्य सूचना, शिक्षा तथा मनोरञ्जनका स्थानीय एफएम रेडियो सञ्चालनमा ल्याएको छ । नगरपालिकाले सञ्चालनमा ल्याएको मौलापुर एफएम निरन्तर सञ्चालनमा आइरहेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया